भारतसँगको सिमानामा चीनले पठायो क्रुज मिसाइल जडित बमवर्षक विमान

चीनले भारतसँगको सीमामा बमवर्षक विमान परिचालन गरेको विवरण सार्वजनिक गरेको छ । भारतसँग तनाव बढिरहेका बेला चीनको हवाई फौजले दुई देशलाई छुट्टाउने लाईन अफ कन्ट्रोलमा एच–६ के बम्बर तैनाथ गरेको हो । 

एच–६ के बम्बर पहाडहरूमाथि उडाइएको एउटा भिडियो फुटेज चिनियाँ सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । चीनले यसअघि बम्बरहरूलाई सान्सी प्रान्तमा राखेकाेमा पछिल्लो समयमा भारतसँगको विवाद बढेसँगै सिन्जियाङनजिकको कासगरमा तैनाथ गरेकाे छ । तैनाथ गरिएको स्थानमा चिनियाँ जनमुक्ति सेनाको पश्चिम थियटर कमान्ड पर्छ ।

एच–६ के बम्बरमा क्रुज मिसाइलसमेत जडान गरिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले चीन र भारतबीचको सम्बन्ध खराब दिशातर्फ बढिरहेको टिप्पणी गरेको केही दिनमै चीनले अत्याधुनिक हतियार तैनाथ गरेको हो ।

विदेशमन्त्री जयशंकरले यसअघि दुई देशबीच भएका सम्झौता उल्लंघन गरेर चीनले एकतर्फी रूपमा सीमामा बस्ती बसालेको आरोप लगाएका थिए । 

गत जुनमा चीन र भारतका सेनाबीच गालवान उपत्यकामा दोहोरो झडप भएको थियो । झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । झडपमा चार जना चिनियाँ सेना पनि मारिएका थिए । सीमा विवाद बढिरहेका बेला चीनले भुटानी भूमिमा एउटा बस्ती बसालेको विवरण यसै साता सार्वजनिक भएको थियो । 

चीनको सैन्य विकासम्बन्धी एक विज्ञले सार्वजनिक गरेको स्याटलाइट तस्विरमा चीनले भारत र भुटानको सिमानजिकै १०० वर्ग किलो मिटर क्षेत्रमा नयाँ घरहरू बनाएको देखिएको थियो । सो क्षेत्र सन् २०१७ मा चीन र भारतीय सेना आमनेसामने भएको क्षेत्र दोक्लामनजिक पर्छ। 





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ९:२८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया