विवाहपञ्चमी महोत्सवअगावै जनकपुरधाम–जयनगर रेल्वे सञ्चालन गर्न लोसपाको माग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले विवाहपञ्चमी महोत्सवपूर्व जनकपुरधाम–जयनगर रेल्वे सञ्चालन गर्नुपर्ने माग गरेको छ । बुधबार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाउँदै लोसपाका नेताहरुले यस्तो माग गरेका हुन् ।
  
जनकपुरधाममा प्रत्येक वर्ष आयोजना हुँदै आईरहेको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व श्री रामजानकी विवाहोत्सव भारतलगायत विश्वकै हिन्दूहरुको आस्थाको पर्व र पर्यटकका लागि महत्वपूर्ण अवलोकन गन्तव्य रहे पनि रेल्वे सञ्चालन नहुँदा सबै ओझेलमा परेको लोसपाका कार्यकारिणी समिति सदस्य बृषेशचन्द्र लालले बताए ।
 
उनले भने,‘जनकपुर रेल्वेले यस धार्मिक आयोजनामा आस्थावान भक्तजन तीर्थालुहरुको यात्रामा अहम् भूमिका निर्वाह गर्दै आएको थियो र आगामी दिनमा समेत महत्वपूर्ण योगदान दिने निश्चित छ । तर, यसको सञ्चालन षड्यन्त्रको सिकार भएको छ । सबै कुरो तयारी अवस्थामा रहे पनि राज्यको बक्रदृष्टिका कारण सञ्चालन भइरहेको छैन, जसले गर्दा जनकपुर क्षेत्रको समग्र विकास समेत प्रभावित भइरहेको छ ।’

जनकपुर रेल्वे सञ्चालन भएमा जनकपुरधाम नेपालको व्यापारिक केन्द्र बन्ने, रोजगारका ठूला अवसरहरु खुल्ने, पर्यटकको विकास हुने, उद्योगधन्धा खुल्न थाल्ने, जनकपुरधाम यातायातको केन्द्र बन्नेजस्ता कुरासमेत निश्चित हुँदाहुँदै पनि यसमा जानाजान अटेर भइरहेको र इन्जन, बोगी, ट्रयाकलगायत बिग्रिन थालेकोले हाम्रो ध्यान आकर्षित भएको लोसपाकी नेतृ विभा ठाकुरले बताइन् । 

लोसपाका नेता उमेश मण्डलले रेल्वे सञ्चालन भएपछि नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुने, वैश्विक व्यापारसँग नेपाललाई जोड्ने साधनको रुपमा उपयोग हुने, नेपाल–भारतका जोडिएका दुवैतिरका क्षेत्र विकसित हुने, धार्मिक र पर्यटनमा जबर्जस्त अभिवृद्धि हुने बताए । सबै कुरा तयारी अवस्थामा भएकोले यसै वर्षको श्री रामजानकी विवाहोत्सवको अवसरमा यसलाई सञ्चालन गर्न आफूहरुले जोडदार माग गरेको उनले जानकारी दिए । 

सरकारले जानाजान रेल्वे सञ्चालनमा अटेर गरे आफूहरुले दबाबमूलक आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुनेसमेत उनीहरुले चेतावनी दिएका छन् ।





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १७:२९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया