भर्चुअल ब्रमाण्ड : मेटाभर्स के हो ? यसले कसरी काम गर्छ ?
फरकधार / ६ मंसिर, २०७८

कम्प्युटरको संसारमा पहिला सबैभन्दा बढी ‘टेक्स्ट कन्टेन्ट’ हुन्थे, जसलाई किबोर्ड मार्फत टाइप गरिन्थ्यो । कम्प्युटरपछि इन्टरनेट आयो । इन्टरनेटले संसारलाई सानो डब्बा भित्र समेट्यो । त्यसपछि मोबाइलको आगमन भयो, जसमा जडान गरिएको क्यामराले विश्वलाई अझ साँगुरो बनाइदियो । 



मोबाइलकै कारण विश्वमा इन्टरनेटको प्रयोग तिव्र गतिमा अघि बढ्यो । जसले इन्टरनेटको गति बिस्तारै बढाउँदै लग्यो । इन्टरनेट स्पीड बढ्ने वित्तिकै भिडियोको प्रयोग बढ्यो ।  

छोटो अवधिमा हामी डेस्कटपबाट वेब हुँदै मोबाइल र टेक्स्ट कन्टेन्टबाट फोटो हुँदै भिडियोको संसारमा पुगेका छौं । अब प्रश्न उठेको छ– यो प्रविधिको अन्त हो ? यदि होइन भने यसभन्दा पछि के आउला त ? 

यी प्रश्नको जवाफ फेसबुकका संस्थापक मार्क जुकरबर्गले दिएका छन्– मेटाभर्स । उनकै शब्दमा मोबाइल इन्टरनेटको अर्को पुस्ता ‘मेटाभर्स’ हुनेछ । 



बास्तविकता

​प्रविधिको संसारमा प्रवेश पाएको पछिल्लो शब्दावली हो– मेटाभर्स । 

मेटाभर्स भनेको के हो त ? फेसबुक, माइक्रोसफ्ट जस्ता कम्पनी किन यो बनाउन लागिपरेका छन् ? यसले संसारको अर्थव्यवस्थामा कस्तो प्रभाव पर्ला ? 
सबैभन्दा पहिला बुझ्न जरुरी यो छ– मेटाभर्स भनेको ‘भर्चुअल रियालिटी’ हो अर्थात यो ‘अगमेन्टेड रियालिटी’मा आधारित छ । 

बिभिन्न अनुसन्धानकर्ता तथा कम्पनीको सहयोगमा यसको निर्माण गर्न वर्षौं लाग्नसक्छ । यसको निर्माणको लागि नयाँ कम्पनीहरु पनि आउने सम्भावना छ । 

यसको महत्व कति छ भन्ने फेसबुकले देखाइसकेको छ । फेसबुकका सिइओ मार्क जुकरबर्गले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा प्लेटफर्म इन्क’ राखेका छन् । मेटा ‘मेटाभर्स’को छोटकरी रुप हो । 

क्रान्तीकारी परिवर्तन 

मेटाभर्स भनेको वास्तविक जीवनलाई भर्चुअल रुपमा थ्रीडीमा प्रस्तुत गर्ने प्रविधि हो । जुकरबर्गले यसलाई ‘भर्चुअल वातावरण’ भनेका छन् । यो प्रविधिको सहयोगमा प्रयोगकर्ताले कुनै भिडियो स्क्रिनमा हेर्ने मात्र होइन भर्चुअल रुपमा त्यसभित्र प्रवेश गरी भेटघाट, खेल्न र काम गर्न सक्नेछ । 

जानकारहरु यो कुरामा एकमत छन् की कुनै एक कम्पनी पुरै साइबर वर्ल्ड बनाउन र त्यसलाई चलाइरहन सक्षम हुने छैनन् । 

ब्लूमबर्ग इन्टेलिजेन्सको अनुमान छ सन् २०२४ सम्म मेटाभर्सको बजार ८ अर्ब डलरसम्मको हुनेछ । 

अमेरिकाले मेटाभर्सलाई अँगाली सकेको छ । बैंक अफ अमेरिकाले मेटाभर्सलाई ती १४ प्रविधिको सूचीमा राखेको छ जसले हाम्रो जीवनमा क्रान्तिकारी परिवर्तन ल्याउँदै छन् । 

बैंक अफ अमेरिकाले हालै सार्वजनिक गरेको एक प्रतिवेदन ‘द फोर्टिन टेक्नोलोजी द्याट विल रिभोलुसनाइज आवर लाइभ्स’ मा लेखिएको छ, ‘मेटाभर्समा अनगिन्ती भर्चुअल संसार हुनेछन् र यसले एकअर्कालाई वास्तविक संसारसँग जोडि रहनेछन् ।’ 

‘लामो समयदेखि चल्दै आएका उद्योग तथा बजार, बैंक तथा वित्त, रिटेल, शिक्षा, स्वास्थ्यका साथसाथै ‘एडल्ट बिजनेस’मा पनि मेटाभर्सले परिवर्तन ल्याउने छ । तपाईं व्यस्त वा फुर्सद जस्तो अवस्थामा भए पनि यसको आवश्यकता पर्नेछ,’ प्रतिवेदनमा उल्लेख छ । 

धेरै प्रविधि पण्डितहरूले आगामी दिनमा मेटाभर्सको उपस्थित दमदार हुनेमा शंका गरेका छैनन् । गुगलका इन्जिनियर निर्देशक रेमण्ड कुर्जवेल भन्छन्, ‘यो दशकको अन्तमा अर्थात २०३० मा हामी वास्तविक संसारमा भन्दा मेटाभर्समा बढी समय बिताउनेछौँ ।’

पुरै नयाँ होइन 

मेटाभर्स पूर्ण रुपमा नयाँ प्रविधि भने होइन । यो विकसित हुँदै आएको प्रविधि हो । धेरै अनलाईन भिडियो गेमहरू भर्चुअल संसारसँग दशकौँ अघि देखि जोडिँदै आएका छन् । ती गेमहरू मेटाभर्स होइनन्, तर धेरै चिज मेटाभर्ससँग मिल्छन् । 

‘मेटाभर्स नयाँ होइन । यसमा गरिन थालिएको लगानी मात्र नयाँ हो र जसरी मानिसहरुले यसलाई स्वीकारेका छन् त्यो नयाँ हो,’ लगानी तथा विश्लेषक कम्पनी विस्डम ट्रीका निर्देशक बेन्जामिन डीनले भने । 

मेटाभर्सको विकासक्रमलाई उनले थप स्पष्ट पारे, ‘प्रविधि निकै तिव्र गतिमा विकास भइरहेको छ । अहिले विकसित देशका ५० प्रतिशतभन्दा बढीले इन्टरनेट युगभन्दा अघिको जीवन कस्तो थियो भन्ने भुलिसकेका छन् । यस्ता  ठूला परिवर्तन ती देशमा हुनेछ जहाँ सबैभन्दा बढी स्मार्ट फोनको प्रयोग हुनेछ ।’ 

डीनले एक दशकअघि प्रविधिको विकासक्रमलाई ‘भर्चुअलाइजेसन अफ वर्ल्ड’ नाम दिएका थिए । 

फेसबुकका संस्थापक जुकरबर्ग मेटाभर्सको प्रयोग सबै क्षेत्रमा गर्न सकिनेमा विश्वस्त छन् । उनले भनेका छन्, ‘पार्टी चलिरहेको बेला, अफिसमा काम गरिरहेको बेला या आमा बुबासँग कुरा गर्दाको बेला तपाई सजिलै मेटाभर्सको डिजिटल संसारमा रहन सक्नुहुनेछ ।’ 

आज जुन भर्चुअल रियालिटीको प्रयोग विशेषगरी भिडियो गेममा गरिदै आइएको छ मेटाभर्समा त्यसभन्दा बढी मनोरञ्जन, गेम, कन्सर्ट, फिल्म, रोजगार, शिक्षा जस्ता क्षेत्रहरु अटाउने छन् । 

कन्सर्ट र मनोरञ्जन 

एरियाना ग्राण्डे, मार्शमेलो तथा र्यापर ट्रैविस स्काट सबै अनलाइन भिडियो गेम फोर्टनाइटमा देखिएका छन् । त्यहाँ मेटाभर्समा कन्सर्ट जस्ता कार्यक्रमको भविष्य कस्तो हुन्छ भन्ने देखाइएको छ । 

गत वर्षको अप्रिलमा ट्रैविस स्काटले किड क्यूडीसँग लेखेको गीत रिलिज गर्दा रियल टाइम भिजिटर्सको संख्या १ करोड २३ लाख थियो । 

भिजिटर्सको संख्या ठूलो देखेपछि वाल्ट डिज्नीका सीइओ बाब चापेकले थीम पार्कलाई भर्चुअल रियालिटीको संसारमा ल्याउने तयारी गरेका छन् । 

‘जेनेरेसन जेडले यो परिवर्तनलाई देख्नेछन् । उनीहरुले मेटाभर्र्स तथा होलोग्राम्सको प्रयोग देख्नेछन् । उनीहरुले भर्चुअल संसारमा धेरैभन्दा धेरै सामाग्री बनेको देख्न पाउने छन् र यसले पुरै उद्योगलाई फाइदा हुनेछ,’ मेटाभर्सको भविष्यबारे बैंक अफ अमेरिकाले आफ्नो रिपोर्टमा भनेको छ । 

फिल्म उद्योग (डिज्नी), टेलिभिजन (डिस्कभरी च्यानल), खेल (फक्स स्पोर्टस), म्युजिक (युनिभर्सल म्युजिक ग्रुप, लाइभ नेसन), ओटीटी (नेटफ्लिक्स), न्युजपेपर (न्युयोर्क टाइम्स)ले थ्रीडीको प्रयोग गर्न थालिसकेका छन् । 

भर्चुअल उपस्थिती 

कोरोना महामारीले संसारलाई ठप्प बनायो । कोरोनाले रोक्न नसकेको एउटै चीज थियो– भर्चुअल संसार वा भर्चुअल काम । महामारीको बेला बिभिन्न प्रविधिको प्रयोग मार्फत कार्यालयको काम भइ नै रहे । 

फेसबुकमा पनि कार्यालयको परिकल्पना गरिएको छ जहाँ एक मिटिङ रुम छ । सो रुममा भर्चुअल बैठकको आयोजना गर्न सकिन्छ । कम्प्युटर, ल्यापटप तथा मोबाइल मार्फत भर्चुअल बैठकमा सहभागी हुन सकिन्छ । यस्तो कार्यालयको व्यवस्था गर्ने फेसबुक एक्लो भने होइन । 

माइक्रोसफ्टले हालै आफ्नो टिमको लागि मेटाभर्स तयार गरिरहेको छ । महामारीको समयमा भर्चुअल माध्यमको प्रयोग धेरैले गरे । खासगरी भर्चुअल मिटिङ धेरै भए । भर्चुअल कार्यालयले महामारीको समयमा धेरैको रोजगारी जोगायो ।  

चुनौती के छन् 

मेटाभर्सले कसरी काम गर्छ भन्ने हेर्न बाँकी नै छ । आइबीएमका पूर्व इन्जिनियर थोमस फ्रेका अनुसार इन्टरनेट पूर्वाधार, रियल टाइममा धेरैभन्दा धेरै आपसमा कुराकानी गर्ने शैली, भाषाको अवरोध, वेब पेज खुल्न लाग्ने समय नै हाल देखिएका मेटाभर्सका चुनौती हुन् । 

यी चुनौतीको सामाना गर्न कम्प्युटर ग्राफिक कार्ड, भिडियोलाई मजबुत बनाउन आवश्यक छ । अहिले यी चुनौती हटाउनको लागि एनवीडीए, एमएमडी र इन्टेल जस्ता कम्पनी काम गरिरहेका छन् । 

मेटाभर्सको प्रयोगबाट क्रान्तिकारी परिवर्तन आउने अर्को क्षेत्र हो– शिक्षा । यसले पढाउन सजिलो हुनेछ । विद्यार्थीको मनोविज्ञान बुझ्न पनि यसले सघाउने छ । भर्चुअल क्याम्पस र विश्विद्यालय बनाउँदा विद्यार्थीको संख्या बढ्ने अनुमान गरिएको छ । (बिबीसी) 

  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १६:७:४१,   अन्तिम अपडेट : मंसिर ६, २०७८ साेमबार १६:१४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया