नेपाली कांग्रेसकी नेता तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण भएको छ ।
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले डा. संग्रौलाद्वारा लिखित पुस्तकको लोकार्पण गरेका हुन् ।
पुस्तक लोकार्पणपछि उनले लेखक नेपाली कांग्रेसकी लोकप्रिय नेता भएको उल्लेख गर्दै पार्टीको महाधिवेशन आइरहेको बेलामा सो पुस्तकले महाधिवेशनका सहभागीहरूलाई पढेर लाभ लिने मौका मिलेकाे बताए ।
पुस्तक लेखक डा. संग्रौलाले नेपाली कांग्रेसलाई आगामी दिनमा कसरी अगाडि बढाउनुपर्छ भन्ने सम्बन्धमा पार्टी भित्र र बाहिर व्यापक बहस सिर्जना गर्ने उद्देश्यले पुस्तक लेखेको बताइन् ।
उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल मर्ममा टेकेर कांग्रेसका कमी, कमजोरीहरूलाई केलाउँदै पुस्तक लेखेको पनि उल्लेख गरिन् । पार्टीको १४औं महाधिवेशनमा यो पुस्तकलाई नै एजेण्डा बनाएर आफ्ना साथीहरू समक्ष लैजाने अठोट गरेको उनले बताइन् ।
१३९ पृष्ठको पुस्तक डा. डिला संग्रौला पन्तको सचिवालयले प्रकाशन गरेको हो । पुस्तक नेपाली कांग्रेसको संक्षिप्त इतिहास, नेपाली कांग्रेसको सैद्धान्तिक स्पष्टता, नेपाली कांग्रेसका उपलब्धिहरू, नेपाली कांग्रेसको अबको बाटो, राष्ट्रवादको कसीमा कांग्रेस, जनताले चाहेको अबको कांग्रेस, अमूल्य योगदानका अग्रजहरू र १४औं महाधिवेशनका एजेण्डाहरू गरी ८ वटा उपशीर्षकमा लेखिएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।