भलिबलमा पुरानो साख फर्काउने तयारीमा नेपाल

डिफेन्डिङ च्याम्पियन नेपाल यस वर्षको एभिसी सेन्ट्रल जोनको तयारीमा जुटेको छ । डिफेन्डिङ च्याम्पियन नेपालले यस वर्ष भने दुई नयाँ प्रतिस्पर्धाको सामना गर्नु पर्नेछ । नेपाल भने यस खेलमा आफ्नो पुरानो सख फर्काउने तयारीमा रहेको छ ।

यसअघि नेपालले अफगानिस्तान, बंगलादेश, किर्किस्तान, माल्दिभ्ससँग खेलेको थियो । नेपाल एक सेट पनि नहारी च्याम्पियन बनेको थियो । यसपटक भने नेपालले यसअघिका टोलीसहित श्रीलंका र उज्वेकिस्तानको चुनौतीको सामना गर्नुपर्नेछ । श्रीलंकालाई दक्षिण एसियाको शक्तिशाली राष्ट्रको रूपमा लिइन्छ ।

नेपालको राष्ट्रिय खेल भलिबलमा महिला टोलीको चर्चा निकै नै बढी छ । खेलकुदमा राम्रो चर्चा कमाएको र प्रतिस्पर्धात्मक हिसाबले पनि पुरुषभन्दा अब्बल देखिएको महिला टोलीले अहिले राष्ट्रिय कभर्ड हलमा प्रशिक्षण गरिरहेको छ । राष्ट्रिय खेल घोषणा हुनुअघि नै महिला टोलीले सागका तीन संस्करण (सन् १९९९, २००६ र २०१६) मा कास्य पदक जितिसकेको थियो । राष्ट्रिय खेल घोषणा भएपछि महिला टोलीको सफलतामा अझै खुड्किला थपिँदै गए ।

 दुई वर्षअघि एक महिनाबीचमा नेपाली महिला टोलीले ठूलो सफलता पायो । २०७६ कात्तिकमा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनमा च्याम्पियन बनेर फर्कियो ।  लगत्तै मंसिरमा स्वदेशमा भएको १३ औँ सागमा रजत पदक जितेको थियो । साग इतिहासमा नेपालले रजत जितेको त्यो नै पहिलो पटक थियो ।

यो सफलता जोगाउन नेपाललाई यस वर्ष कत्तिको सकस पर्ने हो भन्ने प्रश्नमा प्रशिक्षक जगदीश भट्ट भन्छन्, ‘हामी नेपालका हरेक खेलमा महिला टोलीको चर्चा कम भएको भन्दै गर्दा भलिबल टोलीमा भने पुरुषभन्दा महिला टोलीको चर्चा निकै बढी छ ।'



हुन त, पुरुष टोली कमजोर भने होइन । नेपालमा २०७४ जेठ ८ गते पहिलो पटक भलिबल राष्ट्रिय खेल घोषणा हुनु केहीअघि मात्रै पुरुष भलिबल टोलीले एभिसी सेन्ट्रल जोनमा कास्य पदक जित्दै इतिहास रचेको थियो ।

नेपाली पुरुष भलिबल टोलीका लागि भने त्यो पदक पहिलो अन्तर्राष्ट्रिय पदक हो । दक्षिण एसियाली खेलकुद (साग) मा अहिलेसम्म पदक जित्न नसकेको पुरुष टोलीका लागि त्यो सफलता सर्वाधिक ठूलो सफलता थियो ।



लगातारको सफलतापछि महिला टोलीबाट नेपाली खेलकुद र भलिबल संघले पनि बढी नै अपेक्षा राख्न थालेको छ । त्यही पृष्ठभूमिलाई आधार मान्दै नेपाल भलिबल संघले महिला टोलीलाई एसियन च्याम्पियनसिप खेलाउन प्रक्रिया अघि बढाएको थियो । तर फिलिपिन्समा हुने भनिएको उक्त च्याम्पियनसिप कोरोना भाइरस संक्रमणका कारण स्थगित भयो ।

महिलातर्फ नेपाल साबिक विजेता रहेको सेन्ट्रल जोन च्याम्पियनसिप यसपटक पनि बंगलादेशमा आयोजना हुँदैछ । पुस ६ देखि १४ गतेसम्म महिला र पुरुष च्याम्पियनसिप एकै समय हुँदैछ ।

यद्यपि, महिला टोलीको प्रशिक्षण सुरु भइसक्दा पुरुष टोलीको भने प्रशिक्षण सुरु भएको छैन ।

महिला टोलीको प्रशिक्षण सुरु भइसकेको हुनाले यस टोलीमा भने समस्या नरहेको त्रिपक्षीय भनाइ रहेको छ । खेलाडी, प्रशिक्षक र व्यवस्थापकीय पक्षबाट टोलीलाई निरीक्षण भइरहेको छ ।

महिला टोलीको प्रशिक्षण सुरु भएको एक हप्ता भइसकेको छ । प्रशिक्षण गराइरहेको टोलीका प्रशिक्षक भट्ट भन्छन्, ‘टोलीमा नयाँ जोश छ । फिट्नेसमा पनि खासै समस्या छैन । प्रशिक्षण राम्रो भइरहेको छ ।’

उनले थपे, ‘एसियन कपमा खेलेका र एनभीए कपमा उत्कृष्ट भएका खेलाडीलाई समावेश गरि टोली निमार्ण गरेका छौँ । जसले गर्दा खेलाडी अनुभवी र खेल भइरहेकोले फिट पनि छन् ।’

उनका अनुसार रणनीतिक हिसाबले पनि नेपाल अझ बलियो भइरहेको छ । टोलीसँग अझै ४० दिनको समय रहेको छ । विपक्षीको रणनीति र टोलीलाई हेरेर रणनीति बनाइरहेको बताउँछन् प्रशिक्षक भट्ट । ‘विपक्षी टोलीको रणनीति र टोली हेरेर प्रशिक्षण गरिरहेका छौं’ उनले भने ।

असोजमा भएको एनभीए कपका तीन उत्कृष्ट खेलाडी पुनम चन्द, शान्तिकला तामाङ र कामना विष्ट समावेश गरि नेपालले अहिले नयाँ टोली निर्माण गरेको छ । यही क्रममा कप्तान अरुण शाही भन्छिन्, ‘हामी पुराना खेलाडी त छौँ नै नयाँ आएका खेलाडी पनि एकदमै उत्साहित रहेका छन् । त्यसैले टोली निकै राम्रो बनेको छ ।’

उनी अगाडि भन्छिन्,‘ टोलीमा राम्रो एकता रहेको छ । जसले गर्दा हामीले उपाधि फेरि नेपाल ल्याउने तयारीमा छौं ।’

खेलाडी निकै उत्साहित, भन्छन्, ‘हामी जित्न सक्छौँ’

डिफेन्डिङ च्याम्पियन नेपालले यस वर्ष पुरानो साख जोगाउने टोलीकी कप्तान शाहीले दृढ विश्वास व्यक्त गरिन् । अहिले बन्द प्रशिक्षणमा रहेका खेलाडीहरू शारीरिक रूपमा स्वस्थ्य र मानसिक रूपमा निकै दृढ रहेको उनले बताइन् । हरेक खेलाडी जस्तै नयाँ थपिएका खेलाडीले पनि निकै उत्साहका साथ अभ्यास गरिरहेको उनको भनाइ छ । ‍

‘स्वर्ण हामी नै लिएर आउने छौँ । थपिएका दुई प्रतिस्पर्धीलाई जित्न सक्छौँ जस्तो लागेको छ’ उनले थपिन्, ‘नयाँ आएका खेलाडी निकै उत्साहित छन् । अहिलेको टोली पहिलेको टोलीभन्दा पनि राम्रो हुनेछ । गुरुले पनि राम्रो प्रशिक्षण दिइराख्नु भएको छ ।’

भन्दै गर्दा निकै आत्मविश्वासी देखिन्थिन् उनी । उनीलगायत हरेक खेलाडीमा जितको जोश चढेको पनि कप्तान शाहीको भनाइ छ ।

यो किन यस्तो भयो भन्ने प्रश्नमा भलिबल संघकी उपाध्यक्ष निरोज मास्के भन्छिन्, ‘महिला टोलीले स्वर्ण जित्ने सम्भावना एकदमै बढी रहेको छ । खेलाडीहरू फर्ममा छन् । थपिएका दुई प्रतिस्पर्धीलाई नेपालले जित्न सक्ने क्षमता र विश्वास छ ।’

खेलाडीको मेहनत र प्रशिक्षकको रणनीतिले पक्कै रंग ल्याउने उनको विश्वास छ ।

भलिबल संघले खेलाडीलाई गरेको सहयोग

भलिबल संघले हाल खेलाडीलाई दैनिक पाँच सय रुपैयाँ भत्ताको व्यवस्था गरेको छ । बन्द प्रशिक्षणमा रहेका खेलाडी हाल घरबाट नै आवतजावत गरि रहेको हुनाले दैनिक १०० सय गाडी भाडा र ४०० रुपैयाँ पोषण भत्ताको व्यवस्था गरेको छ ।

हाल भलिबल संघ आफैँसँग आर्थिक अभाव भएका कारण खेलाडीलाई आवश्यक अन्य खर्च तथा व्यवस्था भने गर्न नसकेको बताउँछिन् भलिबल संघकी उपाध्यक्ष निरोज मास्के ।

‘खेलाडी तथा टोलीलाई चाहेर पनि अन्य किसिमको आर्थिक सहयोग गर्न सकेका छैनौँ त्यसका लागि हामीले सम्बन्धित पक्षमा पहल गरि रहेका छौँ’ उनले भनिन् ।

थपिएको प्रतिस्पर्धी र चुनौती

यस वर्ष नेपाली महिला टोलीका दुई नयाँ प्रतिस्पर्धाको साथसाथै चुनौती पनि थपिएको छ ।

कोरोना महामारीका कारण १३ औँ सागपछि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता भाग लिन नपाएको यो टोलीका लागि यो प्रतिस्पर्धा कम चुनौतीपूर्ण भने पक्कै हुने छैन ।

महिला टोलीका लागि सबैभन्दा चुनौतीको विषय भनेको यसअघिको सफलताको रक्षा गर्न सक्ने या नसक्ने भन्ने हुन सक्छ ।

तर केही आश लाग्दो पक्ष भने भलिबलमा भएको यसबीचमा भलिबलका घरेलु गतिविधि चलायमान हुन थालेको छ ।

केही साताअघि मात्रै एनभीए क्लब च्याम्पियनसिप आयोजना भयो । जसमा खेलाडीले केही मात्रामा भए पनि तयारीको मौका पाए । जसको फलस्वरूप अहिले खेलाडीले एभिसी सेन्ट्रल जोनको तयारी राम्रो गरिरहेका छन् ।

  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार २०:३९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया