कांग्रेस महाधिवेशन: के देउवा–पौडेल एक हुने सम्भावना पनि छ ?
फाइल तस्वीर ।

चार वर्षअघि देखि नै सभापति शेरबहादुर देउवा नेतृत्वमा कांग्रेसले राम्रो गर्न नसकेको निष्कर्ष निकालेको कांग्रेस नेता रामचन्द्र पौडेल समूह अहिले आफैंमा छिन्नभिन्न हुने प्रक्रियामा रहेको छ । यो समूहका प्रभावशाली तीन नेता शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंह तीन तिर देखिएका छन् । देउवाविरुद्ध १४ औं महाधिवेशनमा सभापतिमा साझा उम्मेदवार तय गर्ने दौडधूपमा पौडेल लागेका छन् । 

तर, शुक्रबार बिहानसम्म उनी यसमा सफल हुन सकेका छैनन् । बिहीबार उनले यही प्रयासका लागि प्रकाशमान सिंहसँग लामो छलफल पनि गरेका थिए । केहीअघि सरकार गठन प्रक्रियामा मन्त्री बनाउने विषयमा ठाकठुक भएपछि यी दुईबीच संवादसमेत हुन सकेको थिएन ।

बिहीबार त्यो संवाद विहिन अवस्था त तोडिएको छ तर पौडेलले आफूले चाहेजस्तो आफ्नो समर्थनमा सिंहलाई ल्याउन सकेका छैनन् । सिंह आफैं सभापतिको उम्मेदवार हुनेमा अडिग छन् ।

आफ्नो समूहबाट नै तीन जनाले सभापतिमा दाबी गरिरहँदा पौडेलले के गर्ने भन्ने निर्क्योल निकाल्न सकेका छैनन् । दैनिकजसो आफूनिकट नेताहरुसँग छलफलमा जुटेका पौडेलले एक जना साझा उम्मेदवार बनाउन सकेको खण्डमा आफूले सभापतिमा उम्मेदवारी नदिने रणनीतिका साथ अगाडि बढेका छन् ।

पौडेल समूहभित्र नै देखिएको यही अन्योल र गुटहरूको सक्रियताको फाइदा उठाउँदै फेरि सभापतिमा दोहोरिन रणनीतिक ‘मुभ’ चालिरहेका देउवाले पौडेललाई एउटा विशेष प्रस्ताव पठाइसकेका छन्– पौडेललाई अबको निर्वाचनपछि राष्ट्रपति वा प्रधानमन्त्री बनाउने ।

‘देउवाजी पार्टी सभापति हुनुभयो, पौडेल वरिष्ठ नेता हुनुभयो,’ देउवानिकट केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले फरकधारसँग भने, ‘समकालीन यी दुई नेताले गुटकै कारण पार्टीमा मिनिमाइज्ड भएको आभास गर्नु पर्दैन भन्ने अवधारणाका साथ पौडेललाई भोलिका लागि राष्ट्रपति वा प्रधानमन्त्री जे उहाँ चाहनुहुन्छ, त्यो दिने प्रस्ताव गएको हो ।’



आङदेम्बेले भनेजस्तै देउवाले १४ औं महाधिवेशनमा आफूलाई पार्टी सभापतिमा दोहोर्याउन पौडेल जस्तै कांग्रेसका अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पनि विभिन्न प्रस्ताव अगाडि सारेका छन् । देउवा क्याम्पबाट नै विद्रोह गरेका विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले सभापतिमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहँदा देउवासँग भएका यी राम्रा अवसर पनि हुन्– पौडेल र सिटौलालाई म्यानेज गर्ने ।

पौडेलले सभापतिमा दोहोरिने आफ्नो इच्छामा साथ नदिने लगभग निश्चित भए पनि देउवाले फालेको यो कार्डले पौडेल समूहमा थप आशंका जन्माउन चाहिँ सफल भएको छ । देउवाले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्वको जिम्मेवारी लिन पौडेल तयार हुनु, अहिलेसम्म सभापतिमा उम्मेदवारी घोषणा नगर्नुलाई पौडेलनिकट नेताहरुका लागि आशंकाका कारक बनेका छन् ।



यहीबीच देउवाको प्रस्ताव आउनुलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् ।

‘प्रस्ताव आएको छ, समर्थन गर्नुस्, राष्ट्रपति र प्रधानमन्त्रीमध्ये एक बनाउँछु भन्ने प्रस्ताव हो,’ पौडेलनिकट एक नेताले फरकधारलाई भने, ‘तर, यसको जवाफ दिन बाँकी छ ।’

१३ औं महाधिवेशनमा सभापतिको उम्मेदवारीमा दोस्रो चरणमा कृष्णप्रसाद सिटौलाको साथ नपाएपछि पौडेल देउवासँग ५२६ मतले पराजित भएका थिए । ‘अघिल्लो महाधिवेशनमा प्रतिस्पर्धी हुँदैमा यसपटक मिल्न हुँदैन भन्ने त होइन तर पौडेल र देउवाको मिलन स्वभाविक हुँदैन, त्यसले यी दुई जना नेतालाई फाइदा त होला तर कांग्रेसलाई थप घाटा हुन्छ, यो सोझै पदीय बार्गेनिङ हो भन्ने स्थापित हुन्छ,’ पौडेलनिकट एक नेता भन्छन् ।

पौडेलको कार्यकारी प्रमुख हुने चाहना बुझेकाले पनि देउवाले आफूलाई सभापतिमा दोहोर्याउन यस्तो कदम चालेको हुनसक्ने अनुमान छ ।

यसका लागि एक दशकअघिको प्रसंगमा जाऔँ । प्रसंग हो ११ भदौ २०६८ को ।  त्यति बेला तत्कालीन एकीकृत नेकपा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्रीमा निर्वाचित भए ।

भट्टराईको प्रतिस्पर्धी थिए, पौडेल । त्यतिबेला पौडेल प्रधानमन्त्री पदको दौडमा १७ औं पटकसम्म चुनावी मोर्चामा उभिए । तर, उनले जित हासिल गर्न सकेनन् । पौडेलको भावना बुझेका र उनीसँग निकट रहेका नेताहरु उनलाई एकपटक कार्यकारी पदमा पुग्ने रहर भएको बताउँछन् । 

त्यसो त यसअघि पनि बारम्बार पौडेलले आफूलाई राष्ट्रपति हुने रहर नभएको बताउँदै आएका थिए । केही दिनअघि सन्चारकर्मीसँग पनि उनले आफूलाई राष्ट्रपति हुन कुनै रहर नभएको बताएका थिए । 

कार्यकारी पदमा पुग्न बारम्बार चाहँदा पनि नसकेका पौडेलले अब पार्टीभित्र ‘बिगर एलायन्स’को योजना बनाएको हुनसक्ने अनुमान त्यसैले पनि भएको हो । 

अर्कोतिर आफ्नो समूहमा नै देखिएको विभाजन, प्रकाशमान सिंह टाढिए पछि पौडेलले आफू सभापति हुनसक्ने सम्भावना क्षीण हुँदै गएको बुझेका छन् ।

यही बुझाइका कारण उनी आजभन्दा २० वर्षअघिको सन्दर्भमा फर्किने सम्भावना बढेको उनीनिकट नेताहरुले नै चर्चा गर्न थालेका छन् । 

२०५९ सालमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको कारवाही पछि देउवा कांग्रेसमा पौडेलसँग अलग भएका थिए, छुट्टिएका थिए । त्यसअघि पार्टीमा यी दुई नेता एउटै क्याम्पमा थिए ।

देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) को गठन गरेसँगै चर्चा पनि चलेको थियो, यो पार्टीमा पौडेल पनि लाग्दैछन् । तर, पौडेल कोइरालातिर फर्किए, देउवालाई साथ दिन चाहेनन् ।

२० वर्षअघि देउवालाई साथ नदिएका पौडेलले के १४ औं महाधिवेशनमा आफूलाई पूरै परिवर्तन गरेर देउवालाई साथ दिने अवस्थामा पुग्लान् ? यसको जवाफ पाउनका लागि अब केही दिन पक्कै कुर्नु पर्ने हुन्छ । 

  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार ८:१५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया