एमाले महाधिवेशनः वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल पक्का, महासचिवमा पोखरेल–पौडेल ‘फिफ्टी फिफ्टी’

एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारीमा कोको चुनिने छन्, अहिलेसम्म टुंगो लागिसकेको छैन । यसअघिका महाधिवेशनहरु जस्तो ‘यो पदका लागि मेरो उम्मेदवारी’ भन्ने स्वरहरु पनि निकै मलिन सुनिएका छन् । अहिलेसम्म अध्यक्षमा दाबी गरेका भीम रावलबाहेक महत्त्वपूर्ण पदका लागि कुनै पनि नेताले खुलेर उम्मेदवारी घोषणा गरेका छैनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यो महाधिवेशनबाट नेकपा एमालेको नेतृत्व सर्वसम्मत हुने बताउँदै आएपछि नेताहरुले खुलेर उम्मेदवारी दिन नसकेका हुन् । बिहीबार काठमाडौंबाट चितवन आए पछि पनि नेताहरु सर्वसम्मतिका लागि प्रयास गरिरहेका छन् । उनीहरुलाई सर्वसम्मत नेतृत्व चयनका लागि वातावरण बनाउन अध्यक्ष ओलीले निर्देशन दिएका छन् ।

सर्वसम्मत नेतृत्व चयनका लागि छलफलमा जुटेका नेताहरुमध्ये एक नेताले अहिलेसम्म यसमा सहमति नजुटिसकेको फरकधारलाई जानकारी दिएका छन् । उनका अनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल हुने ‘पक्कापक्की’ भएको छ । पोखरेलको नाममा ओलीले पनि ग्रिन सिग्नल दिइसकेका छन् ।

यसअघि वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ, सुरेन्द्र पाण्डेलगायतले पनि चासो देखाएका थिए । यीमध्ये सबैभन्दा बढी यसमा चासो थियो, ईश्वर पोखरेल र सुवास नेम्वाङको । दुवै नेता एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट भएकाले यी दुवैको दाबीका कारण ओली समूहभित्र पनि फुट आइसकेको बताउन थालिएको थियो । 

‘हिजो साँझदेखि नै उहाँहरुबीच कुराकानीको अन्तिम चरण सुरु भएको हो,’ छलफलमा संलग्न ती नेताले भने, ‘सुवास कमरेड उपाध्यक्षमा जाने र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई बनाउने सैद्धान्तिक सहमति भइसकेको छ । यसमा सुरेन्द्र पाण्डेले पनि साथ दिनुहुन्छ भन्ने विश्वास छ ।’

वरिष्ठ उपाध्यक्षपछि ओलीलाई मिलाउन हम्मे हम्मे परेको अर्को पद हो, महासचिव । महासचिवमा पनि अध्यक्ष ओलीका ‘खास’ मान्छेहरु अहिले दाबी प्रस्तुत गरिरहेका छन् । केही दिनअघि सम्म शंकर पोखरेल र विष्णु पौडेलले मात्र महासचिवमा दाबी गरिरहेका थिए । अब यही पंक्तिमा थपिएका छन्, ओलीका अर्का नजिकका नेता पृथ्वीसुब्बा गुरुङ । गुरुङले पनि पछिल्लो समय आफू अब महासचिव बन्नु पर्ने दाबी गर्न थालिसकेका छन् । यसले ओलीलाई थप समस्यामा पारेको छ । त्यस्तै, १० बुँदेका कारण एमालेमा नै रहेका घनश्याम भुसालले पनि महासचिवमा दाबी गर्न सक्ने आधार यसअघि थिए । तर, अब उनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । महासचिवमा दाबी गरिरहेका यी तीन नेता शंकर पोखरेल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलाई मिलाएर अगाडि बढ्नु पनि ओलीलाई निकै चुनौतिपूर्ण छ ।



त्यस्तै, सुरेन्द्र पाण्डेले पनि फेरि महासचिवमा दाबी पेश गर्न सक्ने अनुमानहरु भएका छन् । यसबारे सुरेन्द्र पाण्डेले अहिलेसम्म औपचारिक रुपमा केही भनेका छैनन् । तर, उपाध्यक्ष हुन नपाएको खण्डमा उनले महासचिवमा आफूलाई अगाडि ल्याउन खोजेका छन् । नवौं महाधिवेशनमा पाण्डे महासचिवमा पराजित भएका थिए ।

त्यसैले चितवनमा एमाले महाधिवेशन केन्द्रित छलफलमा महासचिवमा अब को भन्ने विषयले प्राथमिकता पाउन थालेको छ ।



‘अहिलेसम्म अध्यक्ष ओलीले कसैलाई पनि तपाईं महासचिवको रुपमा तयारी गर्नुस् भन्नु भएको छैन,’ ओलीनिकट एक नेताले फरकधारलाई बताए, ‘त्यसैले पौडेल र पोखरेल को महासचिवमा आउनुहुन्छ भन्ने अहिले एकिन गर्न सकिँदैन ।’

यसअघि दुवै पौडेल र पोखरेलले आफूनिकट कार्यकर्ताहरुलाई सामाजिक सन्जालमा आफ्नो नाममा महासचिवको दाबीसहितको पोस्टर बनाएर राख्न लगाएका थिए । 

‘अहिलेसम्म उहाँहरु दुवै जना महासचिव हुनसक्ने सम्भावना छ, अर्थात् उहाँहरुको फिफ्टीफिफ्टी सम्भावना छ,’ ती नेताले भने, ‘यसबारे भोलि विहानसम्म निक्र्योल लाग्नेछ । तर, के चाहिँ निश्चित हो भने उहाँहरु दुई जना महासचिवका लागि चुनावमा जाऔँ भन्न तयार हुनुहुन्न ।’


  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १९:१५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया