एमाले महाधिवेशनः प्रतिनिधि छनोटमा गैरजिम्मेवार र अविवेकी भएको भन्दै युवा संघमा विवाद

चार दिनपछि चितवनमा सुरु हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटमा धाँधली र गैरजिम्मेवार निर्णय भएको भन्दै एमाले भातृ संगठनमा विवाद देखिएको छ । 

महाधिवेशन प्रतिनिधि छनोट गैरजिम्मेवार भएको भन्दै असन्तुष्ट पक्षले पार्टी संगठन विभागमा उजुरी दिने निर्णय गरेको छ । युवा संघ अध्यक्ष किरण पौडेलले मनोमानी गर्दै प्रतिनिधि छनोट गरेको असन्तुष्ट पक्षले आरोप लगाएको हो । 

एमाले महाधिवेशनका लागि युवा संघले पाँच जनाको नाम सिफारिस गरेको थियो । अध्यक्ष पौडेलसहित पाँच जना प्रतिनिधि पठाइनुमा कुनै आधारअनुसार नगरिएको, बैठक नै नबसी प्रतिनिधि पठाइएको आरोप असन्तुष्ट पक्षले लगाएको हो । 

युवा संघ उपाध्यक्ष रोशन बस्नेतले केन्द्रीय कमिटी, कार्यालय कमिटी वा कुनै पनि कमिटीमा छलफल नै नगरी प्रतिनिधि एउटा चिर्कटोमा लेखेर पठाइनुले युवा संघको अस्तित्वमाथि नै प्रश्न खडा गरेको बताएका छन् ।

‘युवा संघमा नयाँ नेतृत्व आएपछि एक पटक मात्र बैठक बसेको छ,’ बस्नेतले फरकधारलाई भने, ‘प्रतिनिधि छनोटका लागि पनि बैठक बस्ने भनिएको थियो । तर, कुनै बैठक नबसी आफू खुसी प्रतिनिधि छनोट गरिएको छ ।’

उनले युवा संघ प्राइभेट कम्पनी जसरी अगाडि बढ्न थालेको आरोप पनि लगाएका छन् । ‘युवा संघ प्राइभेट कम्पनीका रुपमा अगाडि बढ्न थालिसकेको छ,’ उनले भने, ‘यसको विरोधमा हामी उत्रिएका छौँ, युवा संघलाई कसैले पनि आफ्नो पेवाका रुपमा अगाडि बढाउन पाउँदैन ।’



अहिले छानिएका प्रतिनिधि छनोटको कुनै आधार नभएको भन्दै बस्नेत, किरणदास गौतम, उर्मिला सुनुवार, अमित लामा, रमेश तिवारी, रविन थापा संगिता अछामीलगायत पदाधिकारीहरुले असन्तुष्टि जनाएका हुन् । उनीहरुले युवा संघ नेतृत्वसँग प्रतिनिधि छनोटका लागि बैठक बसेको र सिफारिस गरिएका नामहरुबारे गरिएको माइन्युट देखाउन समेत चुनौति दिएका छन् ।

बस्नेतले विधि र विधानअनुसार नभएर लहडमा युवा संघ चल्न थालेको भन्दै यसको विरोध आफूहरुले गरेको पनि बताएका छन् ।



एमाले महाधिवेशनमा महेश बस्नेतले सचिवमा उम्मेदवारी तय गरेका छन् । अहिले पनि युवा संघमा उनकै बर्चश्व कायम छ । महेश बस्नेतसँग निकट किरण पौडेलले नै बस्नेतलाई सहज होस् भन्ने हेतुले यस्तो निर्णय गरेको हुनसक्ने अनुमान छ ।

  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार ९:२८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया