ज्ञान हुनु र आमा हुनु धेरै फरक कुरा रहेछ

कयौंपटक आफ्नै आँखा अगाडि पालुवा फेर्‍याे आँगनको रूखले । चोला फेर्‍याे गाउँको स्वरूपले। आँखै अगाडि स्वरूप फेरियो आफ्नै शरीरको । चेतना स्तर पनि त कहाँ एकनास रहिरह्यो र सधैंभरि ! उमेरसँगै सपना फेरिरहे निरुका आँखाहरूले । आँखै अगाडि छाडिँदै गयाे बालापन । हेर्दाहेर्दै छुटेर गए साथीसंगी । माइती भयो आफै जन्मेहुर्केको आँगन । फेरिँदै गयो जीवनको लय। आमाको कोखबाट सुरु भएको जीवनको यात्रा छोरीकी आमासम्म आइपुगेको छ । छुटी गएका कयौं कुरा सम्झिँदा हिजोआज निरुलाई लाग्छ ‘मानिसले पनि रूखले पात फेरेजस्तो फेरिरहनुपर्ने रहेछ रंग ।’ 

त्यो सरल बाल्यकाल

व्यापारी बाबु । कृषि कर्ममा खटिरहने आमा । हजुरबुवा-हजुरआमा सहितको संयुक्त परिवार । दुई दाजु र दिदीकी कान्छी बहिनी । उनको बाल्यकाल कहिले माटोमा लुटपुटिएर, कहिले दाजु दिदीसँग झगडा गरेर, कहिले हजुरबुवा-हजुरआमासँग लाडिएर बित्यो । बुवाआमा आफ्नै काममा व्यस्त । अहिलेका बालबच्चाहरूले जस्तो विशेष केयर र समय पाउँदैनथे त्यो बेलाका बालबालिकाले । निरु पनि जीवनको आफ्नै लय समातेर हुर्किएकी हुन् । 

आफ्ना हर काम आफैंले जानेर गर्नु पर्थ्याे । ‘स्कुलको गृहकार्य गर’ भनेर कसैले हर्कानु पर्दैनथ्यो । आफैंले जानेर खाने, खेल्ने र पढ्ने समय छुट्टाउनु पर्थ्याे । स्कुलमा कहिले दोस्रो पोजिसन आएन निरुको । सधैं प्रथम भएर स्कुलको पढाइ सकेकी निरु साथी र गुरुहरूकी पनि प्यारी थिइन् । 

राम्रो पढाइ । आर्थिक हिसाबले राम्रै कमाइ भएको परिवार । त्यो समय डाक्टर, पाइलट बन्छु भनेको भए निरुका बुवा छोरीको सपनामा जति पनि खर्च गर्न तयार थिए । तर, सधैं भनिरहे ‘तिमी जे गर्छौ मन लाएर गर ।’ निरुको त्यही मन गएर अल्झियो रेडियोको आकाशे तरंगमा । प्लस टु सकेपछि निरुले रेडियो यात्रा सुरु गरिन् । 

कालिका एफएमले जोड्यो पिरती



निरुले प्लस टु पढ्दै गर्दा चितवनमा सिनर्जी एफएमको स्थापना भयो । उनी कलेज आउनेजाने बाटोबाटै उनकै उमेरका रेडियाेमा बाेल्नेहरू ओहाेरदाेहाेर गरिरहन्थे । त्यो समय रेडियोको निक्कै लोभलाग्दो क्रेज थियो । हरेक उमेरका मानिसहरू आफ्नो उमेर सुहाउँदा कार्यक्रम चाख लाएर सुन्थे । रेडियोप्रति मानिसको क्रेज देख्दै हुर्किएकी निरुलाई रेडियोकै तरंगले तान्यो । उनले प्लस टु सक्दा नसक्दै चितवनमै अर्को रेडियो कालिका एफएम खुल्यो । निरु रेडियोमा जागिर खान गइन् । त्यही रेडियोमा भेटिए दमौलीका पवनराज पौडेल । पवनसँगको भेट मित्रता, प्रेम हुँदै विवाहमा परिणत भयो । रेडियोका सहकर्मी पवन र निरु जीवनका सहयात्री बने । 

विवाहको चार वर्षपछि आमा



दुवैको कच्चा उमेर । भर्खर सुरु भएको करिअर । अन्तरजातिय प्रेम विवाह । लामो समय त अर्को परिवार र संस्कारमा आफूलाई ढाल्नै लाग्दो रहेछ । कामको सिलसिलामा घर बाहिर बसे पनि चाडपर्वमा घर पुग्दा आफूले मान्दै आएको भन्दा फरक संस्कृति देखिन्थ्यो । निरुलाई अनौठो लाग्थ्यो । हुन त निरुले जीवनमा सोचेको भन्दा धेरै कुरा नसोचेकै भए । उनले कुनै दिन सोचेकै थिइनन् अन्तरजातिय विवाह गर्छु भनेर । नेवार परिवारकी छोरी ब्राम्हण परिवारकी बुहारी बनिसक्दा पनि उनलाई लागेको थिएन म अर्को पारिवारिक संस्कृतिमा रमाउँन सक्छु भनेर । बिहे गरेको केही वर्ष त उनलाई लाग्थ्यो, ‘यहाँ पनि मेरोजस्तै संस्कृति भैदिएको भए कत्ति सजिलो हुन्थ्यो ।’ सजिलो अप्ठ्यारो त लाग्ने कुरा न रहेछ । निरुलाई बिस्तारै दुवै संस्कृति प्रिय लाग्न थाले । 

अप्ठ्यारा लाग्ने कुराहरू सामान्य लाग्दै गए । करिअरले राम्रो पिकअप लिएकै थियो । विवाह गरेको झण्डै चार वर्ष निरु र पवनले एक-अर्कालाई समय दिए । करिअर विकासमा ध्यान दिए। यता समाज र परिवारले भने प्रश्न गर्न थालिसकेको थियो ‘दुईबाट तीन कहिले हुने हो ?’ निरु हाँसेर जवाफ दिन्थिन् ‘हामी आफैं बच्चा छौं । अहिले बच्चा जन्माएर के गर्नु !’ पवनको स्वभाव कमै बोल्ने थियो । उनी केवल मुस्कानले जवाफ फर्काउँथे । 

धेरैले प्रश्न गर्न थालेपछि निरुको मनमा कताकता डर पसेको जस्तो हुन्थ्यो । उनलाई लाग्थ्यो ‘कतै बच्चा नै भएन भने ?’ तर्क नै तर्कनामा मनमा तुफान उठ्थ्यो, ‘बच्चा नभै त मेरो घर राम्रो हुँदैन होला ।’ नेपाली समाजको स्कुलिङ नै त्यस्तै थियो । स्कुलिङको असर उनमा पनि पर्थ्याे बेला बेलामा । त्यसपछि उनले निर्णय गरिन् अब बच्चा जन्माउनु पर्छ । 

चितवन छोडेर निरु हेटौंडा पुगिन् । पेशा उही, रेडियोको तरंग फेरियो । कालिका एफएम छोडेकी निरु रेडियो थाहा सञ्चार हेटौंडाको मेगाहर्जमा सुनिन थालेकी थिइन् । महिनावारी रोकियो । उनलाई मनमा मनमा त लाग्यो ‘म प्रेगनेन्ट भएँ कि के हो !’ यति सम्झिँदै उनको मनमा खुसी सञ्चारित भयो । पवनलाई सुनाउनु अघि निरुले ‘प्रेगनेन्सी किट्स’ ल्याएर परीक्षण गरिन् । उनलाई एक पटकको रिपोर्टले विश्वास लागेन । पुनः टेस्ट गरिन । दोस्रो पटक पनि रिपोर्ट पोजेटिभ आयो । पवनलाई भनिन्, ‘अब हामी अभिभावक बन्ने भयौं ।’ एकको खुसी दुबैमा सञ्चारित भयो । 

अब हामीलाई बच्चा चाहिन्छ भन्ने भएपछि पेटमा आएको बच्चाको सूचनाले निरुको मनमा आएको भावना आज पनि शब्दमा कसरी व्यक्त हुन्छ थाहा छैन उनलाई । यत्ति थाहा छ ‘अब म पूर्णताको बाटोमा जाँदै छु । मेरो जीवन अब सफल हुनेछ । अब आमा हुँदैछु भन्ने भएपछि एकखालको आत्मविश्वास बढेर आउँदो रहेछ’ निरुले सुनाइन् । 

अर्को बच्चा जन्माउन सक्दिनँ

यसै पनि आमा हुनु अर्को जन्म लिनु हो भन्छन् । तर कसरी यो थाहा थिएन निरुलाई । उनलाई मात्रै रहर थियो एउटी परीजस्तै छोरीको । गर्भमा आइहालिन् समय पुगेपछि जन्मिन्छिन् । तर सोचेको जस्तो सजिलो कहाँ हुन्थ्यो र अर्को जिन्दगी जन्माउन । गर्भावस्थाका सुरुका चार महिना निक्कै कष्टकर रहे । एक घुट्को पानी खाँदा एक मुठी भएर फर्किन्थ्यो । शारीरिक हिसावले कमजोर महसुस हुन्थ्यो । हिजोसम्म मिठो लागेर जिब्रो पड्काउँदै खाएका खानेकुरा हेर्न नपरे पनि हुन्थ्यो जस्तो लाग्थ्यो । घरमा श्रीमान श्रीमती मात्रै । दुवै जागिरे । घरको काम पनि सकेजति गर्नु पर्थ्याे । यतिबेला निरु खुब धेरै सम्झना गर्थिन् संयुक्त परिवारको । पहिलो पटक गर्भवती भएको केही महिनामा नै उनलाई लाग्यो, ‘म अर्को बच्चा जन्माउन सक्दिनँ ।’

अघिपछि पनि सहयोगी थिए पवन । गर्भावस्थाको समयमा सबैखाले सहयोग गर्थे । तैपनि सासू, आमा, दिदीहरू भएको जस्तो हुँदैन रहेछ । निरु बारम्बार परिवारको सम्झना गर्थिन् । कहिले कसैसँग बोल्न नपरे पनि हुन्थ्यो जस्तो लाग्थ्यो । लागेको जस्तो हुँदैनथ्यो फेरि पनि जिन्दगी । उनी दिनकै दुई-तीनवटा कार्यक्रम चलाउँथिन् । दिनभरि बोलिरहँदा शारीरिकभन्दा धेरै मानसिक थकान महसुस हुन्थ्यो । यस्तैयस्तै गर्दै निरुले गर्भमा हुर्काइरहिन् अर्को जिन्दगी । 

मुभमेन्ट गर्दा अर्कै खुसी 

गर्भावस्थाको समय छोटिँदै गयो । शरीरको आकार बढ्दै गयो । गर्भको बच्चाले आफ्नो मुभमेन्ट सुरु गर्‍याे । अहो ! यो खुसी झन् अर्कै हुँदो रहेछ । जब बच्चाले पेटमा मुभमेन्ट गर्थ्याे निरुलाई अर्कै लोकमा पुगेको भान हुन्थ्यो । कहिल्यै महसुस नगरेको खुसी मिल्थ्यो । हरेक क्षण रमाइलो लाग्थ्यो । 

धेरैले भन्थे गर्भावस्थाको बेलामा आमाले गरेको, खाएको, सोचेको कुराको असर बच्चामा पर्छ । निरु रमाइला गीत सुन्थिन् । सकारात्मक ऊर्जा प्रवाह गर्ने किताब पढ्थिन् । गीत सुनिरहँदा बच्चाले अझैं धेरै मुभमेन्ट गरेको महसुस हुन्थ्यो उनलाई । गर्भावस्थाकै बेला पहिलो पटक निरुले भागवतगीता पढिन् । छोरी मान्छेको सोचाइ र रोजाइ समय अनुसार बदलिरहने रहेछ । निरुको पनि गर्भावस्थाको फेजसम्म आइपुग्दा धेरै चिज परिवर्तन भैसकेका थिए । आमा भैसकेका आफन्तले भन्थे ‘दूध खाऊ बच्चालाई राम्रो हुन्छ । पिरो नखाऊ बच्चालाई नराम्रो हुन्छ । माछा खाऊ बच्चाको ब्रेन राम्रो हुन्छ ।’ उनलाई अनौठो लाग्थ्यो, ‘हिजोसम्म तिमीलाई यो मन पर्छ छोरी भन्ने आमाले पनि बच्चालाई राम्रो गर्छ यो खाऊ भन्दा ।’ 

एउटी गर्भिणी आमाको सपनामा कहिले परीजस्तै छोरी आउँथी । कहिले राजकुमार जस्तै छोरो । विपनामा भने निरुले छोरा वा छोरीको कल्पना गरिनन् । मात्रै उनको आँखामा एउटा स्वस्थ बच्चा आउँथ्यो । पवन र निरु दुवैलाई छोरी मन पर्थ्याे । गर्भावस्थाको समयमा पेटमा रहेको बच्चालाई लिएर खुब धेरै कुरा गरे उनीहरूले । बच्चा नजन्मँदै निरुले भनेकी थिइन, ‘छोरी जन्मिन् भने नाम प्रार्थना राख्नु पर्छ ।’

आठ महिनामा जन्डिस

गर्भावस्थाको ८ महिना बित्दै थियो । निरुको शरीरमा हेमोग्लोबिनको मात्रा घटेर गयो । जन्डिस देखियो । शारीरिक र मानसिक दुवै हिसाबले कमजोर भइन् । यो समय अरूलाई पनि व्यक्त गर्न नसक्ने खालको पीडा अनुभूति भयो उनलाई । ‘आफूलाई रोग लाग्योभन्दा ठूलो पीर बच्चालाई के होला भन्ने हुँदो रहेछ’ निरु नोस्टाल्जिक भइन् । यसपछि भने निरुले अफिस छोडिन् । उपचार र आराम गरिन् । बिस्तारै सबै कुरा नर्मल हुँदै गयो । 

त्यसबेला हेटौंडामा प्रसुतिका लागि त्यत्ति राम्रो अस्पताल थिएन । वरिपरि आफन्त थिएनन् । समय बित्दै गएपछि निरुले निर्णय गरिन् ‘डेलिभरीका लागि चितवन जानु पर्छ ।’ उनलाई अस्पतालको भन्दा ठूलो भर थियो आमाको, आमा भैसकेका आमाजूहरूको । यही भर बोकेर डेलिभरी डेट नजिकै आएपछि निरु चितवन पुगिन् । 

डाक्टरले दिएको डेलिभरी डेट एक साता पर गैसकेको थियो । नियमित चेकअप गराउँदा सबै नर्मल रिपोर्ट आउँथ्यो । डाक्टरले भन्थे ‘केही दिन हेरौं ।’ हेर्दाहेर्दै थप केही दिन बिते । निरु प्रसव व्यथा कुरेर बसिन् । १० दिनपछि उनलाई प्रसव व्यथा सुरु भयो । भरतपुर अस्पताल भर्ना भइन् । 

लास्ट आवरमा अप्रेसन

निरु चाहन्थिन् ‘प्राकृतिक रूपमा बच्चा जन्मियोस् ।’ नर्मल डेलिभरीका लागि उनी तयार पनि थिइन् । एक रात एक दिन लामो व्यथा लाग्यो । निरुलाई आमा नजिकै भैदिए हुन्थ्यो भन्ने लाग्थ्यो । ठाउँ अनुसारका चलन हुँदा रहेछन । सुत्केरी व्यथाले च्यापेको बेला आमा नजिकै भयो भने झन् गाह्रो हुन्छ भनेर आमालाई बाहिर पठाइयो । निरुको आधा हिम्मत र भर आमासँगै बाहिर निस्कियो । आज पनि उनले बुझेकी छैनन्, ‘त्यो समय आमालाई किन बाहिर जान भनियो ।’ न त उनले कसैसँग प्रश्ननै गरेकी छन् ।

प्रसव व्यथा जति बढ्दै जान्थ्यो निरुलाई जीवनप्रतिको मोह टुटेर जान्थ्यो । उनी सोंच्थिन् ‘मेरो जीवन यहींसम्मको रहेछ ।’ यतिबेला पनि उनलाई आफ्नो जिन्दगीको भन्दा धेरै माया जन्मिँदै नजन्मिएको बच्चाको लाग्यो । मनमा भुमरी उठ्थ्यो ‘म मरेर मेरो बच्चा बाँच्यो भने कसरी हुर्किएला ।’ अस्पतालका भित्तामा लेखिएका अक्षर हेर्थिन र सोच्थिन्, ‘मैले अन्तिम पटक पढ्ने अक्षर यही रहेछन् ।’ निरु भित्रभित्रै चिच्याउँथिन् । नजिकै रहेका पवनलाई दुख्ला भनेर त्यो चिच्चाहट बाहिर निकालेर रुन सकिनन् । अहो ! कति धेरै कुरा देख्नु पर्दो रहेछ, भोग्नु पर्दो रहेछ । जिन्दगीलाई त्यसै महासागर कहाँ भनिएको रहेछ र ? जीवनको यो चरणमा यस्तै आएथ्यो निरुको मनमा । 

यति लामो  प्रसव व्यथा लाग्दा पनि नर्मल डेलिभरी हुन सकेन । अन्ततः डाक्टरले फैसला सुनाए ‘बच्चा सिजरिङ गरेर निकाल्नु पर्छ ।’ सुइ देखेरै डराउने निरु अप्रेसन सुन्नासाथ डराइन् । उनी भन्दा धेरै डराइन् उनकी आमा । नजिकै रहेका पवनले भने, ‘एक आधा घण्टाको काम हो । त्यो पछि सबै ठिक हुन्छ । हामी सबै सँगै हुन्छौं ।’ निरुलाई ढाडस मिल्यो । उनी यसै पनि आत्तिएकी थिइन् ‘यो पीडाबाट कहिले मुक्ति मिल्ला’ भनी । 

पहिलो स्पर्सले आँत भरिएन

निरु अप्रेसन थिएटरमा गइन् । उनलाई सुइबाट एनेस्थेसिया (लठ्याउने औषधि) दिइयो । चल्दा चल्दैको आधा शरीर चल्न छोड्यो । अघिसम्म मर्छु भन्ने बनाएर दुखेको दुखाइ एकाएक हरायो । उनको अप्रेसन सुरु भयो । निरु बच्चा जस्तै भइ्न एकैछिन । अप्रेसनमा खटिएका डाक्टर र नर्सलाई नाम के हो ? भन्थिन् । डाक्टरले प्रतिप्रश्न गर्थे ‘किन चाहियो हाम्रो नाम ?’ निरु भन्थिन् ‘मेरो जीवनको बायोग्राफी लेखेँ भने लेख्नु पर्छ तपाईंको नाम । डाक्टर मुसुक्क हाँस्थे । निरु फेरि अर्को प्रश्न गर्थिन् । डाक्टरले धेरै नबोल्नु भनिरहनु पर्थ्याे । 

अन्ततः उनको बच्चा निकालियो । नर्सले तुङरुङ पारेर बच्चा देखाए । निरुले झलझल बलिरहेकी आफ्नी छोरी देखिन् ।  दुखेका सबै घाउ एकाएक निकाे भए । उज्यालो भयो निरुको मन । नर्सले उनको नांगाे छातीमा टाँसिदिइन् छोरीको शरीर । अहो ! छोरीसँगको त्यो पहिलो स्पर्स कुन शब्दमा व्यक्त गर्ने थाहा छैन निरुलाई । हात चलेका थिएनन् । उनी च्याप्प अँगाल्न चाहन्थिन छोरीलाई । मायाले स्पर्स गर्न चाहन्थिन् । पेटभरि छोरीलाई हेर्न चाहन्थिन् । तर डाक्टरले बच्चा सफा गर्ने रुममा लगेर गए । उनले आँत भरिने गरी छोरीलाई स्पर्स गर्नै पाइनन्। त्यो पछि झण्डै एक घण्टासम्म उनको छोरीसँग भेट भएन । निरुको मनमा छट्पटी भैरह्यो कतिखेर भेटौं छोरीलाई भनेर । कुर्न कति गाह्रो हुँदो रहेछ निरुले पहिलो पटक महसुस गरिन् । 

पहिलो पटक अर्कैको दूध

एनेस्थेसियाको असर कम हुँदै गयो । अप्रेसन थिएटरबाट निरु बाहिर आइन् । छोरी काखमा लिइन् । दुध चुसाउन खोजिन् तर दूध चुसाउनै जानिनन् । उनको स्तनबाट दुध पनि आएन । छोरी नमज्जाले रोइन् । आमाले जन्मँदा जन्मँदैको बच्चालाई दूध चुसाउँन नजान्नु, जन्मँदा जन्मँदैको बच्चालाई दूध चुसाउन कसैले सिकाउनै नपर्नु कस्तो अनौठो लाग्यो निरुलाई । छोरी रुँदा नरसाएका स्तन चस्किए । त्यो दुखाइ झन् असह्य थियो । त्यो दिन उनकी साथीले छोरीलाई दूध ख्वाइन् । छोरीले जन्मिनासाथ अर्कैको दूध खाइन् । झन् धेरै दुख्यो निरुको छाती । 

जन्मेको दुई दिनमा छोरी एनआइसियूमा

छोरी जन्मिएको दुई दिनसम्म सब ठिकठाक थियो । अप्रेसन गरेको ५ दिनमा अस्पतालले घर पठाउने निर्णय सुनाएको थियो । तर दुई दिनमै छोरीलाई जन्डिस देखियो । उच्च ज्वरो आयो । उनकी छोरीलाई एनआइसियूमा लगियो । बेला बेला डाक्टरले निरुलाई छोरी दिन्थे । उनी दूध चुसाउँथिन् । जब उनको काखबाट छोरीलाई एनआइसियू कक्षमा लगिन्थ्यो निरुको मुटु निकालेर बाहिर लगेको जस्तो हुन्थ्यो । उनी निक्कै छट्पटिन्थिन् । उनलाई घरीघरी छोरी भएको ठाउँमा जान मन लाग्थ्यो । तर एनआइसियु कक्षमा निरुलाई जान कहिल्यै दिएनन् पवनले । एनआइसियू कक्षमा छोरी कसरी राखिएको छ हेर्नै पाइनन् । 

प्रसव व्यथाको अन्तिम चरणमा निरुलाई लागेको थियो ‘योभन्दा दुख्ने ठाउँ, पीडा हुने ठाउँ हुँदैन होला जीवनमा ।’ तर दुखाइका सिलसिला बल्ल सुरु भएका रहेछन । झण्डै ८ दिन छोरीलाई एनआइसियूमा छोडेर बस्नु पर्दाको पीडा सम्झँदा निक्कै पटक भरिए निरुका आँखा । उनलाई त्यसबेला डर लागेको थियो ‘मेरी छोरीसँग अब भेट नै हुँदैन कि ।’ डाक्टर र श्रीमान मिलेर आफूबाट छोरी छुटाउन खोजेको जस्तो लाग्थ्यो । अस्पतालको बेडमा कति बगे निरुका आँसु त्यसको कुनै हिसाब छैन उनीसँग । यतिबेला पनि पवनको बलियो साथ नपाएको भए कति कमजोर हुन्थ्यो होला निरुको मन उनी आफैंलाई थाहा छैन । पवन निरुलाई सम्झाइरहन्थे, ‘हाम्रो छोरीकै राम्रोका लागि त्यहाँ राखिएको हो । त्यहाँ जति धेरै बस्न पाउँछिन् त्यति छिट्टो जाती हुन्छिन् ।’ छोरी जाती हुन समय लाग्यो । १० दिनको दिन साँझ पर्नै लाग्दा अस्पतालले डिस्चार्ज दियो । उनको काखमा छोरी आइन् । निरुलाई ब्रह्माण्डै आफ्नो काखमा थपक्क बसेको महसुस भयो । पेटमा लिएर गएकी छोरी काखमा लिएर निरु घर फर्किन् । 

तीन महिनापछि काममा

घर फर्किएपछि सबै कुरा सामान्य हुँदै गए । आमा हुनुअघि गहिरो निद्रा निदाउने निरुको निद्रा पातलो हुँदै गयो । साथमा आमा थिइन् । सबैले आफ्नो बच्चालाई माया र केयर गरेको देख्दा निक्कै खुसी हुन्थ्यो निरुको मन । सुत्केरी हुनु एक महिना अगावै बिदा बसेकी निरुलाई त्यतिबेला लाग्यो ‘अब मेरो करिअर यही सकियो । मैले पहिलाको जस्तो रफ्तारमा काम गर्न सक्दिन ।’ ३ महिनापछि निरु हेटौंडा फर्किन् । त्यसपछि निक्कै गाह्रो भयो उनलाई छोरी सम्हाल्न । यतिबेलासम्म उनी आफैंले केही गर्नै परेको थिएन । 

अफिस सुरु गरेपछि झन् धेरै गाह्रो भयो । घरमा छोरी छोडेर रेडियोमा कार्यक्रम चलाउन जान्थिन् । मान्छे रेडियोको स्टुडियोमा हुन्थिन्, मन घरमा भएकी छोरीमा । छोरीका साथमा पवन त हुन्थे तर निरुलाई आमाले जस्तो केयर गर्न सक्दैनन् होला बुवाले भन्ने लाग्थ्यो । उनी कार्यक्रम सकेर हतारहतार घर आउँथिन् । यो समय पनि निरुले परिवारको अभाव निक्कै महसुस गरिन् । उनी कल्पना गर्थिन ‘कम्तीमा सासू-ससुरासँगै हुन पाएको भए नानुको लागि म यसरी तड्पिनु पर्दैनथ्यो होला ।’  बिस्तारै छोरी हुर्कँदै गइन् । अप्ठ्याराहरू पनि थपिँदै गए । तर हरेक अप्ठ्यारालाई आमाको मनले सजिलै स्विकार गरिदिँदो रहेछ । हर अप्ठ्यारालाई मेरो जिन्दगीको अर्कै प्याटर्न सुरु भयो भनेर स्विकार गरिन् निरुले । 

त्यो पहिलो बिछोड 

उनी कहिले छोरी बोकेर रेडियो गइन् । टेक्निसियन रुममा छोरी छोडेर कार्यक्रम चलाइन् । कहिले पवन र निरु आलोपालो गरेर अफिस गए । यस्तै गर्दागर्दै प्रार्थना साढे दुई वर्षकी भइन् । उनले छोरीलाई मन्टेश्वरी भर्ना गरिदिइन् । घरबाट झण्डै दुई किलोमिटरको दुरीमा थियो मन्टेश्वरी । पहिलो दिन निरु छोरीलाई मन्टेश्वरी छोडेर फर्किँदा रुँदैरुदै फर्किन् । त्यसबेला उनलाई लागेको थियो ‘यहीबाट छोरी टाढा हुने क्रम सुरु भयो । छोरी मसँग बस्न यति मात्रै रहेछ ।’ त्यो दिन उनको मन निक्कै भारी भैरह्यो । काम गर्न सकिनन् । 

बिस्तारै छोरी छोड्ने बानी पर्दै गयो । मन्टेश्वरी सकेर स्कुल जाने भइन् । मन्टेश्वरीबाट हेटौंडा एकेडेमीमा छोरीलाई भर्खर भर्ना गरिएको थियो । पवन काम विशेषले हेटौंडा बाहिर गएका थिए। भर्खर फेरिएको स्कुल, नचिनिएका साथी, स्कुलसम्म छोडिदिने बुवा पनि घरमा थिएनन् । छोरीले स्कुल नजान जिद्दी गरिन् । त्यसबेला प्रार्थना ५ वर्ष लाग्दै थिइन् । फकाउँदा नफकिएपछि निरुले छोरीलाई पहिलो पटक पिटिन् । छोरीलाई कति दुख्यो थाहा छैन । निरुको मन मात्रै होइन जिन्दगी नै दुख्यो । छोरीभन्दा पहिला उनी आफैं रोइन् । त्यो दिन उनले छोरीलाई स्कुल पनि पठाइनन् । निरु काममा पनि गइनन् । पवनलाई फोन गरेर भनिन्, पवनले मलिन स्वरमा भने ‘पिट्न चाँहि नपिटेको भए हुन्थ्यो ।’ त्यसपछि आजसम्म निरुले छोरीलाई एक लबटो पनि लगाएकी छैनन् । 

आफ्नोभन्दा छोरीको चिन्ता

छोरी ६ वर्षकी हुँदा निरु काठमाडौं आइन् । फेरि छोरीको स्कुल फेरियो । साथी छोडिए । प्रार्थना दोस्रो कक्षामा काठमाडौं पढ्न आइन् । छिट्टै सबैसँग घुलमिल भैहाल्ने निरुकी छोरीले छिट्टै साथी पनि बनाइन् । छोरीको पढाइ राम्रो थियो । निरु र पवनको जागिर ठिकै थियो । सबै ठिकठाक चलिरहेकै थियो । यो ठिकठाकको जिन्दगी एकाएक नमिठो भयो । बोल्दाबोल्दै निरुको स्वर धुमिल हुँदै गयो । उनको जिब्रोमा घाउ देखियो । लामो समय के भएको हाे निर्क्याैल गर्नै गाह्रो । यसै भएको भन्ने थाहा भएपछि सम्हालिन गाह्रो । उनको जिब्रोमा ट्युमर देखियो । अप्रेसन गर्नुपर्ने भयो । निरुलाई लिएर पवन दिल्ली जाने भए । निरुलाई त्यसबेला लागेको थिएन ‘फेरि फर्किएर आउँछु । म मेरी छोरीसँगै हुनेछु ।’ उनलाई लागेको थियो ‘म मेरी छोरी सधैंका लागि छोडेर जाँदैछु ।’

दिल्ली निस्कनु अघि निरुले छोरीको स्कुलमा फोन गरेर भनिन्, ‘हामी दिल्ली जाँदैछौं । हामी नभएको बेला मेरो छोरीले स्कुलको सबै होमवर्क गर्न सकिनन् भने पनि उसलाई क्षमा दिनु होला । उसलाई सिकाउने, केयर गर्ने हामी हुने छैनौं । पछि आएपछि सबै रिकभर गराउने छौं ।’ त्यसपछि उनी उपचारका लागि दिल्ली गइन् ।
 
झण्डै एक महिना निरुको उपचार चल्यो । कुनै रात नछोडेकी छोरी काखमा थिइनन् । आफ्नै जीवनको भरोसा थिएन । एकदिन मरिन्छ, मर्नुपर्छ भन्ने कुरामा कन्भिन्स भैसकेकी थिइन् निरु । उनलाई लाग्थ्यो, ‘जन्मिएपछि सबैले मर्नुपर्छ । म मरेँ भने अलि चाँडै मर्ने भएँ । मेरी छोरी सानै छिन् । बावुले मात्रै कसरी, कस्तो संस्कार दिएर छोरी हुर्काउँछन् होला । मेरी छोरी कसरी हुर्किन्छिन् होला ।’ निरुका आँखा ओभाउँदैनथे । 

२५ दिनपछि उपचार गरेर निरु नेपाल फर्किन् । घर फर्किँदा निरुको बोली थिएन । शरीरमा तागत थिएन । छोरीलाई उनका बुवाले भनेका थिए ‘ममीलाई गाह्रो हुन्छ दुःख नदेऊ है ।’ छोरी उनको नजिकै आउन डराइन् । नजिकै बोलाउने निरुको तागत थिएन । यो समय उनी रुन पनि सकिनन् । अधिकतम दुखाइमा आँसु पनि आउँदो रहेनछ । निरुले पहिलो पटक महसुस गरिन् । लामो समय प्रार्थना आमालाई दुःख हुन्छ भनेर नजिक आउँदैनथिन् । निरुलाई भने लाग्थ्यो, ‘छोरी मैसँग आउन् ।’ उनी भित्रभित्रै रुन्थिन् । झण्डै आठ महिना त निरुले ठोस खानेकुरा खान सकिनन् । भत्किएपछि जिन्दगीको लय पुनः ट्र्याकमा आउन समय लाग्ने रहेछ । जीवनले पुरानै लय समात्न झण्डै २ वर्ष लाग्यो । 

छोरीको खोसियो बालापन

प्रार्थना सानैबाट बुझ्ने बच्चा थिइन् । आमा बिरामी भएपछि झन् धेरै समझदार र आफ्नो काम आफैं गर्ने भइन् । त्यसबेला उनी ८ वर्ष लाग्दै थिइन । ४ कक्षामा पढ्ने छोरीले सानातिना आफ्नो काम आफैं गरेको देख्दा निरुको मन भाँचिन्थ्यो । उनलाई लाग्थ्यो ‘मेरी छोरीले राम्रोसँग बालापनको उमेर बाँच्नै पाइनन् । उमेरभन्दा अगावै परिपक्व हुनु पर्‍याे ।’ छोरीको खोसिएको बालापन सम्झिएर अहिले पनि दुख्छ निरुको मन । 

अर्को दुखाइ जिन्दगीको

एक रात निरु र उनकी छोरी मात्रै थिए घरमा । रातिको झण्डै १ बज्न लागेको थियो । प्रार्थनाले निरुलाई बोलाइन् । उनको रजस्वला सुरु भएछ । यो अघिल्लो वर्षको कुरा हो । प्रार्थना ११ वर्षकी मात्रै थिइन् । थाहा पाएपछि निरुले छोरीलाई प्याड लगाइदिइन् । न्यानो पारेर सुताइन् । छोरी निदाइन् तर उनी निदाउँन सकिनन् । त्यो रातभरि भक्कानिरह्यो निरुको मन । रजस्वला हुनु भनेको परिपक्व हुनु हो यो कुरा राम्रोसँग थाहा थियाे निरुलाई । तर ज्ञान हुनु र आमा हुनु फरक कुरा रहेछ । निरुलाई लाग्यो ‘छोरी मबाट टाढा हुने अर्को स्टेसन भेटियो । अब छोरी ठूली भइन् ।’ पवन घरमा थिएनन् । निरुले रोएरै रात बिताइन् । थाहा छैन यस्ता स्टेसन कहाँ कहाँकहाँ भेटिन्छन् जिन्दगीमा ! 

  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार ९:२९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया