कतारमा नेपालीलगायतका आप्रवासी कामदारमाथिको शोषण रोकिएन, एम्नेस्टी इन्टरनेसनलले दबाव दिन डेभिड बेकह्यामलाई गुहार्यो

अन्तराष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले कतारमा रहेका नेपालीलगायतका आप्रवासी कामदारको अवस्थामा सुधार नआएकोप्रति आपत्ति जनाएको छ ।  

कतारमा फिफा विश्वकप २०२२ सुरु हुनु करिव एक वर्षअघि यसै साता एम्नेस्टीले एक रिपोर्ट सार्वजनिक गर्दै आप्रवासी कामदारमाथि शोषण भइरहेकोमा आपत्ति जनाएको हो ।

फिफा विश्वकप २०२२ कतारले आयोजना गर्दै छ, जुन आगामी वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुनेछ । 

विश्वकप आयोजना गर्ने पूर्वाधार निर्माणमा खटिएका आप्रवासी कामदारमाथिको शोषण नरोकिएपछि एम्नेस्टीले इङ्ल्याण्डका पूर्वकप्तान डेबिड बेकह्यामसँग समेत गुहार मागेको छ । 

आप्रवासी कामदारमाथि हुँदै आएको शोषण रोक्नको लागि दवाब दिन एम्नेस्टीले बेकह्यालाई आग्रह गरेको हो । कतारले विश्वकपको लागि बेकह्यामलाई विशेषदूत बनाएको छ । सोही कारण एम्नेस्टीले कतार सरकारलाई दबाव दिन बेकह्यालाई आग्रह गरेको हो । 



एम्नेस्टीद्वारा जारी रिपोर्टमा विश्वकप सुरु हुन एक वर्षमात्र बाँकी हुँदा पनि आप्रवासी कामदारको अवस्था सुधार गर्ने योजना लागू नहुँदा चिन्ता व्यक्त गर्नुपरेको उल्लेख छ । इङ्ल्याण्ड विश्वकप २०२२ को लागि छनोट भएको भोलिपल्ट एम्नेस्टीद्वारा जारी रिपोर्टमा कतारमाथि दवाब सृजना गर्न आग्रह गरिएको छ । 

रिपोर्टमा विश्व फुटबलको सर्वोच्च निकाय फिफा र बेकह्यामलाई विश्वकप सुरु हुनु अगावै कामदारहरुको हकहित र अधिकारको सुनिश्चितता गर्न आग्रह गरिएको छ । एम्नेस्टीले बिभिन्न श्रम ऐन सुधार गर्न यसअघि गरिएका बाचा र प्रतिबद्धता कतारले पुरा नगरेको आरोप लगाएको छ । 



एम्नेस्टीले सार्वजनिक गरेको रिपोर्ट ‘रियालिटी चेक २०२१ः अ इयर टु द २०२२ वल्र्डकप’मा भनिएको छ, ‘आप्रवासी कामदारलाई देश छोड्न वा रोजगारदाताको अनुमति बिना काम परिवर्तन गर्न रोक्ने प्रतिबन्धित कानूनहरु गत वर्ष खारेज गर्ने निर्णय गरिएको थियो । ती निर्णयहरु पर्याप्त रुपमा लागू गरिएको छैन । कतारमा आप्रवासी कामदारमाथिको शोषण जारी छ ।’ 

मानवअधिकारवादी संघ संस्थाले दबाव दिएपछि कतारले सन् २०२० अगष्ट ३० मा आप्रवासी कामदारको हित हुनेगरी दुई वटा निर्णय गरेको थियो । ती निर्णय थिए– पहिलो, कामदारको न्यूनतम पारिश्रमिक बृद्धि र दोस्रो, कामदारले कम्पनी परिवर्तन पाउने अधिकार । 

अन्तर्राष्ट्रिय मिडिया र मानवअधिकारवादी संघ संस्थाले कतारले आप्रवासी कामदारको मानवअधिकारको हनन् गरेको, शोषण गरेको, यातना दिएको र त्यो सहन नसकी थुप्रैको मृत्यु भएको कुरा उठाएपछि सुधारको कार्यक्रम ल्याएको थियो । 

फिफाले कतारलाई सन् २०१० मा विश्वकप २०२२ आयोजना गर्ने जिम्मेवारी दिएको थियो । एम्नेस्टीका अनुसार त्यसयता कतारमा विश्वकपको लागि पूर्वाधार निर्माण गर्दा दक्षिण एसियाली राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी पाँच देशका करिव ७ हजार कामदारको मृत्यु भइसकेको छ । 

सन् २०१० यता कतारमा सबैभन्दा बढी मृत्यु हुने आप्रवासी कामदारको सूचीमा नेपाल दोस्रो नम्बरमा रहेको छ । सो अवधिमा कतारमा सबैभन्दा बढी भारतीय कामदारको मृत्यु भएको छ । फिफाले विश्वकप आयोजना गर्ने जिम्मेवारी दिएयता कतारमा १ हजार ६४१ जनाभन्दा बढी नेपाली कामदारले ज्यान गुमाएका छन् । कतारमा तीन लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन् । 

सन् २०२० मा फिफा विश्वकप २०२२ सँग सम्बन्धित काममा आवद्ध इन्जिनियरिङ कम्पनी मर्करी एमइएनएले एम्नेस्टीले आवाज उठाएपछि मात्र नेपाली र फिलिपिन्सका कामदारलाई तलव दिएको रिपोर्टमा उल्लेख छ । 

‘यमबहादुर राना विमानस्थलमा सुरक्षा गार्डको काम गर्थे । उनलाई दिउसो लामो समयसम्म घाममा बसेर काम गर्नु पथ्र्यो । सन् २०२० फेब्रुअरी २२ का दिन उनको अचानक मृत्यु भयो । उनको श्रीमती र दुई वटा छोराछोरी छन्,’ एम्नेस्टीले आफ्नो रिपोर्टमा कतारमा नेपाली कामदार माथि भएको शोषणलाई उठाएको छ ।  

यस्तै, तुलबहादुर घर्तीको पनि सन् २०२० मे २८ का दिन सुतिरहेको अवस्थामा मृत्यु भएको थियो । घर बाहिर ३९ डिग्री तापक्रममा लगातार १० घण्टा काम गरेर कोठामा फर्केपछि उनको मृत्यु भएको एम्नेस्टीले जनाएको छ । कामदारको मृत्युसँगै उसको परिवारमा पर्ने आर्थिक संकट अझ ठूलो समस्या हुने गरेको रिपोर्टमा उल्लेख छ । 

‘सबै कुरा चकनाचुर भयो । जीवन फुटेको ऐना जस्तो भएको छ,’ रिपोर्टमा यमबहादुर रानाकी श्रीमती भूमीसराको भनाई उद्वृत गरिएको छ । उनले सरकारले दिने मासिक दुई हजारको भरमा दुइ सन्तानसहितको जीवन गुजारा गरिरहनु परेको एम्नेस्टीसँग बताएकी छन् । 

‘म भावुक भएर धेरै पटक रोएको छु । एक्लै बस्न धेरै गाह्रो छ...। मेरो श्रीमानको शवलाई जलाइयो, त्यतिबेला म आफू तेलमा जलिरहेको जस्तो भयो,’ तुलबहादुर घर्तीकी श्रीमती विपनाले भनिन् । 

एम्नेस्टीले रिपोर्टमा कतारले कसरी कामदारमाथि शोषण गरिरहेको छ भन्ने उदाहरण दिएको छ । रिपोर्टमा उल्लेख छ–  ‘आयशा नाम गरेकी एक महिला कामदारले कम्पनी परिवर्तन गर्न खोज्दा उनीसँग १ हजार अमेरिकी डलर माग गरिएको थियो जुन उनको मासिक कमाइभन्दा पाँच गुना बढी हो । कम्पनी परिवर्तन गर्न खोज्दा ती महिलालाई देश निकाला गर्ने धम्की दिइयो । उनको सो गुनासोलाई प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खारेज समेत गरिदियो ।’ 

कतारले गरेका बाचा पुरा गर्ने समय घर्किन लागेकोमा एम्नेस्टीले चिन्ता जनाएको छ । विश्वकप सुरु हुनु अगावै ती बाचा पुरा नभए आप्रवासी कामदारमाथिको शोषण नरोकिने बुझाई एम्नेस्टीको छ ।  

यसैकारण एम्नेस्टीले इङ्ल्याण्डका पूर्व कप्तान बेकह्यामलाई आफ्नो ‘अद्धितिय विश्वव्यापी प्रोफाइल’लाई मानवअधिकारका मुद्दामा दबाव दिनको लागि प्रयोग गर्न आग्रह गरेको छ । 

कतारमा हाल २० लाख आप्रवासी कामदार कार्यरत छन्, जसमध्ये अधिकांश दक्षिण एसियाली राष्ट्रका छन् । कतारले विश्वकपको लागि आठ वटा स्टेडियम, रेल सञ्जाल, सडक, होटल जस्ता ठूला पूर्वाधार निर्माणमा काम गरिरहेको छ । 

कतारले आप्रवासी कामदारलाई मजदुर युनियनमा आवद्ध हुने अधिकारबाट समेत बञ्चित गर्दै आएको आरोप एम्नेस्टीले लगाएको छ । कामदारले कम्पनीले छाड्लान् भनेर मालिकहरुले तलब समेत रोकेर राखेको एम्नेस्टीको रिपोर्टमा उल्लेख छ । 

‘घडीले टिक टिक गर्न सुरु गरिसकेको छ तर कागजमा ल्याइएका सुधारका कार्यक्रम कार्यन्वयन गर्न ढिला भने भइसकेको छैन,’ एम्नेस्टी इन्टरनेसनलका ग्लोबल कार्यक्रम निर्देशक मार्क डम्मेटले भने, ‘अब कतारी अधिकारीहरु साहसी बन्ने र श्रम सुधारको कार्यक्रम पूर्ण रुपमा कार्यन्वयन गर्ने समय आएको छ । यदि कतारले सुधारको कार्यक्रम गर्न सकेन भने आजसम्म प्राप्त गरेको प्रगति खेर जानेछन् ।’ ​

एम्नेस्टीको दाबीलाई कतारले भने ‘झूठो’ भनेको छ । कतारको श्रम मन्त्रालयले नयाँ कानून लागू भएयता २ लाख ४२ हजार ८७० जना कामदारले कम्पनी परिवर्तन गरेको दाबी गरेको छ । न्यूनतम पारिश्रमीक निर्धारण गरेपछि ४ लाखभन्दा बढी कामदार लाभान्वित भएको कतारले जनाएको छ । 

  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १६:२०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया