झन्डै सात वर्षअघि अभिनेत्री नीता ढुंगानाले अभिनय गरेको चलचित्र ‘भूलभूलैया’ प्रदर्शनको तयारीमा थियो । चलचित्रको प्रचारका लागि निर्माण टिमले गरेको पत्रकार सम्मेलनमा नीताले आमेश भण्डारीको गालामा चुम्बन गरिन् ।
आमेश र नीताको जोडीलाई लिएर दिनेश डिसीले चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ बनाए । सार्वजनिक रुपमै नीताले आमेशलाई ‘माई लभ’ भनेर चिनाइन् । त्यसपछि नीता र आमेशको जोडी तस्बिरले सानादेखि ठूला मिडियामा राम्रै स्थान पाए । चलचित्र प्रचारका नाममा नीता र आमेशका प्रेमका नयाँ–नयाँ किस्सा सार्वजनिक भए । चलचित्र रिलिजको मिति जति नजिकिँदै जान्थ्यो, आमेश र नीताको प्रेम त्यति नै धेरै छताछुल्ल हुँदै जान्थ्यो ।
नीताको प्रेमी भएकै कारण फिल्ममा डेब्यु गरेका आमेशको डेब्यु फिल्मले हावा खायो । फिल्म फ्लप भएसँगै यो जोडीको प्रेमलीला पनि सकियो ।
आमेशको फिल्मी करिअर त्यहीँ ब्रेक लाग्यो । नीता र आमेशको प्रेमलाई हाइलाइट गरेर दिनेश डिसीले निःशुल्क फिल्म प्रदर्शन गरे । फिल्म नचलेपछि नीता र दिनेश दुवैले आमेशको साथ छाडे । फिल्मवृत्तमा आमेशको चर्चा सेलाइसकेको छ । नीता भने अहिले ज्योतिषी हरिहर अधिकारीको प्रेममा रंगिरहेकी छिन् ।
हेमराज बिसीको चलचित्र ‘जेरी’मा अनमोल केसी र आना शर्माले स्क्रिन सेयर गरे । फिल्म सुटिङको क्रमबाटै नजिकिएका आना र अनमोल पनि फिल्मको प्रचारताका प्रेममा रहेको चर्चा सुरु भयो । अनमोल र आनाको प्रेम चर्चा पनि फिल्म प्रदर्शनसँगै सेलाएर गयो ।
एक समय अभिनेता संयम पुरी र आश्मा डिसीको प्रेमलाई लिएर सिने बजार निकै गर्माएको थियो । चलचित्र ‘आभाष’ प्रदर्शनताका यो जोडीको प्रेम हटकेक नै बनेको थियो । उनीहरुको ब्रेकअपको खबर सार्वजनिक हुन पनि लामो समय लागेन ।
चलचित्र ‘लभसब’ रिलिजताका सलोन बस्नेत र करिश्मा श्रेष्ठको प्रेमले चर्चा पायो । सलोनलाई हरेक पत्रकार सम्मेलनदेखि व्यक्तिगत भेटघाटमा पनि करिश्मा मेरी प्रेमीका होइनन् भनेर जवाफ फर्काउँदै फुर्सद भएन । सलोन जति स्पष्टीकरण दिन्थे, त्यति नै उनीहरुको जोडी गसिपको पात्र बन्थ्यो ।
नयाँ कलाकार मात्रै होइन, चलचित्र प्रचारका लागि प्रेमको फण्डा गर्ने लिस्टमा पुराना कलाकार पनि छन् । चलचित्र ‘रामप्यारी’ प्रदर्शनताका अभिनेत्री रेखा थापा र सुदर्शन गौतमको प्रेम निकै चर्चामा रह्यो । रेखा र सुदर्शनको प्रेमले ‘रामप्यारी’को प्रचारमा राम्रै टेवा पुर्यायो । उनीहरु थुप्रै मिडियामा एकसाथ अन्र्तवार्ता दिन पुगे । लामो समयदेखि अमेरिकामा बसोवास गर्ने सुदर्शनलाई लिएर रेखाले ‘हिम्मतवाली’ नामक चलचित्र पनि बनाइन् । तर, उनीहरुको प्रेम पनि ‘हिम्मतवाली’बाट अर्कोमा सर्न सकेन ।
चलचित्र ‘चंखे शंखे पंखे र अझै पनि’मा एकसाथ काम गरेपछि निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माको प्रेम झांगियो । त्यसपछि पूजा र सुदर्शनले केही चलचित्रमा निर्माणमा समेत सहकार्य गरे । सुदर्शनसँगै प्रेममा रहँदा पनि प्रत्येक चलचित्रका हिरोसँग पूजाको नाम जोडियो । चलचित्रअनुसार पूजा कहिले पल शाहको प्रेममा परिन् त कहिले आकाश श्रेष्ठको । नाम जोडिएका अभिनेतासँग मात्रै होइन, लामो समय सहकार्य गरेका निर्देशकसँग पनि पूजाको प्रेम टिकेन । सुदर्शनले अर्की मोडल सुप्रिया कटवालसँग घरजम जोडेपछि अहिले पूजा एक्ली छिन् ।
चलचित्र ‘नाइँ नभन्नू ल ४’मा सँगै काम गरेका पल शाह र आँचल शर्माको प्रेमले पनि राम्रै चर्चा पायो । त्यसपछि यो जोडीले केही म्युजिक भिडियो तथा फिल्ममा सँगै काम गरे । थुप्रै मिडियामा पल र आँचलको सामूहिक तस्बिर छापिए । युट्युबमा अहिले पनि पल र आँचल प्रेममा रहेका बेला गरिएका अन्तरंग कुराकानी छ्यापछ्याप्ती भेटिन्छन् ।
अन्ततः फिल्मबाहिर पल र आँचलको प्रेम पनि टिक्न सकेन । आँचलले डा. उदीप श्रेष्ठसँग लगनगाँठो कसिन् । अहिले पनि यो जोडीलाई लिएर बेला–बेलामा कमेडियनहरुले जोक्स निर्माण गरिरहेका हुन्छन् । आँचलले आफूहरुको जोडीलाई लिएर जोक्स बनाउनेप्रति चन्द्रागिरीमा पुगेर आक्रोश पोखिन् । आँचलले कलाकारको वैवाहिक जीवनलाई पनि ध्यान दिन आग्रह गरिन् ।
फिल्म प्रचारको समयमा गरेको फण्डाले भावी जीवनमा असर देखिएको आँचलको मात्रै होइन, सबैजसो कलाकारले सस्तो प्रचारको बाटो समात्नुको मूल्य कुनै न कुनै हिसाबले चुकाइरहेका छन् । तैपनि कलाकारको फिल्म प्रमोसनको शैली फेरिएको पाइँदैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।