केरा खेतीमा भविष्य देखेका युवा, जसले गर्छन् वार्षिक लाखौँ आम्दानी

युवा वैदेशिक रोजगार भन्नेबित्तिकै हुरुक्कै हुन्छन् । आफ्नो देशमा मेहनत नगर्नेहरू अर्कोको देशमा पसिना बगाइरहेका हुन्छन् । गरेपछि आफ्नो देशमा पनि पैसा छ भन्नेहरु थोरै छन् । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ कैलालीमा केही युवाले पसिना बगाइरहेका छन् । नगदे बालीका रूपमा लिएको केरा खेतीमा कैलालीका युवा पसिना बगाइरहेका हुन् ।

कैलालीको गोदावरी नगरपालिकाका लक्षीराम आचार्य २२ विघामा केरा खेती गर्दै आएका छन् । केराको सिजन चलिरहेकाले उनलाई कामले भ्याइनभ्याई छ । उनी केरा खेतीको सबै खर्च कटाएर वार्षिक २० लाख रुपैयाँसम्म बचत गर्छन् । ८ वर्षअघि केरा खेती सुरु गरेका उनको लगानी अहिले झण्डै १ करोड रुपैयाँ पुगिसकेको छ । आचार्य राष्ट्रिय जनमोर्चाका नेतासमेत हुन् ।

कैलालीको कैलारी गाउँपालिका–६ मा व्यावसायिक पशुपालन तथा केरा खेती गर्दै आएका रामसमझ रानालाई पनि केरा सिजनको चटारो छ । उनलाई पनि बजारमा केरा पुगाउन भ्याइनभ्याई नै रहेको छ ।

३ विघा जमिनमा केरा खेती गर्दै आएका उनले ११ लाख रुपैयाँ लगानी गरेका छन् । पहिलो वर्षमै लगानी उठाउन सफल भए । उनले भने, ‘४२ सय बोट केरा लगाएको थिएँ । पहिलो वर्षमा लगानी उठेको छ । एक पटक रोपेपछि ३–५ बाली लिन सकिने हुँदा केही प्रतिफल आउने आशा छ ।’ राना नेपाली कांग्रेसका नेता हुन् ।

यस्तै, कैलालीमै रहेर लामो समयदेखि केरा खेतीमा सक्रिय नेकपा माओवादीका नेता नेपबहादुर चौधरी ‘सिंहराज’ पनि केरा खेतीमै व्यस्त रहने गरेका छन् । जिल्लाको जोशीपुर गाउँपालिका–२ झवहीमा १२ विघा जमिनमा केरा खेती गर्दै आएका नेपबहादुर केराको सिजनले व्यस्त भएका छन् ।

कैलालीमा केही वर्षयता केरा खेतीमा बढ्दो आकर्षण छ । केरा खेतीमा राजनीति, शिक्षण, व्यापारलगायत विभिन्न पेशामा सक्रिय व्यक्तिहरूको सुरक्षित आयआर्जनको स्रोत बनेको छ । ‘चालू वर्ष केराको उत्पादन राम्रो भएको छ’, उनले भने ‘बाह्य (भारतीय) उत्पादनले यहाँको केरा खेतीलाई प्रभावित पार्ने गरेको छ ।’ 



२०६८ सालदेखि व्यावसायिक केरा खेती थालेका उनले स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा लिजमा लिई खेती गर्दै आएका छन् । उनी वार्षिक करिब १ करोड रुपैयाँसम्मको कारोबार गर्दै आएका छन् ।

एकताका नेपाली बजार पूर्ण रूपमा भारतीय केराको कब्जामा रहेको थियो तर पछिल्लो समय स्थानीय उत्पादनले भारतीय केरालाई प्रतिस्थापन गर्दै लगेको व्यवसायीको दाबी छ । कैलालीमा उत्पादित केराले सुदूरपश्चिमका सबै जिल्लाका साथै नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, काठमाडौंसम्म बजार पाउँदै आएको नेपबहादुरले बताए ।



‘जस्तो कि मुग्लिनतिर सुन्तला बेच्दा गोरखाको सुन्तला भनेर बेचिन्छ । अत्तरियामा निगालीको सुन्तला भनेर बेचिन्छ । त्यसैगरी अब काठमाडौंमा पनि कैलालीको टीकापुरको केरा भनेर बेच्ने परिपाटी सुरु भइसकेको छ,’ उनले भने, ‘ढुवानीका कारण परिमाणको हिसाबले काठमाडौंको बजारमा धेरै बजार लिन नसके पनि अन्य स्थानबाट ल्याएको केरालाई टीकापुरको केरा भनेर बेच्न का सुरु भएको छ ।’

कैलाली केरा उत्पादक किसानले आम्दानी मात्रै गरेका छैनन्, नामसमेत कमाउन सफल छन् । हालसम्म टीकापुरका ३ जना किसान केरा खेतीमा उत्कृष्ट किसानको रूपमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।

केरा किसान तथा उद्यमी कालु हमाल, विनोद शाह र नेपाल एग्रीकल्चर फर्मका रामबहादुर कुँवर सम्मानित भएका हुन् । फस्टाएको केरा खेतीसँगै रोजगारीसमेत सिर्जना भएको छ । 

कृषि विकास निर्देशनालय दिपायलको अनुसार आव २०७७/२०७८ असार मसान्तसम्मको तथ्यांक अनुसार सुदूरपश्चिममा २ हजार १ सय ३६ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । जसमध्ये १ हजार ५ सय ६४ हेक्टरमा वार्षिक २३ हजार ९ सय १७ मेट्रिक टन केरा उत्पादन भएको छ भने उत्पादकत्व १५ दशमलव २९ मेट्रिक टन प्रतिहेक्टर रहेको छ ।

सुदूरपश्चिमको सबैभन्दा बढी कैलालीमा ९ सय १० हेक्टरमा खेती हुँदै आएको छ । जहाँ १५ हजार १ सय १५ मेट्रिक टन केरा उत्पादन हुन्छ । ५ सय हेक्टरमा खेती हुँदै आएको कञ्चनपुरमा ५ हजार ८ सय ६३ मेट्रिक टन केरा उत्पादन हुँदै आएको जनाइएको छ  ।

  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १९:६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया