बाबा रामदेवको टिभी च्यानल उद्घाटनमा पुगेका नेताहरूले के-के भने ?

प्रधानमन्त्री शेरबहादुर देउवाले योगको महत्त्व संसारभर रहेको बताएका छन् ।

शुक्रबार रामदेव पतञ्‍जलि योगपीठ नेपालले आयेजना गरेको पतञ्‍जलि नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले योगको महत्त्व संसारभर रहेको बताएका हुन् । उनले संसारमा दुष्प्रभाव नभएको एउटा मात्र औषधी आयुर्वेद भएको बताए ।

प्रधानमन्त्री देउवाले योगगुरु रामदेव र आचार्य बालकृष्णले नेपाल र नेपालीको नाम उचाइमा लान र नेपाललाई विश्वसामु चिनाउनका लागि आएको बताए । उनले सरकारले नेपालमा आयुर्वेदिक औषधी बनाउनका लागि आवश्यक पर्ने जग्गादेखि अन्य कुरा उपलब्ध गराउने पनि बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘आज संसारमा योगा स्वास्थ्यका लागि सबैभन्दा उत्तम स्वस्थ रहनका लागि बाबा रामदेवलाई सबैले सम्झिन्छन्, आयुर्वेद सबैभन्दा उचित, सबैले मानिसके, साइड इफेक्ट नभएको एउटा मात्रै आयुर्वेद औषधी छ, साइड इफेक्ट नभएको औषधी केही छ भने त्यो आयुर्वेद मात्रै छ, नेपालमै आयुर्वेदिक औषधीहरू बनाउन चाहनुभएको छ, नेपाल सरकारको तर्फबाट उहाँलाई पूरा सहयोग हुनेछ । सरकारले जग्गा उपलब्ध गराउनेछ ।’

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले योगगुरु रामदेव र आचार्य बालकृष्ण थ्रि इन वान भएको बताए । योगगुरु रामदेव र आचार्य बालकृष्णले योगको माध्यमबाट पूरा समाजलाई नै आरोग्य र निरोगीतर्फ लगेको बताउँदै अध्यक्ष दाहालले रामदेव पहिला परम्परावदी र रुढीवादी जस्तो लागे पनि क्रान्तिकारी र वैज्ञानिक भएको बताए ।

अध्यक्ष दाहालले बाबा रामदेव र आचार्य बालकृष्णसँगको कुराकानीमा नेपालमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीको क्षेत्रमा क्रान्ति ल्याउने विषयमा छलफल भएको बताउँदै अब कार्यक्रम गर्ने बताए । 



अध्यक्ष दाहालले भने, ‘पहिलादेखि नै बाबा रामदेवसँग मेरो सान्निध्यता भयो, नजिक भयौँ, छलफल गर्न थाल्यौँ, कताकता मलाई पहिला लाग्थ्यो उहाँ अलि बढी रुढीवादी, परम्परावदी हुनुहुन्छ होला भन्ने लाग्थ्यो, तर छलफल गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदो रहेछ, क्रान्तिकारी हुनुहुँदो रहेछ, त्यसकारण मेरो निकटता पनि त्यसरी नै बढेर गयो, उहाँले योगलाई नयाँ क्रान्ति मार्ग प्रदर्शन गर्नुभयो, योगको माध्यमबाट आरोग्यतिर, निरोगिताको पूरै समाजलाई लैजाने अभियानको नेतृत्व गर्नुभयो ।'

त्यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले योग साधनाको छुट्टै महत्व भएको बताए । उनले योगको अभ्यास सबैले गरेमात्रै शरीर स्वस्थ हुने बताए । उनले पहिला आफू धेरै यज्ञ, महायज्ञमा जाँदा पलेँटी कसेर बस्न नसकेको पछि योगाभ्यासले नै सहज बनाएको बताए ।



अध्यक्ष नेपालले भने, ‘योग र साधनाको बेग्लै महत्व छ । योगको अभ्यास हामी सबैले गर्नुपर्छ । स्वास्थ्यलाई राम्रो बनाउनका लागि पनि आवश्यक छ, ध्यान केन्द्रित गर्नका लागि पनि आवश्यक छ, प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालय, होमियोपेथिकको पनि व्यापक प्रयोग गरौँ यसले मनमा शान्ति ल्याउँछ  ।'

अध्यक्ष नेपालले  नेपालमा प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालय र होमियोपेथिक पद्धतिलाई बिस्तार र प्रयोग गर्नुपर्ने बताए । हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान सञ्चार गर्दै नेपालको सामाजिक, सांस्कृतिक, आध्यात्मिक र धार्मिक सहिष्णुतालाई दिगो बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्‍जलि योगपीठ नेपालले जनाएको छ । योगपीठले आजै स्वदेशी समृद्धि कार्डको पनि प्रारम्भ गरेको छ ।

  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १५:०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया