सिंहदरबारआडैको वैद्यखानाको बेवास्ता, भारतीय पतञ्जलिलाई जग्गाकाे व्यवस्था !

प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलि योगपीठलाई नेपालमा उद्योगधन्दा खोल्न सरकारले जग्गा उपलब्ध गराउने घोषणा गरेपछि सो घोषणको चौतर्फी आलोचना सुरु भएको छ । भारतीय योगगुरु रामदेवले नेपालमा आयुर्वेदिक क्षेत्रमा लगानी गर्न पहिलेदेखि नै चाहेका हुन् । अढाई वर्षअघि उनले नेपाल संस्कृत विश्वविद्यालयको दाङमा रहेको जग्गा लिजमा लिन सम्झौता गरिसकेका थिए । संस्कृत विश्वविद्यालयका तत्कालीन उपकुलपति डा. कुलप्रसाद कोइराला भारत भ्रमणमा गएका बेला भएको उक्त सम्झौता विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी र स्थानीयको विरोधका कारण कार्यान्वयनमा आउन सकेको थिएन । 

उनै रामदेवले अहिले प्रधानमन्त्री शेरबहादुर देउवासँग जग्गा उपलब्ध गराउन माग गरेपछि देउवा त्यसमा राजी देखिएका छन् । सोहीअनुरुप देउवाले नेपाल सरकारले पतञ्जलिलाई जग्गा उपलब्ध गराउने घोषणा गरेका हुन् । 

भारतीय सञ्चारमाध्यमकोे दाबीलाई आधार मान्ने हो भने पतञ्जलिले नेपालमा एक खर्ब भारतीय रुपैयाँ (१ खर्ब ६० अर्ब नेपाली रुपैयाँ) लगानी गर्न खोजिरहेको छ । त्यसका लागि दुईवटा टेलिभिजन खोल्ने र आयुर्वेदिक औषधि उत्पादन तथा प्रशोधन केन्द्र खोल्ने योजना छ । 

पतञ्जलिलाई जग्गा प्राप्तिमा केही समस्या भएको उल्लेख गर्दै जग्गाप्राप्तिका लागि देखिएको समस्या समाधान गर्न नेपाल सरकार तयार रहेको भनाइ प्रधानमन्त्रीको थियो । 

नेपालमा विदेशी लगानी भित्रिनु नराम्रो कुरा होइन । तर, नेपालमै ३८० वर्ष पहिला स्थापना भएको सिंहदरबार वैद्यखानको अस्तित्व नै लोप हुनेगरी सोही प्रकृतिको अर्को विदेशी संस्था नेपाल भित्रिन अनुमति दिनु गम्भीर विषय भएको भन्दै चौतर्फी आलोचना सुरु भएको हो ।
 
प्रधानमन्त्री देउवाले रामदेवको टेलिभिजन उद्घाटन गर्दैै भनेका थिए, ‘एउटा कुरा रामदेव बाबाजीले नेपालमा धेरै काम गर्न खोज्नुभएको छ । नेपालमै आयुर्वेदिक औषधि उत्पादन गर्ने चाहना राख्नुभएको छ । त्यसका लागि नेपाल सरकारले सहयोग गर्नेछ । ननप्रोफिट कामका लागि नेपाल सरकारको जहिले पनि सहयोग रहनेछ । उहाँलाई जे–जे आवश्यकता हुनेछ, हामीले पूरा उपलब्ध गराउनेछौँ । आयुर्वेदका लागि प्लान्ट लगाउने कुरा होस् या परीक्षण गराउने कुरा । त्यसका लागि उहाँलाई केही समस्या भएको थाहा पाएँ मैले, ननप्रोफिट व्यवसायका लागि नेपाल सरकारले उहाँलाई जग्गा उपलब्ध गराउनेछ ।’

यसरी विदेशी लगानीलाई नेपालमा भित्र्याउन सरकार नै सक्रिय हुँदा नेपालमा भएका त्यहीसँग सम्बन्धित उद्योगधन्दाको अवस्था कस्तो छ ? भन्नेबारे सरकार बेखबर पक्कै छैन । तर अहिले थाहा नपाएझैँ गरेको छ । 



प्रधानमन्त्री देउवाको कार्यालय सिंहदरबारनजिकै छ– सिंहदरबार वैद्यखाना । ३८० वर्ष पुरानो सिंहदरबार वैद्यखानाले आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको छ । कुनै समय एक सयभन्दा बढी औषधि उत्पादन गर्ने वैद्यखाना यतिबेला भने संकटमा छ । सरकार भने आफ्नै देशमा भएको स्वदेशी कम्पनीलाई प्रोत्साहन गर्नुको साटो विदेशी लगानी भित्र्याउन खोजिरहेको छ । 

कस्तो छ वैद्यखानाको अवस्था ? 



शासक र भाइभारदारको उपचार गराउने उद्देश्यले मल्लवंशी राजा प्रताप मल्लले १६९८ सालमा आयुर्वेदिक औषधि उत्पादन गर्न वैद्यखानाको स्थापना गरेका थिए । शाहीकालीन शासनकालमा यो वैद्यखाना हनुमानढोकामा सारिएको थियो । पछि राणा प्रधानमन्त्री जंगबहादुर राणाले थापाथलीमा सारेका थिए । राणा प्रधानमन्त्री चन्द्रशम्सेरले सिंहदरबारमा सारेपछि यसको नाम सिंहदरबार वैद्यखाना राखिएको थियो ।

मल्लकालीन राजाहरूले यौन शक्ति बढाउने खालको आयुर्वेदिक औषधि उत्पादन गर्नका लागि वैद्यखानाको स्थापना गरेका थिए । २००७ सालमा प्रजातन्त्रको स्थापनापछि उक्त वैद्यखानाबाट उत्पादन भएका औषधि सर्वसाधारणले समेत किन्न पाउन थालेका थिए । त्यसअघि भने राजा–रजौटाका लागि मात्र उत्पादन हुन्थ्यो । 

३८० वर्षको इतिहास बोकेको वैद्यखानाले २०५२ सालसम्ममा १८५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको थियो । त्यही बेला सरकारले सिंहदरबार वैद्यखाना विकास समिति बनायो । समिति बनेपछि पनि १०० प्रकारका आयुर्वेद औषधि उत्पादन गर्दै आएको थियो । 

त्यो बेला वैद्यखानाका उत्पादन च्यावनप्रास, शिलाजितलगायत आयुर्वेदिक औषधि अधिक बिक्री हुन्थे । तर, अहिले भने वैद्यखानाले २० देखि २५ प्रकारका मात्र औषधि उत्पादन गर्दै आएको छ । 

अहिले देशभर ३८० वटा आयुर्वेद संस्थाहरू र दुईवटा आयुर्वेद चिकित्सालय सञ्चालनमा छन् । ती सबै रूग्ण अवस्थामा छन् । यी संस्था आयुर्वेदिक औषधि उत्पादन गर्ने, उपचार गर्ने त कता हो कता आफैँ थला परेका छन् । 

कुनै समयमा सिंहदरबार वैद्यखानाको प्रभाव गाउँ–गाउँसम्म थियो, तर अहिले यसको महत्व आडैमा रहेका प्रधानमन्त्रीले पनि बुझ्न सकेका छैनन् । 

नेपालमा पछिल्लो समय विदेशी कम्पनीको प्रभाव बढ्दै गएको छ । २०७३ सालमा बारा जिल्लामा रामदेवले पतञ्जलि ब्राण्डको आयुर्वेदिक औषधि उत्पादन गर्ने कम्पनी खोलेका थिए । त्यसपछि भने सिंहदरबार वैद्यखाना ओरालो लाग्न थाल्यो ।

वैद्यखानाले वार्षिक लगभग तीन करोडबराबरको कारोबार गर्दै आएको छ । वैद्यखानाका प्रबन्ध निर्देशक डा. सवरी साहले बजेट अभावमा सोचेअनुसार काम गर्न नसकेको बताए । 
अहिले सिंहदरबार वैद्यखाना विकास समितिबाट अभिपत्तिकर चूर्ण, भेनवास्टर, महायोजारखुल, महानारायण तेल, पुस्यारकपुण, विंगदासक, सर्पगन्धा, निबवादी चूर्ण, खतिरादीपरी, योगराज खुकुल, महासुठरसन, चन्द्रपझबुटीलगायत औषधि मात्रै उत्पादन हुने गरेको साहले बताए । बजेटकै अभावमा वैद्यखानाले विगतमा उत्पादन गर्दै आएका औषधि उत्पादन गर्न नसकेको उनले बताए । 

शिलाजित, चेवनप्रास र तुलसी चियालगायत औषधिलाई वैद्यखानाले प्राथमिकतामा राखेको छ । यस्तै, यहाँ बन्ने शिलाजित अन्तर्राष्ट्रिय रूपमा नै गुणस्तरीय रहेको उनले बताए ।

यस्तै यौनबद्र्धक औषधिहरू अश्वगन्धा चूर्ण, पूर्णचन्द्रदयारस, बाजीकर र स्पेसल चेवनप्राससमेत उत्पादन गर्दै आएको छ । अहिले जडीबुटीको अभाव, आवश्यक बजेटको कमी, मौसमलगायत कारणले त्यस्ताखालका औषधि उत्पादन गर्न नसकिएको उनको भनाइ छ । 

अहिलेका औषधि मल्लकालीन, शाहकालीन तथा राणाकालीन अवस्थाको जस्तो गुणस्तरीय नरहेको उनको स्वीकारोक्ति छ । यसका लागि विज्ञहरूको समेत अभाव रहेको उनको भनाइ छ । 
काठमाडौंका एक दर्जनभन्दा बढी पुराना भवनमा सञ्चालित वैद्यखानाले आधुनिक स्रोत र प्रविधिको प्रयोग गर्न नसक्दा समस्या भइरहेको उनको भनाइ छ । 

कम्पनी लिमिटेडको अवस्था झन् बेहाल 

वैद्यखाना मात्र होइन, जडीबुटीको संकलन, खेतीपाती र प्रशोधन गर्न खोलिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको पनि अवस्था उस्तै छ । सरकारले २०३८ सालमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थापना गरेको थियो । तर, जडीबुटी खोजेर उत्पादन तथा प्रशोधन गर्नुपर्ने कम्पनी आफैँ बिजोग अवस्थामा छ । 
 
चार ठाउँमा जडीबुटीको खेती लगाउँदै आएको उक्त कम्पनीले सन्चोलगायत विभिन्न हर्बल तेलहरु उत्पादन गर्दै आएको छ । कम्पनी आफ्नो खर्चसमेत व्यवस्थापन गर्न नसक्ने अवस्थामा छ । 

सरकार नेपाली कम्पनीलाई नै प्रोत्साहन तथा प्रबद्र्धन गर्नुका साटो विदेशी कम्पनीलाई प्रश्रय दिनतिर लागेको छ । यसैकारण स्वदेशी कम्पनीलाई बेवास्ता गर्दै पतञ्जलिलाई जग्गा दिने प्रधानमन्त्रीको घोषणापछि सर्वत्र चर्को आलोचना भइरहेको छ । स्वदेशी कम्पनीलाई टाट पल्टाएर विदेशी कम्पनीलाई भित्र्याउन नहुनेमा उनीहरूको जोड छ । 

  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १८:४८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया