प्रविधिमा फड्को मार्न चीन र भारतको सिको गर्न जरुरी : शिक्षामन्त्री पाैडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएको बताएका छन् । नास्टको सहकुलपति समेत रहेका मन्त्री पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएकाले दूरदराजमा पनि प्रविधिको पहुँच पुर्याउनुपर्ने बताएका हुन् । 

सोमबार निरीक्षणका लागि नास्टको कार्यालयमा पुगेका मन्त्री पौडेलले आजको युगसुहाउँदो विकासमा अघि बढ्न शिक्षा, सिकाइ र शिक्षण प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।  

नेपालमा युवा वैज्ञानिकको उत्साह देखिएको बताउँदै उनीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन नास्टलाई उनले निर्देशन दिए । मन्त्री पौडेलले भने, ‘आजको युग विज्ञान तथा प्रविधिको युगको हो, यसलाई देशका कुनाकन्दरामा रहेका जनताको पहुँचमा लैजानुपर्छ ।’

नजिकैका दुई मित्र राष्ट्र चीन र भारतले प्रविधिमा फड्को मारेको उदाहरण दिँदै उनले नेपालले पनि उनीहरुको सिको गर्नुपर्ने बताए । मन्त्री पौडेलले अन्य राष्ट्रसँग समन्वय गरी नास्टले जनपक्षीय काम गर्नेपर्नेमा जोड दिए ।  

बजेटको अभाव, कर्मचारी व्यवस्थापन, कर्मचारीको वृद्धि विकासका समस्यामा आफू जानकार रहेको बताउँदै उनले समस्या हल गर्ने उपायसहित मन्त्रालयमा आउन निर्देशन दिए ।  
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादवले विज्ञान र प्रविधि विना देश समृद्धि नहुने बताइन् । नास्ट काठमाडौंमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रमा पनि लैैजानुपर्नेमा उनले जोड दिइन् । 

नास्टका उपकुलपति डा.सुनीलबाबु श्रेष्ठले ७ वटै प्रदेशमा नास्टको कार्यालय स्थापनाको तयारी गरिएकोे जानकारी दिए । विज्ञान सिटीको अवधारणाअनुसार बजेटको व्यवस्था भए त्यसलाई कार्यान्वयमा लैजाने उनले बताए । 
 





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १८:४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया