अहिले म प्रधानमन्त्री छैन तर प्रधानमन्त्रीभन्दा कम छैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अहिले प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन् । कैलालीको भजनी नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘मैले पहिले बोलेको तर पूरा नभएको कुरा पनि छन् । तर, केपी शर्मा ओली नै नायक होइन, भिलेन परेका हुनाले मैले बोलेका कुरा केही पूरा गरेनन्’ उनले भने, ‘तर, अहिले त्यस्तो छैन । अहिले म प्रधानमन्त्री त छैन, तर प्रधानमन्त्रीभन्दा कम छैन ।’ ओलीका कारण राजनीतिक स्थायित्वको आफ्नो सपना साकार हुन नसकेको उनको टिप्पणी थियो । 

प्रचण्डले यो गठबन्धन धेरै जाँदैन भन्नेलाई सरकारले जवाफ दिन थालेको पनि बताए । उनले गठबन्धन अझै बलियो बन्दै गएको पनि दाबी गरे । सरकारले काम थालेकाले गठबन्धन अझै लामो समय जाने उनले तर्क गरे ।

‘गठबन्धन अझै बलियो भएको छ । अब सरकारले जनताको हितमा काम गर्दै जानेछ’, उनले भने, ‘अर्को कुरा माओवादी मात्रै हो मधेसको वास्तविक पार्टी । कैलाली जिल्लाका सबै जनता पनि प्रष्ट हुनेछन् । अहिले ‘काम गर्ने कालु मकै खाने भालु’ जस्तो भएको छ । सक्कली नेताहरू मधेसी मात्रै हुन् भन्ने भ्रम थियो । तर, अब माओवादीको पक्षमा देशभरी लहर देखिएको छ ।’

जनताले माओवादीलाई मत नदिएमा प्राप्त गरेका कुरा पनि गुम्ने खतरा रहेको उनले बताए । भजनीका बाढीपीडितलाई राहत उपलब्ध गराउन सरकारसँग पहल गर्ने प्रचण्डले आश्वासन दिए ।

‘जनताका अगाडि प्रचण्डले बोलेका काम नगर्ने कसम खाए, ओलीले । त्यसो हुनाले बालुवाटारबाट बालकोट पुग्नु परेको हो,’ उनले भने, ‘तर यस पटक त्यसो हुँदैन ।’



भवन उद्घाटन कार्यक्रममा भजनी नगरपालिकाका समस्याहरू समेटेर जनप्रतिनिधिहरूले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए ।



  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १३:४६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया