‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि पुनः सञ्चालन

काठमाडौं- चाडपर्वका कारण स्थगित गरिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबार (भाेलि)देखि सुरु हुने भएकाे छ । गत असोज १३ गते सुरु भएको लिग बंगलादेशमा भएको बंगबन्धु गोल्डकप प्रतियोगिता र दसैं, तिहार तथा छठका कारण स्थगित गरिएको थियो । लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् । शनिबारदेखि हुने लिगको दोस्रो चरणका खेलका लागि सबै तयारी पूरा भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा गठित लिग कमिटीका लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । 

पहिलो चरणको खेल सकिँदासम्म मनाङ मर्स्याङदी, संकटा, थ्रीस्टार र नेपाल पुलिसले पहिलो खेल जित्दै तीन/तीन अंक जोडेका छन् भने त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, च्यासल, मच्छिन्द्र, न्युरोड टिम र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै एक/एक अंक जोडेका छन् । त्यसैगरी जावलाखेल, सरस्वती, फ्रेण्डस् र ब्रिगेडब्वाइज हार बेहोर्दै अंकविहीन छन् । 

शनिबारदेखि हुने दोस्रो चरणका पहिलो खेलमा मनाङ मर्स्याङदी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल हलचोक मैदानमा बिहान ११ बजे सुरु हुनेछ । सोही दिन हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

त्यसैगरी, मङ्सिर २ गते मछिन्द्र क्लब र नेपाल पुसिल क्लबबीच पहिलो तथा ब्रिगेड ब्वाइज क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । 

मङ्सिर ३ गते जावलाखेल युथ क्लब र संकटाबीच पहिलो तथा फ्रेण्डस् क्लब र एपिएफबीच दोस्रो खेल एन्फा मैदानमा हुनेछ । सोही दिन सरस्वती क्लब र हिमालयन शेर्पाबीच हल्चोकस्थित सशस्त्रको मैदानमा खेल भएसँगै दोस्रो चरणको खेल समाप्त हुनेछ । तेस्रो चरणको खेल मङ्सिर ६ गतेदेखि सुरु हुनेछ । 

लिगमा १४ ‘ए’ डिभिजन क्लबहरू थ्री स्टार, मनाङ मर्स्याङदी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । 

राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् । लिगको चौथो टोलीले १५ लाख, पाँचाैं टोलीले सात लाख र छैटौँले पाँच लाख पाउनेछन् । ‘फेयर प्ले’ टिमले एक लाख पाउनेछन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा ‘म्यान अफ दी म्याच’ खेलाडीलाई १० हजार दिनेछ । 

यस्तै, लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन लागेको हो । पछिल्लोपटक विसं २०७१ मा ‘ए’ डिभिजन लिग भएको थियो । 

लिग नखेल्ने एनआरटीको चेतावनी 

यसैबीच, न्युरोड टिम एनआरटीले लिग नखेल्ने चेतावनी दिएको छ । एन्फाले फिफा रेफ्री सुदीस पाण्डेलाई कारबाही नगरेको भन्दै एनआरटीले लिग नखेल्ने बताएको हो । 

एनआरटीले रेफ्री पाण्डेको गलत निर्णयका कारण लिगको पहिलो खेलमा बराबरी खेल्नुपरेको बताउँदै रेफ्रीलाई कारबाहीको मागसहित एन्फामा निवेदन दिएको थियो । एक महिना बितिसक्दा समेत एन्फाले निवेदनका बारेमा केही निर्णय गरेको छैन । 

गत असोज १३ गते सुरु भएको लिगको उद्घाटन खेलमा एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले २–२ गोलको बराबरी खेलेका थिए । अन्तिम समयमा गोलकिपरले धेरै समय बल होल्ड गरेको भन्दै रेफ्री पाण्डेले आर्मीलाई डिबक्सभित्र फ्रिकिक दिएका थिए । 

त्यस्तै, पहिलो हाफमा आर्मीलाई दिइएको पेनाल्टीको निर्णयसमेत गलत भएको एनआरटीको दाबी थियो । क्लबले रेफ्रीको दुवै निर्णय एनआरटीलाई हराउने नियतले गरिएको भन्दै उचित छानबिन र कारबाहीको माग गर्दै एन्फामा उजुरी गरेको थियो । एनआरटी अध्यक्ष दीपकहर्ष बज्राचार्यले एन्फालाई कारबाहीपत्रको विषयमा ध्यानाकर्षण गराए पनि उचित सम्बोधन नभएको बताए ।

‘हामीले अगाडिबाटै एन्फालाई भन्दै आएका छाैं, तर एन्फाले निवेदनमाथि कुनै निर्णय लिएको छैन, यसबारे निर्णय नभए हामी लिगमा सहभागिता जनाउँदैनौं,’ एन्फा महासचिव इन्द्रमान तुलाधरले एनआरटीको पत्रमा आन्तरिक छलफल भइरहेको बताउँदै चाँडै विवाद समाधान गरिने बताए । ‘रेफ्रीको कारबाहीको विषय निकै संवेदनशील हो, निवेदनबारे छलफल अघि बढिरहेको छ, हामी सहमतिमा पुग्छौं,’ उनले भने ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७५ शुक्रबार १४:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया