[अन्तर्वार्ता] सहमतिसहित यसपटक सचिवमा मेराे दाबी: खगराज अधिकारी

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनका कारण चितवन अहिले चर्चाको केन्द्रमा छ । आज दिउँसो नारायणी नदी किनारमा सुरु भएको यो महाधिवेशनबाट छानिने एमाले नेतृत्वको विषयमा चाहिँ अहिलेसम्म खासै प्रेडिक्सन हुन सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रुपमा एमाले नेतृत्व छान्न आफूले प्रयास गरिरहेको बताएकाले पनि उम्मेदवारी घोषणा गर्न नेताहरु हच्किएका छन् । स्वयं ओलीले चाहिँ अध्यक्ष पदका लागि प्रतिस्पर्धी पाइसकेका छन्, भीम रावललाई ।

ओलीले चाहेको जस्तो सर्वसम्मत नभएको खण्डमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवहरुमा कसकसको उम्मेदवारी पर्ने हो भन्ने शनिबार साँझसम्म टुंगोमा एमाले महाधिवेशन पुग्न सक्छ । 

सर्वसम्मत भए पनि वा निर्वाचन प्रक्रियामा गए पनि सचिवमा दाबी गर्ने तयारीमा छन्, पूर्वगृहमन्त्रीको अनुभव सम्हालिसकेका एमाले नेता खगराज अधिकारी । बिहीबार चितवनमा फरकधारसँग अधिकारीले लामो कुराकानी गरेका छन् । त्यही कुराकानीको सारसंक्षेपः 

अहिले एमालेमा पदाधिकारी चयनमा सहज हुनु पर्ने हो, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका एउटा तप्का पार्टीबाट बिदा भइसकेको छ । तर, यस्तो अवस्थामा पनि अहिलेसम्म पदाधिकारीमा को को आउने भन्ने निश्चित भएको छैन । नेताहरुले पनि आफूले चाहेको पद उल्टै गुम्ला भन्ने डरले अहिलेसम्म उम्मेदवारी घोषणा गर्न सकेका छैनन् । यस्तो अवस्था किन आयो ?

दसौं राष्ट्रिय महाधिवेशनको यो समयमा आइपुग्दा हामीले पार्टीलाई थप सुदृढ बनाउन नयाँ नेतृत्व छान्दा पनि अझ बढी ध्यान दिन खोजेका हौँ, हामीले यही महाधिवेशनबाट हाम्रो पार्टीमा गुटबन्दी अन्त्य गर्ने भएका छौँ । कसैले पनि प्यानल वा कुनै टिम बनाएर यसपटक पक्कै पनि उम्मेदवारी दिँदै छैन । यसअघि हामीले गरेको विधान महाधिवेशनबाट नै कसैले प्यानलसहित चुनावमा उठ्न नमिल्ने हामीले बनाएका छौँ । 

अहिले कसैले प्यानल बनाउँछु भन्यो वा उम्मेदवारी घोषणा गर्न हतार गर्यो भने उसलाई नै घाटा हुने पनि देखिएको छ । किनकि पार्टी पंक्तिमा अहिलेको अवस्थामा पार्टीमा प्यानल होस् भन्ने देखिएको छैन । हो, केही साथीहरुले सार्वजनिक खपतका लागि उम्मेदवारी घोषणा त गरेका छन्, तर यसले पनि पार्टीका महाधिवेशन प्रतिनिधिमा राम्रो सन्देश गएको देखिँदैन ।



११ गते अबको नयाँ नेतृत्व सर्वसम्मत भएर आउँछ वा हामी चुनावमा जान पर्छ भन्ने कुराको टुंगो लाग्छ, त्यही दिन विभिन्न पदमा उम्मेदवारी घोषणा पनि हुन सक्छ ।


एमालेले आफूलाई लोकतान्त्रिक पार्टी बताउँदै आएको छ । तर, एउटा लोकतान्त्रिक पार्टीमा नेतृत्वले टपक्क टिपेर तँलाई यो पद भनेर दिनु वा दिन खोज्नु कत्तिको स्वभाविक हो



सबैभन्दा पहिले के बुझ्न जरुरी छ भने यो सर्वसम्मत गर्नपर्छ भनेर पहिले नेतृत्वले भनेको होइन अर्थात् अध्यक्ष केपी कमरेडले हामीलाई सर्वसम्मत गरौँ भन्ने प्रस्ताव राख्नु भएको होइन, दबाब दिनु भएको होइन । बरु हामीले नै पार्टीलाई थप बलियो बनाउन यसपटक सर्वसम्मत गरौँ भनेका हौँ । 

हामीले बिर्सनु हुँदैन, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समावेशी र लोकतन्त्रको लागि काम गर्ने मान्छे हुन्, त्यसका लागि मरिहत्ते गर्ने मानिस हुन् । फेरि नेपालमा सबैभन्दा लोकतान्त्रिक पार्टी एमाले नै हो । सर्वसम्मत भनेको लोकतन्त्रलाई मास्नका लागि गरिन लागिएको होइन, बरु यो त लोकतन्त्रको सुन्दर पक्ष हो, त्यसलाई हामीले प्रयोग गरौँ भन्ने मात्र हो ।

 

तपाईंहरुले एकातिर सर्वसम्मतको रटान लगाइरहँदा अर्कोतिर भीम रावलले अध्यक्षमा र अरु नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् नि ?
हामीले गरेको यो महाधिवेशन नेतृत्व चयनका लागि नै हो । त्यसैले साथीहरुले विभिन्न पदमा आकांक्षा देखाउनु स्वभाविक हो, उहाँहरुको रुचि हो । यसलाई मैले अत्यन्त स्वभाविक रुपमा लिएको छु, यसमाथि अरु थप विशेष टिप्पणी गर्न चाहन्नँ ।


केहीअघिसम्म नेपाल कम्युनिस्ट पार्टी हुँदा र सर्वोच्च फैसलालगत्तै एमाले र माओवादी केन्द्र बन्दा पनि तपाईंहरुले आफूहरु निकै बलियो छौँ भन्ने अभिव्यक्ति दिइरहनु भएको थियो । अब माधवकुमार नेपालले छाडेर गएपछि एमाले कमजोर बनेको छ होला नि, होइन ?

एमाले त हिजोभन्दा आज अझ बढी सुदृढ भएको छ । अब एमालेविरुद्ध चुनावमा उत्रिनकै लागि पनि अरु गठबन्धन गठबन्धन भनिरहेका छन् । एमालेविरुद्ध पाँच भाई मिल्न खोजिरहेका छन् । उनीहरुको गठबन्धन पनि नटिक्न सक्छ, त्यसले उनीहरुलाई अहिले तनावको अवस्थामा पुर्याएको छ, उनीहरु छटपटिन थालिसकेका छन् ।

हिजो हाम्रो पार्टीमा अराजकता मौलाएको थियो, दक्षिणपन्थी, अवसरवादीहरुले बोलबोला हुन थालेको थियो, बैठक तथा छलफलसमेत चल्न दिइएको थिएन । 

अब अहिले अवस्था फेरिएको छ, पार्टी थप बलियो र स्थिर भएको छ । अस्थिरताको तत्व बाहिर जाँदा पार्टीमा स्थिरता हुँदो रहेछ, यसले पार्टीलाई थप बलियो बनाउने रहेछ ।

अस्थिरताका तत्व अहिले पार्टीबाट बाहिरिएका छन् । हो, पार्टीमा त्यो तत्वको केही छिटा बाँकी छन् तर यो पार्टीलाई धुमिल बनाउनकै लागि पूर्ण चाहिँ छैन । १० बुँदे सहमतिपछि पार्टीको मूल तत्व एमालेमा नै रहेका हुन्, सानो टुक्रा बाहिर गएको हो । यसले पार्टीलाई समस्या होइन, थप बलियो बनाएको छ ।

हाम्रो पार्टीमा माओवादी केन्द्रबाट केही भेट्रान कमरेडहरु पनि आउनु भएको छ । यसले गर्दा पार्टी थप सुदृढ बनेको छ, बलियो बनेको छ ।


तपाईंले भनेका माओवादी केन्द्रबाट आएका र १० बुँदे सहमति पछि एमालेमा नै रहेका नेताहरुलाई व्यवस्थापन गर्न सर्वसम्मतको कुरा आएको हो ?

त्यो पनि एउटा कारण हुनसक्छ । नयाँ आउन चाहने र पुरानाहरु त्यही अवस्थामा रहिरहन खोज्ने अवस्था पनि पार्टीका रुपमा हेर्दा सामान्य नै मान्नु पर्छ । हो, पार्टीलाई सुन्दर बनाउन चाहिँ पुरानो रहिरहन खोजे पनि नयाँ आउनेलाई स्थान दिँदा पार्टी थप बलियो, सुन्दर र परिपक्व हुँदै जान्छ । 

नेकपा एमालेमा पनि नयाँ नेतृत्व, युवा पुस्ता र परिपक्व नेतृत्व मिलेर अगाडि बढ्ने निश्चित छ । यसमा सबै पुरानो रहनुपर्यो भन्ने पनि हुँदैन, सबै नयाँ नै आउने भन्ने पनि होइन । हो, हामीले पदाधिकारी संख्या बढाउन सक्यौँ भने नयाँलाई समेट्न र पुरानालाई व्यवस्थापन गर्न थप सहज हुन्छ । यो समावेशी हुन्छ, यसबारे नेतृत्वले पक्कै सोच्नेछ ।

 

यसको अर्थ अब पदाधिकारी संख्या थपिन सक्छ भन्ने हो ?
विधानतः यो सम्भव नै छैन । विधानमा संशोधन हुने कुरा सानोतिनो कुरा होइन । तर, तल्लो तहबाट यसबारे व्यापक आवाज उठ्न थालेको छ, यसले अध्यक्ष केपी शर्मा ओलीलाई पनि विश्वस्त बनाउन सक्छ ।

उहाँ लोकतन्त्रमा विश्वास गर्नुहुन्छ, तलबाट यसबारे व्यापक आवाज उठ्दा ओली कमरेडले योबारे कन्सिडर गर्न पनि सक्नुहुन्छ ।


तपाईंलाई पनि यो महाधिवेशनबाट पदाधिकारीमा आउन चाहना राखिरहनु भएको छ भन्ने सुनिन्छ । तपाईंले के बन्न चाहनु भएको हो ?

दाबी त मैले अध्यक्षबाहेक अरु जे पदमा गर्दा पनि हुन्छ । यसको निर्धारण मैले मेरो इतिहास र योगदानबाट गरेको हुँ । २०३६ सालदेखि लगातार पार्टी सदस्य भएको हिसाबले, सचेतक र प्रमुख सचेतक भएर संसदमा भूमिका निर्वाह गरेको इतिहासले, मन्त्री हुँदा सरकारका काम पूरा गर्न लागेको र विवादरहित काम गरेको उदाहरणले पनि मैले जुनसुकै पदमा पनि दाबी प्रस्तुत गर्न पाउँछु, मिल्छ । 

तर, म हाम्रो पार्टीमा हुनसक्ने सहमति र एकताको बाधक चाहिँ बन्दिनँ । पार्टीमा सम्मानित साथीहरुले विभिन्न पदको माग गर्नु भएको छ, नयाँ साथीहरुले पनि चाहना राख्नु भएको छ ।

उहाँहरुको मन अमिलो बनाएर खोसेरै कुनै पद लिन्छु पनि म भन्दिनँ । हो, साथीहरुले पनि अब तपाईं नेतृत्वमा आउनु पर्छ भन्ने सुझाव र सल्लाह पनि मलाई दिइरहनु भएको छ ।

म जुन पदमा रहेर पनि काम गर्न सक्छु तर सल्लाह गरेर साथीहरुसँग विशेष सल्लाह पूरा गरेपछि मात्र म अगाडि बढ्नेछु । पदाधिकारीमा बसेर काम गर्नु पार्टीका लागि राम्रो हुनेछ, म त्यसका लागि पनि विशेष तयारी गर्नेछु । यस अर्थमा यसपटक म सचिवमा दाबी गरिरहेको छु । तर, सल्लाह र सहमतिविना म केही गर्दिनँ ।

 

सचिवमा दाबी गर्दैगर्दा पार्टीका लागि के गर्छु भन्ने योजना बनाउनु भएको छ ?

अहिले सचिवमा म उठेर यसो गर्छु र उसो गर्छु भन्ने समय होइन । पार्टीले के गर्ने, पार्टीको नीति कस्तो बनाउने भन्ने हामीले विधान महाधिवेशनमा नै टुंगो लगाइसकेका छौँ । अब म हिजो २०४१ सालमा जेल परेँ, मैले यति ठूलो यातना खेपेँ भन्नुको केही अर्थ छैन भन्ने मलाई लाग्छ । 

अब त राजनीतिलाई संस्कारी बनाउन कोशिस गरियो कि गरिएन, जनताको बहुदलीय जनवादको आचरण अनुकूल बनाउन सकियो कि सकिएन भनेर हेर्नु पर्ने समय हो । मलाई लाग्छ, यी आधारहरुलाई मान्दा हामीले पार्टीमा एउटा इँटा भए पनि थप्ने काम गरेका छौँ, मैले पनि यसमा भूमिका खेल्न पाएको छु । हामीले दृढतापूर्वक जिम्मेवारी लिँदा पार्टीको सान र इज्जतलाई अगाडि बढाउन सकिन्छ । त्यसैले पनि मैले यसपटकलाई सचिवको दाबी गरेको हुँ ।


  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १६:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया