खोजमा लिप्त वैज्ञानिक : जो उपचार छाडेर आफ्नै मृत्यु–कहानी लेख्दै बसे

वैज्ञानिकहरू खोज, अनुसन्धानमा लगनशील हुन्छन् । कोही त खोजमा यति डुब्छन् कि, आफैँलाई सम्झिन भ्याउँदैनन् । भनिन्छ, थोमस एल्भा एडिसनले अध्ययनको रन्कोमा आफ्नो नामसमेत बिर्सिएका थिए । 

जोखिम मोलेर अनुसन्धानमा लागिपर्ने धेरै छन् । तर, के अनुसन्धानकै लागि कसैले जानी–जानी आफ्नो प्राण चढाउन सक्ला ? 

इतिहासमा यस्ता अनेक उदाहरण छन्, जसमध्ये एक हो – वैज्ञानिक कार्ल प्याटरसन सिमिटको । 

१९५७ को सेप्टेम्बरमा अमेरिकाको सिकागोस्थित लिंकन पार्क चिडियाघरका एक कर्मचारीले अनौठो सर्प भेटे । ७६ सेन्टिमिटर लामो यो सर्पको प्रजातिबारे जान्न उनी नजिकैको नेचुरल हिस्ट्री म्युजियम पुगे । त्यहाँ उनको भेट भयो, वैज्ञानिक कार्ल प्याटरसन सिमिटसँग । सिमिट त्यतिवेलाका चर्चित हर्पेटोलोजिस्ट (सरिसृप–विज्ञ) थिए । 

बहुरंगी आकृतिले ढाकिएको सर्प देखेर सिमिट निकै उत्साहित भए र त्यसको प्रजाति पत्ता लगाउन अध्ययनमा जुटे । 

२५ सेप्टेम्बरमा उनले पत्ता लगाए कि, यो अफ्रिकी देशहरूमा पाइने सर्पको एक प्रजाति थियो । 



यसको टाउको सहारा मरुभूमिको दक्षिणतर्फ पर्ने ‘सब–सहारन अफ्रिका’को जंगलमा पाइने ‘बुमस्ल्याङ’ सर्पको जस्तो थियो । तर, सिमिट यो बुमस्ल्याङ नै हो भन्नेमा आश्वस्त भने थिएनन् । किनकि, यसको एनल प्लेट केही भिन्न थियो । 

र, यही शंका निवारण गर्न सिमिटले आफ्नो प्राणै खर्चिए । 



सर्पलाई निकै नजिक राखेर सिमिट उसको शरीरमा भएका आकृतिको अध्ययन गर्न थाले । अचम्मित हुँदै उनी सर्पको टाउकोमा बनेका रंगीन आकृतिहरू नियालिरहेका थिए । अचानक सर्पले उनको औँलामा डस्यो । 

डाक्टरकहाँ जानुको साटो सिमिट सर्पले डसेको औँला चुसेर विष निकाल्ने कोसिसमा लागे । यति मात्र होइन, उनले आफ्नो जर्नलमा सर्पले डसेपछिको अनुभव लेख्न सुरु गरे । 

सिमिट लेख्दै गए –

४:३०–५:३० : वाकवाकी लागेजस्तो अनुभव, तर उल्टी आएन । मैले होमवुडसम्म रेलमा यात्रा गरेँ । 

५:३०–६:३० : निकै चिसो र झट्का लागेजस्तो अनुभव, जसपश्चात् १०१.७ डिग्रीको ज्वरो आयो । बेलुका ५:३० देखि नै गिजाबाट रगत आउन थाल्यो । 

८:३० बजे : मैले दुईवटा टोस्ट खाएँ । 

राती ९:०० देखि १२:२० सम्म : म आरामले सुतेँ । त्यसपछि पिसाब गरेँ, जसमा अधिकांश मात्रा रगतको थियो । 

२६ सेप्टेम्बर, बिहान ४:३० बजे : मैले एक गिलास पानी पिएँ, वाकवाकीका कारण उल्टी भयो । जे पच्न सकेको थिएन, त्यो सबै मेरो पेटबाट बाहिर निस्कियो । त्यसपछि मैले धेरै राम्रो महसुस गरेँ र बिहान साढे ६ बजेसम्म सुतेँ । 

बिहान साढे ६ बजे : मेरो शरीरको तापक्रम ९८.२ डिग्री थियो । मैले टोस्टसँगै उसिनेको अण्डा, एप्पल सस, गेडागुगी र कफी लिएँ । यसपछि पिसाब आएन, तर हरेक तीन घण्टामा एक आउन्स (करिब २८ ग्राम) रगत निस्कियो । मुख र नाकबाट लगातार रगत बगिरह्यो, तर धेरै मात्रामा होइन ।

दिउँसो साढे १ बजे उनले आफ्नी पत्नीलाई फोन गरे । उनले तत्काल डाक्टर बोलाइन् । तर, डाक्टर आइपुग्दा सिमिटको पूरै शरीर पसिनामा डुबिसकेको थियो ।
उनी बेहोस भइसकेका थिए । अस्पताल नपुगुन्जेल डाक्टरले उनलाई होसमा ल्याउने धेरै कोसिस गरे ।

तर, उनको होस आएन । दिउँसो तीन बजे डाक्टरले सिमिटलाई मृत घोषित गरे । डाक्टरका अनुसार श्वासप्रश्वासको समस्याका कारण सिमिटको मृत्यु भएको थियो ।

अफ्रिकी सर्प ब्लुमस्ल्यागको विष निकै द्रुतगतिमा असर गर्छ । यसको प्रभावले शरीरमा रगत जम्न थाल्छ, जसले रक्तसञ्चारमा बाधा पुर्याउछ । त्यसपछि, शरीरका विभिन्न भागबाट रगत निस्कन थाल्छ । र अन्त्यमा, व्यक्तिको मृत्यु हुन्छ । 

सिमिटको पोस्टमार्टम रिपोर्टअनुसार उनको फोक्सो, आँखा, मुटु, मिर्गौला र मस्तिष्कबाट रगत बगेको थियो । 

‘सिकागो ट्रिब्युन’मा छापिएको खबरमा सिमिटलाई सर्पले टोकेलगत्तै डाक्टरकहाँ जान सल्लाह दिँदा उनले अस्वीकार गर्दै भनेका थिए कि, यसो गर्दा विषले देखाउने लक्षणमा असर पर्न सक्छ । 

कोही भन्छन्, सिमिटको जिज्ञासा र अनुसन्धानप्रतिको मोहले उनको ज्यान लियो । 

अर्काथरी मान्छन्, सिमिट यति प्रतिष्ठत वैज्ञानिक थिए कि उनलाई थाहा थियो, यो विषलाई निस्तेज पार्ने औषधि अफ्रिकामा मात्रै पाइन्थ्यो । यस्तोमा उनले आफ्नो मृत्युलाई स्विकारेका थिए ।

जे होस्, जानकारहरू मादन्छन् कि सिमिट आफ्नो मृत्युलाई सामुन्ने देखेर कत्ति पनि आत्तिएनन्, उल्टो त्यसलाई आत्मसात गरेर एक अनजान बाटोमा अघि बढिरहे । 

  • प्रकाशित मिति : कात्तिक २८, २०७५ बुधबार १७:३३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया