चुनावमा टिकट पाए अर्जुन जसरी लडिन्छ, श्रीकृष्णले जस्तै रथ चलाउने हो : द्वारिकलाल चौधरी

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी प्रायः चर्चामा आइरहन्छन् । पछिल्लो समय एकपटक फेरि उनी चर्चामा आएका छन् ।  यो पटक चौधरी सुनसरी एमालेको बैठकमा माइक खोसेर चर्चामा आएका हुन् । ‘एमाले सुनसरी पार्टी नभएर कम्पनी’ भएको टिप्पणी गर्दै अधिवेशनमा माइक खोसेपछि उनी नेकपा एकीकृत समाजवादीमा जाने धेरैले अनुमान गरेका थिए । तर, उनले अहिलेसम्म भने एमालेको साथ छोडेका छैनन्। ​

इनरुवास्थित एक पार्टी प्यालेसमा बस्ने भनिएको बैठकमा उनले माइक खोसेका थिए । एमालेभित्रको विवाद समाधान भइनसकेकोले चौधरी समाजवादी पार्टी प्रवेश गर्नसक्ने हल्ला भने कम भएका छैनन् । यसैबीच, फरकधारकर्मी सुमन पुरीले मेयर चौधरीलाई एमाले छोड्दै हुनुहुन्छ? किन पटकपटक विवादमा? अहिलेसम्म के-के गर्नुभयो काम? लगायत प्रश्न सोधेका छन् :

तपाईं पटकपटक विवाद र चर्चामा आइरहनुहुन्छ, के यो तपाईंको रहर हो?  

चर्चामा त तपाईंहरू ल्याउनुहुन्छ, यस्तै-यस्तै प्रश्न गर्नुहुन्छ । मनमा केही नलुकाएर मैले जवाफ दिइहाल्नु पर्छ । अनि चर्चामा आइहाल्छु । अरू गमेर बोल्छन्, म मेरो चर्चा गरिदेऊ भनेर कराउँदै हिँड्दिन । मिडियाले फुलबुट्टा भरिदिन्छ कि केके गरिदिन्छन् अनि चर्चामा आइहाल्छु ।

महिलाहरूलाई अपमान गरेको भनेर तपाईंमाथि किन आरोप लाग्छ? 

कहाँ महिला? हेर्नुस् शब्दकोष । आइमाई भनेको कुनै अनादर होइन । मैले के अपशब्द गरेको छु, कहाँ अपशब्द बोलेको छु? आइमाई कुनै आपत्तिजनक शब्द होइन । महिला भनेको पनि उही हो, आइमाई भनेको पनि उही हो । नेपालीमा स्त्री जातिलाई आइमाई पनि भनिन्छ । कोको नाराबाजी गर्दै थिए, अहिले किन थाके? दिनमा १० पटक जुलुस निकाले पनि हुन्छ भनेको थिए ।  



के तपाईं नेकपा एस प्रवेश गर्नु लाग्नुभएको हो? 

पार्टी परिवर्तन गर्ने सोचेको छैन । तर, यहाँ फेरिरहेकै छन् । हिजो सूर्य चिन्हबाट उठेर रुख चिन्हमा भोट हालेको छ, लाज लागेको छ मान्छेलाई? प्रधानमन्त्री भइसकेको मान्छे पार्टी फेर्दै हिँडेका छन्, लाज लागेको छ ? द्वारिकलाल चौधरी त्यहाँसम्म पुगेको छैन । भोलि गयो भने पनि यो सरमको कुरा छ र? फेर्दा रैछन् त । नेपालमा पार्टी फेर्ने कुरा सरमको कुरा रहेन । तर, म चाहिँ कुनै अर्को पार्टीमा जादिनँ ।  



अनि नेकपा एसका अध्यक्ष माधव नेपालसहित मुख्यमन्त्रीलाई चाहिँ किन भेट्नुभएको त?  

मैले कसैलाई भेटिन, मलाई भेट्न आए । बलदेव मेरो नाताको मान्छे हो । म तपाईंकोमा आउँछु भन्नुभयो, आउ न भने । बेलुका बस्यौ खाना खाइयो । मेरैमा बस्नु भयो । उहाँले भन्नुभयो– मुख्यमन्त्रीको कार्यक्रम छ । माधव नेपाल पनि आउनुहुन्छ । उहाँलाई पनि बोलाउनुस् भने । उहाँ पनि आउनुभयो मेरोमा । तपाईंहरू आउनुभयो भने पनि म खाना खुवाउँछु । यो कुन चाहिँ ठूलो कुरो भयो र? यसले चियाको कपमा तुफान ल्याइदियो । इटहरीमा सञ्चालनमा रहेका योजनाहरू छुटेका थिए, मैले मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराए । इटहरीको विकास र समृद्धि मेरो स्वार्थ हो  । माधव नेपाल एउटा राजनीतिक दलको अध्यक्ष भएकाले संघीय सरकारबाट हुने सहयोगका लागि उहाँलाई पनि ध्यानाकर्षण गराए । यो त गौरव गर्ने कुरा हो । 

नेकपा एसका नेताहरूलाई भेट्नुका अर्थ चाहिँ एमालेले मेयरको उम्मेद्वार बनाएन भने समाजवादी गएर भए पनि उम्मेद्वार बन्ने योजनाको हो भन्छन् नि?

अब हेर्दै जानु न । शेरबहादुर देउवालाई पनि बोलाउँछु । मेयरको हिसाबले उहाँलाई स्वागत सम्मान गर्नुपर्छ । अस्ति मुख्यमन्त्रीलाई बोलाए, पूर्वप्रधानमन्त्री प्रचण्डलाई पनि स्वागत गर्छु । यो कुनै अनैतिक काम छ र?

अब अनुमान गर्नलाई के भन्न सकिन्छ । हाम्रोमा एउटा उखान छ ‘बख्री पाच गरिछे त हाम्रैै चर्चा करिछे’ अर्थात् बाख्रा अघाएपछि मुख चलाइरहेको हुन्छ नि । रिस उठेको बाख्राले मेरै कुरा गरिरहेको छ भनेर सोच्छ  । यस्तै, मेरो पार्टीमा रिस गर्नेहरू उल्टो लगाइरहेका छन् ।  

समृद्धिको कुरा पटकपटक दोहोर्‍याउनुहुन्छ, मेयर भएपछि अहिलेसम्म के–के गर्नुभयो? 
 
हामी कार्यकालको उत्तरार्धतर्फ आइसकेका छौं । अब छ महिनापछि निर्वाचन हुँदैछ । हामीले के काम गर्यौंभन्दा क्षेत्रगत भन्नुपर्छ । 

हामीले पूर्वाधारको क्षेत्रमा फड्को मारेका छौं, यो मेरो दाबी हो । हामीले यो चार वर्षमा इटहरीमा सय किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरेका छौं । ग्रामीण भू-भागमा अशिक्षा गरिबी र पछ्यौटेपन थियो त्यो ठाउँमा पूर्वाधारको काम गरेका छौं । शिक्षाको क्षेत्रमा हामीले महत्वपूर्ण काम गरेका छौं । 

हिजो शिक्षाको क्षेत्रमा विकृति थियो, चाहे सामुदायिक विद्यालयमा चाहे संस्थागत विद्यालयको हकमा होस् ती सबैै ‘रुल आफ रेगुलेसन’ मा आएका छन् । मैले संघीय सरकारका अर्थमन्त्रीलाई भेटेर एउटा दृष्टान्त दिएको थिए । न्यू दिल्ली राजधानी छ, नजिकै नोयडा पनि सारै समृद्ध छ । इटहरीलाई पनि नोयडा जस्तै बनाउन मैले पटकपटक प्रयास गरे । 

मैले औद्योगिक व्यावसायिक के भन्ने हो त्यसका लागि बाहिरी चक्रपथ निर्माणको लागि काम थाल्दिनुस् भनेको संघीय सरकारले काम गरेन । प्रदेश सरकारले भने योजना होलेको थियो । तर, कोभिडले योजना सफल हुन सकेन । 

हिजो प्राथमिक स्वास्थ्य उपचार केन्द्र थियो, आज इटहरी अस्पताल बनाएर १५ शय्याको अस्पताल बनाएर आकस्मिक सेवा पनि हामीले सुरु गरेका छौं । अब लगभग सबै वडामा स्वास्थ्य केन्द्रहरूको आफ्नै भवन बन्दै छ । साउनबाटै सेवा सुरु गर्ने योजना भए पनि केही प्राविधिक कठिनाइका कारण त्यो सम्भव भएन । भवन तयार गरे पनि सेवा सुचारु गरिसकेका छैनौं । औषधि खरिद गरेका छौं । जनशक्तिको व्यवस्थापन पनि गरिसकेका छौं । तर, बिजुली, पानीलगायतका  जडान भइनसकेकाले नयाँ भवनबाट सेवा सुचारु गरिसकेका छैनौं । स्वास्थ्य क्षेत्रमा पनि हामीले धेरै काम गरेका छौं । 

तपाईंले घोषणापत्रमा त इटहरीमा ५० शय्याको अस्पताल बनाउँछौं भनेर लेख्नुभएको थियो नि?  

हो घोषणापत्रमा ५० शय्या भनेर लेखिएकै हो । तर ५० शय्याभन्दा माथिको अस्पताल संघीय सरकारको मातहतमा हुँदो रहेछ । हामीले माग्न त ३ सय शय्याकै अस्पतालको माग गरिरहेका छौँ । अहिले हाम्रो मातहतमा १५ शय्याको मात्रै हो । तर, गर्व के छ भने हामीले जति स्वास्थ्यमा लगानी धरान उपमहानगर र विराटनगर महानगरले पनि गर्दैन ।

जिल्ला सदरमुकाम रहेको इनरुवा नगरपालिकाले पनि स्वास्थ्यको क्षेत्रमा यति धेरै लगानी गरेका छैन । हाम्रा छिमेकी नगरले भन्दा हामीले स्वास्थ्यको क्षेत्रमा बढी नै बजेट विनियोजन गरेका छौं । स्वास्थ्य क्षेत्रमा हामीले अरूको तुलनामा बढी नै कार्यक्रम सुरु गरेका छौं ।  

चुनावमा मेयर भए भने इटहरीका खोला-खोलामा डोजर कुद्छ, इटहरीलाई डुबानमुक्त गर्छु । खोला मिचेर बनेका संरचना भत्काउँछु भन्नु भएको थियो । तर तपाईंले न खोलामा डोजर कुदाउनुभयो नत कात्तिकमा इटहरीलाई डुबानबाट जोगाउनुभयो?  

खोला खोल्छु भनेकै हो । र प्रयत्न गरेकै हो । यसका लागि वृहत इटहरीको सहमति चाहिन्छ । त्यो सहमति भएरै खेती खोलामा एक्सन गरेका थियौं । तर यसका लागि सबै कुराहरू मिल्नुपर्दो रहेछ । खर्चको कुरा पनि आउँदो रहेछ । बजेटमा त्यो खाले व्यवस्था हुनुपर्‍यो । अर्को कुरा शान्तिसुरक्षाको कुरा । 

यहाँ मान्छे भ्वाइलेन्समा आउँछ । म आफैं पनि झण्डै-झण्डै आक्रमणमा परे । अझैं पनि गर्ने इच्छा शक्ति छँदैछ, मलाई कसैले रोकेको छैन । मेयरले हतार गर्‍यो कि भन्नेहरू पनि देखिए । म डोजर लिएर हिँड्दा प्रतिरोध पनि भएका हुन् । तर हामीले काम रोकेका छैनौं । मेयरले पूर्वाग्रह राख्यो कि भन्ने भ्रम पनि परेको होला । मैले पूर्वाग्रह राखेर कम गरेको छैन ।

अहिले पनि खेती खोला र ट्याग्रा खोला सफाइका लागि हामीले वडाध्यक्षको नेतृत्वमा कार्यदल बनेको छ । ४ नम्बर र ९ नम्बरका वडाध्यक्षको संयोजकत्वमा बनेको कार्यदलले कहाँ के एक्सन गर्ने/नगर्ने भनेर आउँछ, त्यसैको आधारमा काम हुन्छ । त्यही अनुरूप काम गर्न तयार छु । 

अब कार्यदललाई नै यो खोलामा कहीँ केही छैन । केही गर्न पर्दैन भन्ने लागेछ भने मेयरको सिङ जुरो पलाएको छर हान्दै हिँड्ने ठोक्दै हिँड्ने? त्यसै त मान्छेहरू केके प्रचार गरिरहेका छन्, म ब्याक भएको छैन ।  

सार्वजनिक जग्गा मिचेर, सरकारी जग्गा हडपेर बस्ने सबैलाई तह लगाउँछु भन्नुहुन्थ्यो, कामको सुरुवात पनि गर्नुभयो । तर बीचमै छोड्नुभयो नि, किन? 

त्यो पनि मैले छाडेको छैन । अहिले हामीसँग २० वटै वडामा अमिन छन् । त्यो बेला तीनजना अमिन थिए । त्यतिबेला एउटा कार्यदल बनाएका थियौं । त्यो कार्यदलले काम पनि सुरु गरेको थियो । तर पर्याप्त जनशक्ति भएन । यहाँ केही बिर्तावालहरू, धेरै जग्गा हुनेहरूले तायदाती फारम भर्दा पनि हदबन्दीभन्दा बढीको जग्गा छाडेको छु भनेका छन् । त्यसको अध्ययन गर्दा पनि नेपाल सरकारको हुन्छ । तर सबै कुराको अध्ययन गर्न सकिएन, हतारै पनि भएको होइन । हामीले काम छाडेका छैनौं ।डिभीएमको ३ बिगाहा जग्गा हामीले अदालतमै गएर पनि ल्याउने प्रक्रियामा छौं । एकपटक मुद्दा जितेका छौं । हामीले एक्सन लिएका धेरै ठाउँ मुद्दाको प्रक्रियामा गएको छ । 

अदालतले स्टे अर्डर गरेको छ ।  हामीले अदालत नमान्ने भन्ने हुन्छ? अदालतको फैसला र आदेशलाई मान्नु पर्दैन? कानुनी राज्य भएकाले अदालतको सम्मान गरेको हो । म ब्याक भएको छैन । छातीमा स्टे अर्डर टाँसेर बस्छन् अनि मेयर ब्याक भयो भनेर हल्ला गर्छन्, मेयरले काम गरेन भनेर प्रचार गर्छन् ।  म पनि स्टे अर्डर के छातीमा टाँस्दै हिँड्नु?

मेयर भए भने इटहरी उपमहानगरपालिकामा भ्रष्ट कर्मचारी हुँदैनन्, भए भने खेद्छु भन्नुभएको भएको थियो । यहाँ मेयर बनेर कार्यकाल पनि सकिन लाग्यो । तर, कर्मचारीबाट जनताले सजिलै काम नभएको गुनासो भने आइरहेकै छन्, किन? 

खेदिसके त । खेदिएकाहरू उता बाहिर छन् । जागिरबाट निकाल्न सकिँदो रहेन छ । कारबाही गर्ने हाकिमले हो । कारबाही गरभन्दा मिल्दैन हजुर भन्छन् । ऊ भ्रष्टाचारी हो भनेर अख्तियारले जष्टीफाई गर्दैन, सफाइ दिन्छ । काम हेर्दा भ्रष्टाचारी छ, चित्त बुझ्दैन । अनि त्यतिकै तिमी भ्रष्टाचारी हो भनेर भन्न मिल्दो रहेनछ  त्यही पनि ‘काँक्रे चोरलाई मुड्के सास्ती’ भनेर त गरियो, देखिहाल्नुभयो । राज्यले भ्रष्टाचारी जोगाइरहेको छ, त्यस्तै छ अब । म ट्याक्कैसँगले प्रमाणित नभइकन भन्न पनि गाह्रो हुँदो रहेछ । मलाई आशंका लागेका र गडबढी गर्नेहरूलाई यहाँबाट निकालेर पठाइसकियो । 

मेयरको उम्मेद्वार हुँदैगर्दा तपाईंले ‘यो मेरो अन्तिम पटक हो, अब म उठ्दिन’ भन्नुभएको थियो, कि अब फेरि चुनावमा उठ्ने?   

राजनीतिमा सबै कुरा भनिँदैन । यो प्रश्नको सिधा जवाफ दिँदैन । कुरुक्षेत्रको लडाँइमा प्रधानसेनापति तोकियो भने अर्जुनको जस्तो लड्ने हो । सारथी बनायो भने श्रीकृष्णको जस्तो रथ चलाउने हो । पार्टीले जे भूमिका दिन्छ त्यही गर्ने हो । तिमी सारथीको भूमिका निर्वाह गर भन्यो भने रथ चलाउने आफ्नो उम्मेद्वारलाई विजय गराउने । उम्मेद्वार नै बनाएछ भने जित्नका लागि के-के गर्नुपर्छ लक्ष्य भेदन गर्ने । 

  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार १३:२१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया