काठमाडौं– नेपाल खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसन मर्ज हुने प्रक्रिया अलमलमा परेको छ । साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले संस्थान र कर्पोरेसन समायोजना गरेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार संस्थान र कर्पोरेसन समायोजन गर्नका लागि सुझाव संकलन समिति पनि गठन गरिएको थियो । अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पादाधिकारी राखेर सुझाव संकलन समिति गठन गरिएको थियो । समितिले दसैंअघि नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुझाव प्रतिवेदन पनि बुझाइसकेको छ ।
संस्थान र कर्पोरेसन मर्ज हुने भनिए पनि संस्थानले दसैंमा भने आफ्नो नियमित काम गरेको थियो । दसैंअघि कतिपय स्थानमा संस्थान र कर्पाेरसनले संयुक्त रूपमा र कतिपय ठाउँमा छुट्टाछुट्टै सुपथ मूल्य पसल सञ्चालन गरेका थिए ।
त्यसो त यी दुवै संस्था दसैंलगायतका चाडपर्वका बेला मात्र चर्चामा आउने गर्छन् । त्यसैले पनि सरकारले यिनीहरूको प्रभावकारिता बढाउनका लागि समायोजन गर्ने नीति लिएको हुनुपर्छ । नेपालको भूगोलअनुसार सबै ठाउँमा सबै वस्तुको उत्पादन नहुने हुनाले सबैलाई खाद्यवस्तुको पहुँच पुर्याउन संस्थान स्थापना भएको बताइन्छ ।
राणाकालमा उपत्यकालगायत धान उत्पादन नहुने ठाउँमा सस्तोमा धान तथा खाद्यान्न उपलब्ध गराउन खाद्य संस्थान स्थापना गरिएको थियो । १९९० सालको भूकम्पमा पनि खाद्य संस्थानले महत्त्वपूर्ण सहयोग गरेको थियो । सुरुमा खाद्यान्नको व्यापार गर्दै आएको संस्थानले २०१९ सालबाट भने भेडा–च्यांग्राको व्यापार पनि सुरु ग¥यो । संस्थानले दसैं–तिहारको अवसरमा चीनबाट भेडा–च्यांग्रा आयात गरेको थियो । पछिल्लो समय संस्थानले दाल, चामल, सिमी र भेडा–च्यांग्रा बेच्दै आएको थियो ।
नेपालमा नुन उत्पादन नहुने भएकाले भारत र चीनबाट नुन आयात गर्ने उद्देश्यले साल्ट ट्रेडिङ स्थापना गरिएको हो । पब्लिक प्राइभेट पार्टनरसिपमा सन् १९६३ मा साल्ट टे«डिङको जन्म भएको हो । पछिल्लो समय भने टे«डिङले नुनलगायत चिनी पनि आपूर्ति गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।