डाक्टरलाई स्वास्थ्यमन्त्रीको सुझाव : चुरोट खान रोक्न विरामीको दिमागमा डर पैदा गर्नुहोस्

स्वास्थ्य पत्रकार मञ्चले आज ललितपुरको एक होटलमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडा प्रमुख अतिथि थिए । कार्यक्रमको मध्य भागमा आइपुगेका मन्त्री खतिवडाले सूर्ती तथा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि एउटा उपाय दिए । 

एकातिर प्रमुख अतिथिको रूपमा भने अर्कोतिर तालुकदार मन्त्रीका रूपमा सहभागी खतिवडाले विज्ञ तथा सरोकारवाला निकायको प्रस्तुतीकरण सुने । अर्को कार्यक्रममा जानुपर्ने भन्दै केही समय बसेर निस्किएका उनले चुरोट नियन्त्रणका लागि अचम्मको उपाय सुनाए ।  

मन्त्री खतिवडाले भने, ‘चुरोट नखानको लागि मान्छेलाई डराउने उपाय गराउने हो कि? डाक्टर कहाँ गएको बेला डाक्टरले के भनि दिनुपर्यो भने तिमीले आउँदो १० दिनभित्रमा चुरोट खान छोडिनस् भने त चङ्गा चेट ! यदि ३५ प्रतिशत खराबी मात्रै छ भने पनि डाक्टरले डर देखाएर ९९ प्रतिशत खराब भइसक्यो भनेर डर देखाउने हो कि? यो मेरो सोझो दिमाग मात्र हो हैँ?’

चुरोट छोडाउनको लागि मान्छेलाई आतंकित पार्ने, डर पैदा गर्ने जस्ता उपाय अपनाउँदा ठीक हुन्छ कि जस्तो लागेको मन्त्री खतिवडाको भनाइ थियो । नेपालले सन् २०११ सुर्तीजन्य पदार्थ नियन्त्रण तथा रोकथाम ऐन ल्याएको थियो । ऐन आएसँगै नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा रोकथामका लागि थुप्रै प्रयासहरू भइरहेका छन् । तर पनि सुर्तीजन्य पदार्थ खानेको संख्या घट्नुको साटो झन् बढिरहेको भन्दै मन्त्री खतिवडाले सम्भव भएका सबै उपाय अपनाइसक्दा पनि कम नभएको बताए । 

आगामी दिनमा अहिलेसम्मकाभन्दा फरक उपाय पनि अपनाउन सकिन्छ कि भन्दै त्यसतर्फ पनि ध्यान दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराए । 

‘मैले सबैको कुरा सुने । जे जस्तो उपाय अपनाउनुपर्ने हो त्यो सबै अपनाएको देखेँ । तर पनि कम भएको रहेनछ । अब कस्तो उपाय अपनाएर सुर्तीजन्य पदार्थ नियन्त्रण तथा रोकथाम गर्न सकिन्छ त्यसतिर काम गर्नुहोस्,’ मन्त्री खतिवडाले भने । 



स्वास्थ्य क्षेत्रका सरोकारवाला निकायले त्यसका लागि काम गर्नुपर्ने उनको भनाइ छ । ‘स्वास्थ्य क्षेत्रका साथीहरू हो, कसरी हुन्छ चुरोट खानेहरूको दिमाग खानुपर्‍यो । उनीहरूलाई तत्कालै चुरोट छोड्ने बनाउनुपर्‍यो । ज्ञान र बुद्धिले त केही नहुने भयो,’ मन्त्री खतिवडाले भने । 
 
नेपालले ऐन बनाउनेदेखि ट्याक्स बढाउनेसम्म मात्र नभएर चेतावनीमूलक सन्देश जारी गर्दासम्म प्रयोगकर्ता नघटेको उनको भनाइ छ । ‘सुरुमा ऐन ल्याए घट्छ भनियो त्यो पनि भएन, ट्याक्स बढाए प्रयोगकर्ता घट्ने भनियो त्यो पनि भएन,’ मन्त्री खतिवडाले भने, ‘चेतावनीमूलक सन्देशको फोटो टासौंभन्दा त्यो पनि भएन । अब कसोगरी नियन्त्रण गर्ने हो मैले त केही बुझ्न सकेको छैन ।’ 

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न अहिलेसम्म अपनाइसकेकाबाहेक अन्य उपायका विषयमा आफू जानकार नरहेको पनि स्वीकार गरे । ‘यसलाई अहिले भइरहेको कामबाहेक अन्य उपाय के-के हुन सक्छन् भन्नेतिर मेरो बुद्धि छैन । साथीहरूले त्यतातिर पनि काम गर्नुपर्‍यो,’ उनले भने । 



मन्त्री खतिवडाले अर्को उपाय पनि सुझाए । कुलतमुक्त गराउने कुनै औषधि वा उपचार भएर त्यतातिर पनि ध्यान दिन सरोकारवाला निकायलाई निर्देशन दिए । उनले स्वास्थ्य अनुसन्धान परिषद्लाई कुनै औषधि वा उपचारबाट पनि कुलतबाट छुट्करा गराउन सकिने भए त्यसतिर पनि अनुसन्धान गर्न आग्रह गरे । 

‘ज्वरो आयो भने औषधि खाँदा निको हुन्छ, त्यस्तै कुनै ट्याब्लेट बनाउन सकिन्छ कि चुरोट नियन्त्रण गर्नका लागि । या बजारमा यतिदिनमा कुलतबाट मुक्त गराउन सकिन्छ भनेर विज्ञापन गरेको पनि देखिन्छ,’ उनले भने, ‘त्यसलाई पनि प्रभावकारी ढंगबाट अगाडि बढाउने हो कि? त्यतातिर पनि काम गर्न सकिन्छ भने काम गर्नुहोस् ।’ 

  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १५:३०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया