के डेल्टाभन्दा बढी खतरनाक हुनसक्छ कोरोनाको नयाँ भेरियन्ट ?

कोरोना भाइरस विरुद्धको खोप अभियान विश्वभर तिव्र गतिमा चलिरहेको छ । जसका कारण करिब दुई वर्षदेखि अन्तर्राष्ट्रिय सीमा बन्द गरेका देशहरू बिस्तारै खुल्दैछन् । आर्थिक गतिविधि बल्ल चलायमान हुँदैछन् । यहीबेला विश्वभर नयाँ चिन्ता थपिएको छ । चिन्ता थप्ने काम गरेको छ- कोरोनाको नयाँ भेरियन्टले ।
 
कोरोना महामारीले थलिएको विश्व बजार बिस्तारै तङ्ग्रिँदै गर्दा कोरोनाको नयाँ भेरियन्टले पुनः त्रास थपेको छ । यसलाई अहिलेसम्मकै सबैभन्दा बढी म्युटेसन (परिवर्तन) भएको भेरियन्ट भनिएको छ । 

धेरै परिवर्तित स्वरूपका कारण नयाँ भेरियन्टलाई केही वैज्ञानिकले ‘डरलाग्दो’ बताएका छन् त केहीले ‘हालसम्मको सबैभन्दा बढी खराब’ । 

नयाँ भेरिएन्ट आएपछि अहिले प्रश्न गरिँदै छ- यो कति संक्रामक छ ? खोप लगाएकाहरूमा यो कति छिटो फैलन्छ ? अहिलेको खोपले नयाँ भेरियन्टमा काम गर्छ वा गर्दैन ? यी प्रश्नको जवाफ दिने अवस्थामा अहिले कोही छैन । नयाँ भेरियन्टबारे अध्ययन गर्न नै बाँकी छ । 

अहिलेसम्म के पत्ता लाग्यो ? 

कोरोनाको नयाँ भेरिएन्टलाई बी.१.१.५२९ भनिएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई छिट्टै अल्फा, डेल्टा जस्तैगरी नयाँ दिनेछ । 

दक्षिण अफ्रिकाको सेन्टर फर इपिडेमिक रेस्पोन्स एण्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलियो डी ओलिवेरा नयाँ भेरियन्टलाई सबैभन्दा बढी म्युटेसन भएको बताएका छन् । 



‘यो म्युटेसनको असामान्य समूह हो । यो अन्य भेरियन्टभन्दा निकै भिन्न छ,’ प्राध्यापक ओलिवेराले भने, ‘नयाँ भेरिएन्टले हामीलाई आश्चर्यमा पारेको छ । हामीले सोचेभन्दा निकै फेरबदल नयाँ भेरियन्टमा देखिएको छ ।’ 

नयाँ भेरिएन्टमा कूल ५० म्युटेसन भएको उनले जनाएका छन् । ओलिवेराका अनुसार नयाँ भेरिएन्टमा ३० भन्दा बढी स्पाइक प्रोटीनमा म्युटेसन भएको छ । धेरैजसो खोपहरु प्रोटीनमा आक्रमण गर्छन् र यसै मार्फत भाइरस पनि शरीरमा प्रवेश गर्ने गर्छन् । 



खोप कति प्रभावकारी ?

सबै म्युटेसनको अर्थ खराब र खतरनाक भन्ने हुँदैन । तर नयाँ भेरियन्टमा के-के म्युटेसन भएको छ भन्नेले भने धेरै अर्थ राख्छ । 

सबैभन्दा चिन्ताको विषय यो छ कि यो भाइरस चीनको वुहानमा भेटिएको मूल भाइरसभन्दा मौलिक रूपमा भिन्न छ । यसको अर्थ- मूल भाइरसलाई ध्यानमा राखेर बनाइएको खोप नयाँ भेरियन्टमा प्रभावकारी नहुन पनि सक्छ । 

अन्य भेरियन्टमा पनि केही म्युटेसन देखिएको थियो जसलाई नयाँ भेरियन्टले त्यसको भूमिका कस्तो हुन्छ भन्ने जानकारी दिनसक्छ । जस्तो एन ५०१ वाई भाइरसले फैलन सजिलो बनाउँछ । 
केही म्युटेसन यस्ता हुन्छन् जसले एन्टीबडीलाई भाइरसको पहिचान गर्न अप्ठेरो बनाइदिन्छन् । यसले खोपको प्रभावलाई पनि कम गर्छ ।
 
‘हाम्रो चिन्ता यो छ- नयाँ भेरियन्टले एकअर्कामा फैलन सक्ने क्षमता बढाउन सक्छ । यसले आफूलाई प्रतिरक्षा प्रणालीबाट पनि बचाउन सक्छ,’ दक्षिण अफ्रिकाको युनिभर्सिटी अफ क्वाजुलु–नटालका प्राध्यापक रिचर्ड लेसल्सले भने ।
 
भेरियन्ट यस्ता पनि छन् जो कागजमा निकै डरलाग्दो हुने तर मानिसमा खासै ठूलो असर नगर्ने । यस वर्षको सुरुमा बेटा भेरियन्ट चिन्तको विषय बनेको थियो किनकि यो प्रतिरक्षा प्रणालीबाट जोगिन माहिर थियो । तर पछि डेल्टा भेरियन्ट संसारभर फैलियो र सबैलाई अत्याउने कारण बन्यो ।

युर्निभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक रवि गुप्ता भन्छन्, ‘बेटा प्रतिरक्षा प्रणालीबाट बच्न सक्थ्यो तर डेल्टा भेरियन्ट बढी संक्रामक थियो र प्रतिरक्षा प्रणालीबाट बच्ने थोरै मात्र क्षमता राख्थ्यो ।’ 

नयाँ भेरियन्टका केस

नयाँ भेरियन्टलाई लिएर अहिले प्रयोगशालामा वैज्ञानिकहरू अध्ययन गरिरहेका छन् । अध्ययन रिपोर्ट बाहिर आएपछि थप स्पष्ट हुनेछ- नयाँ भेरियन्ट कति खतरनाक छ ।

अहिले नै निष्कर्ष निकाल्नु हतार हुन्छ तर नयाँ भेरियन्टले दिएका संकेत सकारात्मक छैनन् । नयाँ भेरियन्टको संक्रमण भएको दक्षिण अफ्रिकामा ७७, बोत्स्वानामा ४ र हङकङमा १ मामिला पुष्टि भएका छन् । हङकङमा देखिएको संक्रमण दक्षिण अफ्रिकाको यात्रासँग जोडिएको छ । पछिल्ला घटनाले नयाँ भेरियन्ट तिव्र गतिमा फैलिएको देखाएको छ । नयाँ भेरियन्ट कति खतरनाक छ भन्ने थाह पाउन यसलाई नजिकबाट नियाली रहनु आवश्यक छ । 

भारत र बेलायतले जारी गरे निर्देशन
 
नयाँ भेरियन्ट फैलने खतरालाई मध्यनजर गर्दैै भारत र बेलायतले नयाँ निर्देशन जारी गरेका छन्।  
अफ्रिका, हङकङ र बोत्स्वानामा कोरोनाको नयाँ भेरिएन्ट बी.१.१.५२९ का संक्रमित भेटिएपछि भारत र बेलायतले नयाँ निर्देशन जारी गरेका हुन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार सबै राज्यलाई दक्षिण अफ्रिका, हङकङ र बोत्स्वानाबाट आउने यात्रुहरूलाई कडा जाँच र परीक्षण गर्न निर्देशन दिएको छ । 

‘नयाँ भेरियन्टको म्युटेसन निकै धेरै रहेको बताइएको छ । यसकारण ती देशमा यात्रा गर्ने र ट्रान्जिट बनाउने सबै अन्तर्राष्ट्रिय यात्री ‘एट रिस्क’को श्रेणीमा छन् । उनीहरूको कडा जाँच र परीक्षण गर्न अनिवार्य छ,’ भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भनेको छ ।

बेलायतले पनि अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि अफ्रिकाका ६ वटा देशबाट हुने हवाई उडानमाथि प्रतिबन्ध लगाएको छ । 

(बिबीसीबाट)
 

  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार ७:३५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया