सरसफाइ कर्मचारीले एक वडाध्यक्षमाथि दुर्व्यवहार गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरूले नगर प्रमुखको कार्यकक्षमा ताला लगाएका छन्।
जनकपुरधाम उपमहानगरपालिका- ४ का वडाध्यक्ष सुदर्शन सिंहलाई सरसफाइ कर्मचारीले गाली गलौज गर्दै दुर्व्यवहार गरेपछि वडाध्यक्षहरूले नगर प्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
वडाध्यक्ष सिंहले भने, ‘वडा नम्बर-४ स्थित कर्मचारी सञ्चय कोषको कार्यालय नजिक एउटा गाई मरेको थियो । मैले त्यो गाई हटाई दिन सफाइ कर्मचारीसँग आग्रह गरेँ । उसले त्यो गाई हटाउनुको साटो उल्टै गाली गलौज गर्न थाल्यो ।’
उनले नगर प्रमुख लालकिशोर साहकै इशारामा सफाइ कर्मचारीले जनप्रतिनिधिलाई समेत दुर्व्यवहार गर्ने गरेको आरोप समेत लगाए ।
नगर प्रमुख साह नगर सरसफाइ गर्नका लागि गम्भीर नभएकाे र जनप्रतिनिधिलाई नै गाली गलौज तथा दुर्व्यवहार गर्न थालेपछि बाध्य भएर उपमहानगरको कार्यालयमा तालाबन्दी गर्नु परेको वडा नम्बर-७ का वडाध्यक्ष जानकीराम साहले बताए ।
उपमहानगरमा वडा नम्बर-१ का वडाध्यक्ष शत्रुधन साह , वडा नम्बर-३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर-४ का वडाध्यक्ष सुदर्शन सिंह, वडा नम्बर-७ का वडाध्यक्ष जानकीराम साह लगायतका वडाध्यक्षहरू तालाबन्दीका लागि पुगेका थिए ।
वडाध्यक्षहरूले नगर प्रमुख साहविरुद्ध नारावाजी समेत गरेका थिए । दुर्व्यवहार गर्ने कर्मचारीलाई कारबाही गर, नगर प्रमुखले नैतिकताको आधारमा राजीनामा दे, जनकपुरधाम सफाइ गर लगायतका नारा लगाएका थिए ।
आफूहरूको माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।