क्यालिफोर्नियाको डढेलोमा ६ सयभन्दा बढी अझै बेपत्ता

संयुक्तराज्य अमेरिका– अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको भीषण डढेलोका कारण ६ सयभन्दा बढी बेपत्ता भएका बिहीबार प्राप्त समाचारमा जनाइएको छ । 

खोजी कार्य अझै जारी रहेकाले मृतकको संख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । बिहीबार प्राप्त पछिल्लो सूचनामा उद्धारकर्मीले करिब ६ सय ३१ जना बेपत्ता भएको स्पष्ट गरेका छन् । साथै उनीहरूले थप सात जनाको शव आगलागी भएको जंगलबाट निकालेको जनाएका छन् । 

यसअघि उक्त डढेकोमा परी करिब ३ सय जना बेपत्ता भएका बताइएको थियो । 

यही नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जंगलमा अकस्मात् आगो सल्किएको र प्रतिकूल मौसमका कारण द्रूत गतिमा फैलिएको थियो । आगो नियन्त्रणमा ल्याउन ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । 

गत नोभेम्बर ८ मा सुरु भएको सो डढेलोमा परी बिहीबारसम्म मृत्यु हुनेको संख्या ६३ पुगेको छ । डढेकोबाट जंगलआसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको र त्यसको पुनर्निर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ । 

अमेरिकी सञ्चारमाध्यमले विभिन्न स्रोत उल्लेख गरी अझै कैयौँ व्यक्ति बेपत्ता रहेको हुन सक्ने जनाएका छन् । बेपत्ता व्यक्तिका खोजी, उद्धार र आगो निभाउने कार्य जारी रहेको र आगो निभाउने कामका लागि हजारौँ अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीले जनाएका छन् । 



क्यालिफोर्नियाको जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्ण रूपमा जंगलको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डढेलोबाट खासगरी जंगलआसपास बसोबवास गर्नेहरू सबैभन्दा बढी प्रभावित भएका छन् । 

पछिल्लो समयमा गत नोभेम्बर ८ मा अकस्मात् बढेको आगोका कारण धेरै मानिस हताहत भएका हुन् । 



राष्ट्रपति ट्रम्पले प्रभावित क्षेत्रको भ्रमण गर्ने 

यसैबीच प्राप्त एक समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त डढेलो लागेको पश्चिमी क्षेत्रको भ्रमण गरी आगलागी पीडितहरुलाई भेट्ने भएका छन् । 
उनले उक्त क्षेत्रको भ्रमण गरी आगलागीमा परी ज्यान गुमाएकाहरुका परिवारलाई भेट गर्ने सो समाचारमा जनाइएको छ । 

अमेरिकी अधिकारीले राष्ट्रपति ट्रम्पले भोलि शनिबार ती परिवारका सदस्यलाई भेट्ने भएका हुन् । उक्त राज्यको इतिहासमा नै यो डढेलो सबैभन्दा विध्वंसात्मक रहेको बताइएको छ । 

पछिल्लोपटक द्रूत गतिमा बढेको आगो सिएरा नोभादा पहाडमा फैलिएको थियो । आगोको गति अनुसार वृद्धवृद्धा दौडिन नसकेका र उनीहरुका सवारी साधनलाई नै आगोले भेटाउँदा उनीहरुको ज्यान गएको थियो । 

यो सियरा पहाडमा बढेको डढेलोका कारण मृत्यु हुने व्यक्तिहरुमा बढी वृद्धवृद्धा रहेका छन् । 

आगोमा डढेर मृत्यु भएका व्यक्तिको पहिचान गर्न गाह्रो भएको बताइन्छ । शरीर जलेका कारण व्यक्तिको पहिचान गर्न नसकेपछि गाउँका हराएका व्यक्तिका आफन्तको डिएनए परीक्षण गरिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । 

  • प्रकाशित मिति : कात्तिक ३०, २०७५ शुक्रबार १५:९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया