किसानलाई नार्कको अनुरोध : समस्या परे ११३५ मा फोन गर्नुस्

मुलुकको कृषि क्षेत्रको अनुसन्धानमा अग्रणी संस्था नेपाल कृषि अनुसन्धान परिषद् नार्क, किसानसँगको प्रत्यक्ष सहकार्यका लागि अघि बढ्ने भएको छ । हाल केन्द्र र क्षेत्रीय स्तरमै सीमित भएको नार्क अब स्थानीय स्तरमै किसानसँग जोडिने भएको हो ।

किसानसँग कृषि वैज्ञानिकलाई प्रत्यक्ष रूपमा जोड्ने पहिलो प्रयास स्वरूपमा नार्कले मंगलबार, मुलुकका विभिन्न १५ जिल्लाका किसान र  वैज्ञानिकबीच अन्तरक्रिया गरेको छ । पहिलो अन्तरक्रियामा, विभिन्न १३ विधाका ४८ जना किसान समक्ष २४ जना कृषि वैज्ञानिक उपस्थित गराएर, नार्कले, किसानका समस्या बुझ्दै परामर्शसहितको समाधान दिने प्रयास गरेको हो । 

अन्तरक्रियाका लागि आवेदन दिएका मुलुकभरका तीन सय बढी किसानमध्ये, नार्कले ४८ जनालाई छनोट गरेको हो । विभिन्न क्षेत्रका उद्यमी किसान र कृषि वैज्ञानिकबीचको प्रत्यक्ष अन्तरक्रियामा, किसानले, मौसम र जलवायु परिवर्तनले आफ्नो उत्पादनमा पारेको प्रभाव न्यूनीकरण, बाख्रा पालन, कृषि यान्त्रिकरण, तरकारी बाली उत्पादनका साथै रोग–किरा, मल र माटो व्यवस्थापन, पशुको कृतिम गर्भाधान प्रविधिले निम्त्याएको जटिल समास्या, मकै, धान र गहुँ लगायतका खाद्यान्न बालि, फलफुल, व्यवसायिक योजना, अनुदानको व्यावहारिकता तथा सरकारी नीति लगायतका विषयमा आफ्ना समस्या राखेका थिए भने कृषि वैज्ञानिकले आफ्नो विज्ञता सहित समाधानका उपाय सुझाएका छन् ।

कृषि वैज्ञानिकसँगको प्रत्यक्ष अन्तरक्रियाले आफ्ना समस्या समाधानतर्फ नार्क संवेदनशिल बनेको आफुले पाएको, गोरखामा बाख्रापालन र तरकारी उत्पादनमा सक्रिय युवा किसान जनक आलेले बताए ।

काभ्रे नमोबुद्धमा लामो समयदेखि भैंसी पालन व्यवसाय गर्दै आएका किसान प्रेम प्रसाद न्यौपानेले भने, ‘पछिल्लो समय कृत्रिम गर्भाधान गराउँदा भैँसीले बाली नथाम्ने समस्याले हैरान थिएँ, यहाँ वैज्ञानिकका कुरा सुनेपछि मात्रै पो थाहा भयो यसका कारण त थुप्रै पो रहेछन् ।’

नवलपरासी गैंडाकोट–११ मा व्यावसायिक रूपमा घाँस व्यवसाय गर्दै आएका अगुवा किसान गोपालप्रसाद दुलालले भने, ‘यस्ता अन्तरक्रियात्मक कार्यक्रम अब किसानका गोठ र गराहरूमा पनि पुग्नुपर्छ ।’ 



अन्तरक्रियामा नार्कका राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डा. ध्रुवराज भट्टराईले किसानलाई परेका सबै समस्या समाधान गर्न नार्कका वैज्ञानिक जोडिदिने प्रतिबद्धतासहित हरेक सोमबार दिउँसो २ देखि ४ बजेसम्म कल सेन्टर ११३५ मा फोन गर्न पनि आग्रह गरे ।  



कार्यक्रम संयोजक एवं केन्द्रका वैज्ञानिक कुमार मणि दाहालले, अब कृषि अनुसन्धान सम्म उद्यमी किसानको पहुँच नपुग्ने हो भने कृषि क्षेत्रको व्यवसायिकरण गर्न नसकिने हुनाले कृषि क्षेत्रमा देखापरेका समस्या निराकरणमा सरोकारवाला निकायसँग समन्वय गर्दै कृषि क्रान्तिका लागि नार्क आक्रामक रुपमा अघि बढ्ने बताए ।

कृषि सचिव डा. गोविन्द प्रसाद शर्माले, उद्योगी किसानले उठाएका माग सम्बोधन गर्न नीतिगत तहमै सुधारका लागि पहल गर्ने प्रतिवद्धता जनाए । 

  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १४:१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया