कर्णाली प्रदेश : मुख्यमन्त्रीलाई विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार

कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरू मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन् ।

यही मङ्सिर १४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले मङ्सिर १ गते प्रदेशसभा सचिवालयमार्फत बैठकको आह्वान गरिसकेको छ । निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत वैशाख ३ गते सत्ता गठबन्धन दलसँग गरेको भद्र सहमतिमै रहेर गत कात्तिक १५ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै १६ गते शाही मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्तिको १४ दिनपछि कात्तिक ३० गते नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेशसभा दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरेर एक सदस्यीय मन्त्रिपरिषद् विस्तार भएता पनि त्यसयता सरकार गठनका विषयमा कुनै छलफल हुनसकेको छैन । जसले गर्दा नीतिगत तहका गतिविधिका साथै जनताका काम अपेक्षितरूपले अगाडि बढ्न सकेका छैनन् ।

मन्त्रिपरिषद् विस्तार ढिलाइ हुनुमा सबै पार्टीका अधिवेशन, भेला, प्रशिक्षण र सत्ता गठबन्धन दलभित्रै मन्त्रालय बाँडफाँटको कुरा निष्कर्षमा आउन नसकेको नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा दलका नेता शाहीले जानकारी दिए । 

मुलुकको राजनीतिक अवस्थामा यो ठाउँमा आउनुमा कर्णाली र त्यसमा एकीकृत समाजवादीका चार प्रदेशसभा सदस्यको कुर्वानीले भएको जिकिर गर्दै उनले आफ्नो पार्टीले तीन मन्त्रालयको दाबी नछाड्ने जनाए ।

दलका नेता शाहीले मुख्यमन्त्रीले समय दिए पनि हामी सत्ता गठबन्धन दलका नेताहरू आ–आफ्ना पार्टीका कार्यक्रममा व्यस्त रहेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको र अब विश्वासको मत दिएपछि विस्तार हुने जानकारी दिए । मुख्यमन्त्री शाहीले सत्ता गठबन्धन दलसँगको छलफल र सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुने बताए ।



उनले अहिले सबै दलका वडा, पालिका, जिल्ला, क्षेत्रीय प्रतिनिधिहरूको निर्वाचनको चटारोले केही ढिला भए पनि जतिसक्दो मन्त्रिपरिषद् विस्तारको कार्यलाई तीव्रता दिइने बताए । 



  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ९:१६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया