चिसो मौसममा समर्थकको न्यानो माया : हुटिङले गुञ्जायमान रंगशाला

शहिद स्मारक 'ए' डिभिजन लिग २०२१/२२ को पहिलो चरण सकिएको छ । पहिलो चरणमा केही क्लबहरूले सोचेको जस्तो नतिजा निकाल्न सके भने केही क्लबहरू बलियो टोली देखिए पनि अपेक्षाअनुरूप प्रदर्शन गर्न सकेनन् ।

कोभिड महामारीका कारण एक वर्ष ढिलो भएको ए डिभिजन लिगमा क्लबले आफ्नो टोली बलियो बनाउन सक्दो प्रयास गरे । विगतका वर्षमा भन्दा खेलाडी तथा प्रशिक्षक छनोटमा क्लब निकै संवेदनशील देखिए । खेलाडीको क्षमता र प्रशिक्षकको अनुभवलाई क्लबले यो वर्ष मुख्य छनोटको माध्यम बनाए ।

यस वर्ष ए डिभिजन लिगमा दुई टोलीमाथि भने रेलिगेसनको तरबार झुन्डिरहेको छ । १३ राउण्डमा हुने यस खेलमा अन्तिम दुई टोली ए डिभिजनबाट बी डिभिजनमा घटुवा हुने छन् ।

१४ टोली सामेल यस खेलमा अघिल्लो सिजनको नतिजाअनुसार एपिएफ र ब्रिगेट ब्वाइज क्लब(बीबीसी) मा रेलिगेसनको खतरा छ । यस सिजनको  पहिलो चरणको खेल सकिँदा यी दुई टोलीले पहिलो राउण्ड खेलेका थिए । जसमा बीबीसीले एपिएफमाथि ३–२ को जित निकालेको थियो ।

यस लिगमा अन्य १२ टोलीले पनि उपाधिको लागि संघर्ष गर्नेछन् । यस लिगको पहिलो चरणको खेल सकिँदा नेपाली समर्थकमाझ फुटबलप्रति आकर्षण बढेको देखिन्छ ।

फुटबललाई माया गर्ने दर्शकदिर्घाको जमात रंगशालामा देख्दा पोहोरभन्दा धेरै समर्थक भएको अड्कल गर्न सकिन्छ । कति दर्शकले टिकट काटेर रंगशालामा गए भन्ने कुरा भने टिकटको जिम्मेवारी पाएको सजिलो पे पेमेन्ट सर्भिसले खुलाउन चाहेन । तर, अघिल्ला सिजनमा भन्दा यो सिजनमा प्रत्येक क्लबका समर्थक धेरै छन् भन्ने सजिलै थाहा पाउन सकिन्छ ।



चिसो मौसममा समर्थकको न्यानो माया

यस वर्षको ए डिभिजन लिगमा प्रत्येक क्लबको समर्थकहरू आफ्नो क्लबलाई समर्थन गर्न खेल मैदानमा आउने क्रम बढेको देखिन्छ । अघिल्लो लिगको तुलनामा यस वर्ष धेरै समर्थकहरू मैदानमै क्लबको समर्थन गरिरहेका छन् ।



हरेक पटक आफूले समर्थन गरेको क्लबका खेलाडीको खुट्टामा बल हुँदा हुटिङ गर्दै खेलाडीलाई उत्साहित पार्नका लागि क्लबको नाम लिएर समर्थकहरूले ठूलो स्वरले हुटिङ गर्थे । गोल हुँदा मैदानमा खेलाडी र प्रशिक्षकजस्तै स्टेडियममा आएका दर्शक पनि मजाले झुम्ने गर्थे ।

हरेक टोलीका खेलाडीसँगै मैदान बाहिरका खेलाडीको उत्साह पनि गज्जब देखिन्थ्यो । चिसो मौसममा दर्शकको समर्थनले जुरमुराउँथ्यो दशरथ रंगशालाको मैदान । पहिलो खेल दिउँसोको १ बजे हुन्थ्यो । दोस्रो खेल पौने पाँच बजेबाट हुन्थ्यो । पहिलो खेलमा पनि आफ्नो क्लबको खेल रहेछ भने समय मिलाएर हेर्न आउँथे समर्थक । दोस्रो खेल भने ४ बजेपछि हुने भएर पनि होला समर्थकको राम्रो उपस्थिति हुन्थ्यो ।

दोस्रो खेल सकेर बाहिर निस्किँदा जित्ने टोलीका समर्थकको आवाजमा हाँसो हुन्थ्यो अनि अनुहारमा छुट्टै सन्तुष्टि । हार्ने टोलीको समर्थकहरू भने खेलाडी र टोलीको समीक्षा गर्दै मैदान बाहिर निस्कन्थे । दुवै प्रकारका समर्थकको हाउभाउले क्लबप्रति उनीको आकर्षण झल्काउँथ्यो ।

चिसो मौसममा लामो जुत्ता घाँटीमा स्कार्फ र मोटो ज्याकेट लगाएर रंगशालामा आएकी थिइन्, समीक्षा पौडेल । उनी मछिन्द्र क्लबको समर्थक हुन् । उनी भन्छिन्, ‘खेल हेर्दा मज्जा आयो । डिफेन्डिङ च्याम्पियन मछिन्द्रबाट मैले सोचेको जस्तो खेल भने मैले पाइनँ । विपक्षी टोली भए पनि एनआरटीको खेल हिजो निकै राम्रो थियो ।’

उनी खेलाडीको रूपमा विमल घर्ती मगरको फ्यान हुन् । विमल मैदानमा पुनरागमन गरेको देख्दा निकै खुसी लागेको उनले बताइन् । मछिन्द्र क्लबका सबैजसो खेलाडीले कपाल सेतो पारेका थिए । त्यो देख्दा भने यो किन गरेको होला भन्ने उनलाई कौतुहल जागेको थियो । उनले भनिन्, ‘सबैजस्तै खेलाडीको कपाल सेतो बनाएको रहेछ । खई किन हो । मलाई भने विमललाई मैदानमा देख्दा निक्कै आनन्द लाग्यो ।’

अर्का मनाङ मर्स्याङ्दी क्लबका समर्थक अर्जुन लामा पनि मनाङको खेल हेर्न मैदान पुगेका थिए । उनलाई सबैभन्दा रमाइलो पक्ष भने अञ्जन विष्टको सेतो कपाल लाग्यो । उनले भने, ‘अञ्जनलाई पहिलो पटक यस्तो हेयर स्टाइलमा देखेको पहिलो पटक त चिनिनँ ।’

उनलाई मनाङको खेल खासै राम्रो लागेन । उपाधि दाबेदार मानिने टोली मनाङको मैदानको प्रस्तुति र पोष्ट म्याचमा प्रशिक्षकले दिएको अभिव्यक्तिबाट असन्तुष्ट देखिन्थे अर्जुन उनले भने, ‘मैदानमा खेल जिते पनि पहिलाको मनाङको टोली जस्तो थिएन । किन रहेछ भनेको घर आएर पोष्ट म्याचमा कोचले भनेको कुरा सुनेर थाहा भयो ।’

प्रशिक्षक राजेन्द्र तामाङले पोष्ट म्याच कन्फ्रेन्समा सानो टोली भएकाले खासै तयारी र योजना नबनाएको कुराले रुष्ट रहेछन् अर्जुन । अत्यमा उनले भने, ‘क्लबसँग एकदमै धेरै एट्याच छु । मनाङको अहिलेसम्म सक्दो सबै म्याच हेर्छु ।’

साँझ अफिसबाट एक घन्टा छिटो निस्किएर भए पनि मछिन्द्रको खेल नछुटाउने अर्का मछिन्द्र समर्थक हुन्, हरिहर शर्मा । उनी भन्छन्, 'मलाई २०१९-२० देखि मछिन्द्रको प्रशिक्षक र खेलाडी दामी लाग्छ । मलाई अहिलेको ए डिभिजनमा पनि मछिन्द्रको खेल सधैँ जस्तो राम्रो लाग्यो ।'

‘म सकेसम्म अफिसको काम चाँडै सकेर खेल हेर्न आउँछु । मलाई विमल घर्ती मगर अति नै मन पर्ने खेलाडी हुन् । उनी मैदान फर्किएकोमा धेरै खुसी छु’ उनले भने ।

यति मात्र होइन । सोमबार भएको मछिन्द्र क्लबको प्रदर्शन हेर्न र समर्थन गर्न मछिन्द्र फुटबल एकेडेमीबाट स्कुलका विद्यार्थी ड्रम र विभिन्न प्रकारका बाजासहित आएका थिए ।

मैदानमा खेलाडीको हौसला नगुमोस् भन्ने हेतुले  घरेलु टोली, न्युरोड टिमका समर्थकले पनि ठूलो हुटिङ गरेका थिए । एनआरटी–एनआरटी भन्ने आवाजले गुञ्जायमान थियो रंगशाला परिसर । साँझ ६:३० सम्म भएको खेल हुँदा मौसम भने चिसो भइसकेको थियो तर समर्थकको जोस भने कत्ति कमी भएको थिएन ।

त्यस्तै, सोमबार त्रिभुवन आर्मी क्लब र पुलिस क्लबबीच भएको खेलमा पनि समर्थकले गरेको हुटिङले झुमेको थियो दशरथ रंगशालाको परिसर ।

  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १८:५७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया