नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आज दिउँसो तीन बजेसम्ममा राजीनामा दिन अल्टिमेटम दिएको छ । प्रधानन्यायाधीश जबराले दिउँसो तीन बजेसम्म राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ ।
नेपाल बार एशोसिएसनले यो अल्टिमेटम बिहीबार गरेको पत्रकार सम्मेलनमा दिएको हो । सर्वोच्च अदालतको मूल गेटमा बिहीबार धर्ना बस्दा नेपाल बारका अधिकारीहरूमाथि प्रहरीले बल प्रयोग गरेपछि आयोजना गरिएको आकस्मिक पत्रकार सम्मेलनमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले यो अल्टिमेटम दिएका हुन् ।
अर्कोतिर बिहीबार नै प्रधानन्यायाधीश जबराले बोलाएको फुल कोर्ट बैठकले केही ऐतिहासिक फैसला गरेको छ ।
यो बैठकले बैठकले गोला प्रक्रियामा पेसी तोक्ने निर्णय गरेपछि सर्वोच्चका न्यायाधीशहरु ससर्त काममा फर्किने भएका छन् । एकातिर न्यायाधीशहरु काममा फर्किने भएका छन् भने अर्कोतिर नेपाल बारले आजकै दिउँसोका लागि प्रधानन्यायाधीश जबरालाई अल्टिमेटम दिएको छ ।
न्यायालयको इतिहासमा अहिलेसम्म प्रधानन्यायाधीशले दैनिक आफूखुसी मुद्दाको पेसी तोक्दै आएकोमा अब क्रम भंगता हुने भएको छ । पूर्ण बैठकको निर्णयले प्रधानन्यायाधीश र मुख्य न्यायाधीशको एउटा अधिकार खोसिएको छ ।
प्रधानन्यायाधीशले आफूले चाहेको इजलासमा चाहेका मुद्दामात्र तोक्ने गरेको भन्दै न्यायालयमा बारम्बार विवाद आउने गरेको थियो । यसअघि पनि सर्वोच्चले अटोमेसन प्रणालीबाटै पेसी तोक्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन। न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्मानजनक बहिर्गमनको माग भने कायमै रहेको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।