काठमाडौंमा बढ्दो महिला हिंसा

काठमाडौं– महिला हिंसामा काठमाडौं अगाडि देखिएको छ । देशका अन्य भागमा भन्दा काठमाडौंमा अत्यधिक महिला हिंसा हुने गरेको राष्ट्रिय महिला आयोगको तथ्यांक छ । आयोगको हेल्पलाइन सर्भिसमा सबैभन्दा धेरै उजुरी काठमाडौंबाट आएका छन् ।

आयोगको रिपोर्टअनुसार हेल्पलाइन सर्भिसमा सबैभन्दा धेरै ४८ प्रतिशत उजुरी काठमाडौंबाट आएको देखिन्छ ।

रिर्पोटअनुसार ललितपुरबाट ९ प्रतिशत, भक्तपुरबाट ५ प्रतिशत र अन्य जिल्लाबाट ३५ प्रतिशत उजुरी हेल्पलाइन सर्भिसमा आएका छन् । हिंसाको सिकार हुनेमा २६ देखि ४० वर्ष उमेर समूहका महिला धेरै छन् । यो उमेर समूहका ५५ प्रतिशत महिलाले हिंसाको सामना गर्नुपरेको आयोगको रिर्पोटले देखाएको छ ।

महिलाहरूले सामना गर्ने हिंसामा मूलतः शारीरिक, मानसिक र आर्थिक हिंसा छन् । जसमा, ३६ प्रतिशत मानसिक हिंसा, ३० प्रतिशत आर्थिक हिंसा र २४ प्रतिशत शारीरिक हिंसा भएको देखिन्छ ।

आयोगले गत मंसिरमा ‘खबर गरौँ’ भन्ने नारासहित निःशुल्क हेल्पलाइन नम्बर सञ्चालनमा ल्याएको थियो । उक्त हेल्पलाइनमा अहिलेसम्म ५० हजार जनाले १ हजार ८४ वटा उजुरी दर्ता गराएका छन् । आयोगको हेल्पलाइनमा आएका फोनमध्ये आयोगले १५ सय १ जनालाई विभिन्न परामर्श दिएको छ ।

फोनमार्फत उजुरी गर्नेमा विवाहित महिला धेरै छन् । आयोगमा आएका कुल फोनमध्ये ८४ प्रतिशत विवाहित महिलाबाट आएको छ । हेल्पलाइनबाट आएका ११ सय ६४ उजुुरीको आयोगले प्रहरीमा केस फाइल गरेको छ ।



बलात्कारका ३६ र शारीरिक दुर्व्यवहारका ७ सय २६ केस दर्ता भएका छन् । दाइजोका विषयमा हुने हिंसाका २२ केस दर्ता भएका आयोगले बताएको छ ।

पूर्ण तथ्यांक मान्न सकिन्न



महिला अधिकारकर्मी अर्चना थापा आयोगको उक्त तथ्यांकसँग सहमत छैनन् । उनका अनुसार देशभरका पीडित महिला आयोगको हेल्पलाइनमा आबद्ध हुन सकेका छैनन् ।

‘फोनबाट उजुरी गरेको आधारमा मात्र काठमाडौंका महिला सबैभन्दा पीडित छन् भन्न सकिँदैन,’ फारकधारसँगको कुराकानीमा थापाले भनिन्, ‘दूरदराजका महिला, जो शिक्षा र सञ्चारको पहुँचबाट पर छन्, उनीहरू यो तथ्यांकमा समेटिएका छैनन् ।’

थापाका अनुसार नेपालका ग्रामीण भेगका कतिपय महिला आफू हिंसामा परेको हो÷होइन भनेर खुट्याउन नसक्ने अवस्थामा छन् ।

‘आफू हिंसामा परेको थाहा पाएर पनि कसरी उजुर गर्ने भन्ने सवालमा वास्तविक पीडित आयोगको सेवासँग जानकार नहुन सक्छन्,’ थापा भन्छिन्, ‘अथवा पीडितमा किन उजुरी गर्नुपर्यो ? भन्ने मानसिकता हाबी भएको पनि हुन सक्छ ।’

काठमाडौंका महिला शिक्षित र सञ्चारको पहुँचमा भएकाले उनीहरूले आफूमाथि भएको हिंसाको प्रतिकार गर्न सकेका हुन् ।

थापाकै भनाइ मान्ने हो भने फोनबाट आएको उजुरीका आधारमा मात्रै काठमाडौंका माहिला सबैभन्दा बढी हिंसामा परेका छन् भन्न सकिँदैन । यद्यपि, काठमाडौंका महिला पनि हिंसामा परेकाचाहिँ हुन् ।

  • प्रकाशित मिति : कात्तिक २९, २०७५ बिहीबार १८:८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया