नेकपा एमालेको १०औं महाधिवेशनमा कार्यकर्ता ओसार्न निजी विद्यालयका गाडी प्रयोग गरिएको पाइएको छ ।
बागमती प्रदेशको चितवनमा आयोजित महाधिवेशनमा कार्यकर्ता ओसार्न जनकपुरधामबाट एक निजी विद्यालयको बस प्रयोग गरिएको हो ।
विद्यार्थी मात्र बोक्ने संकेत बुझाउने पहेलो रंगका जनकपुरधाम–४ स्थित माइलस्टोन इङ्गलिश बोर्डिङ्ग स्कुलको प्रदेश २–०२–००१ ख ००१९ नम्बरको बसमा नेकपा एमालेले १०औं महाधिवेशनको झण्डा फहराएको पाइएको छ ।
स्थानीय ब्रम्हनन्द ठाकुरले यसरी शैक्षिक गतिविधिका लागि राज्यबाट सहुलियतका साथ लिइएको सवारीसाधन पार्टीगत फाइदाका लागि प्रयोग गरिनु आपत्तिजनक रहेको बताए । उनले कुनै पनि पार्टीको कार्यक्रममा स्कुलको बस प्रयोग गर्न नहुने धारणा राखे ।
उनले भने,‘निकै राष्ट्रवादको नारा लगाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ता स्कुलको बसमा ओसार्नु अशोभनीय छ । कुनै राजनीतिक दलको कार्यक्रममा विद्यालयले पनि आफ्नो सवारीसाधन उपलब्ध गराउनु अपराध नै हो ।’
महाधिवेशनमा सहभागीहरूको संख्या उल्लेखनीय देखाउन पार्टीले गाउँ–गाउँबाट विद्यालयको गाडी प्रयोग गरी कार्यकर्ता ओसारेको बताइएको छ ।
यस सम्बन्धमा निजी विद्यालयहरूको छाता संगठन प्याबसन धनुषाका अध्यक्ष गणेश साहले यो विषय विद्यालयसँग सम्बन्धित रहेको बताए । उनले यसबारेमा आफूले कुनै प्रतिक्रिया नदिने बताए ।
यता, अभिभावक सञ्जिव साहले विद्यार्थी बोक्न मात्र प्रयोग गरिने स्कुल बसमा पार्टीका कार्यकर्ता बोकिनु गम्भीर विषय रहेको बताए । स्कुलको बसहरूको सवालमा निर्देशिकामा स्पष्ट विद्यार्थी र विद्यालयका गतिविधमा मात्र प्रयोग गरिने बताइएकोले जो कसैले गरेको भए पनि त्यो अपराध नै रहेको उनले बताए
।
‘विद्यालय शान्ति क्षेत्र भएकाले यहाँ राजनीतिक पार्टीले हस्तक्षेप गर्न पनि पाइँदैन,’ उनले भने । यस सम्बन्धमा विद्यालयका प्रधानाध्यापक अजय यादवसँग सम्पर्क गर्दा उनले आफू धेरै व्यस्त रहेको भन्दै प्रतिक्रिया दिन मानेनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।