३ महिनामा ३ सय उद्योग दर्ता, १३ हजार नयाँ रोजगारी

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ सय  १ नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनामा स्वदेशी लगानीका १ सय ७४ र विदेशी लगानीका १ सय २६ उद्योग दर्ता भएका हुन् ।

दर्ता भएका उद्योग हेर्दा स्वदेशी लगानीकर्ताको आकर्षण पर्यटन र सेवामूलक क्षेत्रमा छ भने विदेशी लगानीकर्ता पर्यटन उद्योगमा आकर्षित छन् । 

तीन महिनामा ६७ अर्ब ६१ करोड ६६ लाख स्वदेशी तथा ७ अर्ब ११ करोड ८५ लाख विदेशी पुँजी उद्योगमा लगानी भएको छ ।

पर्यटनमा धेरै उद्योग, ऊर्जामा धेरै लगानी 

विभागका अनुसार सेवामूलक र पर्यटन क्षेत्रमा ५३÷५३ उद्योग दर्ता भएका छन् । यस्तै, उत्पादनमूलक क्षेत्रमा ४४ तथा कृषि तथा वन्यजन्तु क्षेत्रमा ८ उद्योग दर्ता भएका छन् । सूचना प्रविधिमा ७, ऊर्जामूलक ६ र निर्माण क्षेत्रमा ३ उद्योग दर्ता भएका छन् ।

विदेशी लगानीका ४७ उद्योग पर्यटन क्षेत्रसँग सम्बधित छन् । ४० उद्योग सेवा क्षेत्रमा छन् भने २१ उद्योग उत्पादनमूलक छन् । यस्तै, सूचना प्रविधिका १०, कृषि तथा वन क्षेत्रका ५, खनिजका २ तथा निर्माणसम्बन्धी १ उद्योग दर्ता भएका छन् । 



तर, पुँजीको हिसाबले भने ऊर्जा क्षेत्रमा सबैभन्दा धेरै लगानी छ । यो क्षेत्रमा ४७ अर्ब ५६ करोड ९२ लाख लगानी भएको छ । उत्पादनमूलक क्षेत्रमा भने १३ अर्ब २९ करोड ६२ लाखको पँुजी लगानी भएको छ । 

विदेशी लगानी भने २ अर्ब ८८ करोड रुपैयाँ पर्यटन क्षेत्रमा खनिएको छ । यस्तै, उत्पादनमा २ अर्ब ४६ करोड र सेवामूलक क्षेत्रमा १ अर्ब ११ करोड लगानी भएको छ । 



संख्या बढ्यो, लगानी बढेन 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा उद्योगको दर्ता संख्या बढेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा २ सय ४१ उद्योग दर्ता भएका थिए । जसमध्ये, १ सय २ उद्योग विदेशी लगानीका थिए भने १ सय ३९ उद्योग स्वदेशी लगानीका थिए । 

तर, सोही अवधिको तुलनामा यसपटक लगानी रकम भने घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ८४ अर्ब १७ करोड ८४ लाख लगानीका उद्योग दर्ता भएका थिए । चालु आवको सोही अवधिमा ११.२२ प्रतिशतले लगानी घटेर ७४ अर्ब ७३ करोडका उद्योग दर्ता भएका छन् । 

चालु आवमा स्वदेशी तथा विदेशी दुवैखाले लगानी घटेको छ । विदेशी लगानीमा ३ अर्ब ३८ करोडले कमी आउँदा स्वदेशी लगानी ६ अर्बले घटेको छ । 

बढ्यो रोजगारी

गत आर्थिक वर्षको तुलनामा चालु आवमा लगानी घटे पनि रोजगारीका अवसरमा भने वृद्धि भएको छ । गत आवको पहिलो ३ महिनामा स्वदेशी तथा विदेशी लगानीका सबै उद्योगमा गरेर १० हजार ६ सय ९८ जनाले रोजगारी पाएका थिए । तर, चालु आवको पहिलो तीन महिनामा १३ हजार ४ सय जनाले नयाँ रोजगारी पाएका छन् । 

दर्ता भएका नयाँ उद्योगमध्ये सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा रोजगारीको अवसर बढेको छ । सेवा तथा पर्यटन क्षेत्रमा पनि रोजगारी बढेको छ । 
 

  • प्रकाशित मिति : कात्तिक ३०, २०७५ शुक्रबार ७:१७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया