पूर्वदेखि पश्चिमसम्म नेपथ्य यात्रा

काठमाडौं– लोकरक ब्यान्ड नेपथ्यले मुलुकको पूर्वी भेगदेखि पश्चिमी किनारसम्म समेट्ने गरी तराई मधेसका चारवटा सहरको सांगीतिक यात्रा गर्ने भएको छ । 

मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट सुरु हुने यो यात्रा धरान, बुटवल हुँदै कैलालीको धनगढीमा टुंगिनेछ । 

केही समयअघि मात्र काठमाडौं र सिक्किमका दर्शकसामु प्रस्तुत भइसकेको नेपथ्यले आफ्नो स्थापनाको २५औं वर्ष मुलुकका अन्य भागका संगीतप्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो । 

मंसिर ४ गते झापाको बिर्तामोडबाट सुरु हुने यो यात्रा मंसिर ७ गते धरान, १० गते बुटवल हुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ ।

कन्सर्टमा दर्शकहरूका लागि नेपथ्यले नयाँ तथा पुराना सबै लोकप्रिय गीतमध्येबाट प्रस्तुतिका लागि चयन गरेको छ । त्यसबाहेक दसौं एल्बम सार्वजनिक गर्ने तयारीको सँघारमै रहेको ब्यान्डले ताजा गीतहरू पनि आफ्ना स्रोता–दर्शकलाई सुनाउनेछ ।
‘द्वन्द्वका बेला सबैभन्दा बढी बिथोलिएको पश्चिमी भेगमा हामीले धेरैपटक पुगेर कन्सर्ट आयोजना गर्दै संगीतका माध्यमबाट भारी मनहरूलाई हलुका पार्न खोजेका थियौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘त्यति बेला खतरालाई चिर्दै यात्रा गर्ने नेपथ्य अब पनि मुलुकभरका दर्शकहरूसँग निरन्तर जोडिएर अघि बढ्न प्रयत्नरत छ ।’ 

देशको जटिल र सहज सबै परिस्थितिमा देशवासीको साथ पाउँदा आफूलाई खुसी लागिरहेको गुरुङ सुनाउँछन् ।



नेपथ्य यात्राअन्तर्गत सबै ठाउँमा कार्यक्रम बेलुकी पौने ६ बजेदेखि सुरु हुनेछ र कार्यक्रमस्थलका लागि स्थानीय रंगशालाहरू चयन गरिएको छ । नेपथ्यले बिर्तामोडको डोमालाल राजवंशी रंगशाला, धरान रंगशाला, बुटवल रंगशाला (एन्फा टेक्निकल सेन्टर) र धनगढी रंगशालामा प्रस्तुति दिनेछ । 

‘हामीले काठमाडौंभित्र वा वाहिर जता कन्सर्ट गर्दा पनि प्राविधिक हिसाबले दर्शक र श्रोताहरूलाई एकरूपता दिँदै आएका थियौं,’ नेपथ्यको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसपटक पनि कलाकार र प्राविधिकसहितको भ्रमण दलदेखि लिएर अत्याधुनिक साउन्ड सिस्टमसहितको यात्रा यी चारवटै सहरमा गर्नेछौं ।’ 



नेपालयद्वारा व्यवस्थापन गरिने नेपथ्य यात्रा बिर्तामोडमा सहारा नेपालले आयोजना गर्नेछ भने धरानमा ‘एम सी कफी आवर’ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीको संस्था ‘परिक्रमा स्टुडेन्ट्स् फेमिली’ले कन्सर्ट आयोजना गर्दै छन् । 

त्यस्तै वुटवलमा ‘यस नेपाल’ र धनगढीमा ‘दाताज् इभेन्ट’ र ‘द मेन्सन नेपाल’ले कार्यक्रम आयोजना गर्दै छन् । 

यी सम्पूर्ण कन्सर्टमा दर्शकका निम्ति प्रवेश शुल्कमा एकरूपता राख्दै प्रतिटिकट एक हजार रुपैयाँ कायम गरिएको छ । कार्यक्रममा सहभागिता जनाउने महिला दर्शकका निमित्त सुरक्षित स्थानको पनि ब्यवस्था गरिएको छ । 
 

  • प्रकाशित मिति : कात्तिक २९, २०७५ बिहीबार ९:२३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया