काठमाडौं- नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुईवर्षभित्र तयार हुने भएको छ । नौ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी १५ वटा चिकित्सा विज्ञानका शल्यक्रिया कक्ष (अपरेसन थिएटर) रहनेछन् ।
चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालका भौतिक पूर्वाधार विस्तारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च प्राथमितामा राखेको छ । अहिले भवनको निर्माण कार्य एवम् आवश्यक उपकरण आयात कार्य एकसाथ अगाडि बढेको छ ।
भवनभित्र पोस्ट अपरेटिभ, ४० शय्याको सर्जिकल, अति सघन कक्ष र पुस्तकालय रहनेछन् । यसैगरी, ज्येष्ठ नागरिक तथा अपांग तथा बिरामी कुरुवामैत्री भवन बन्ने न्याम्सले जनाएको छ । नेपाल सरकारको तीन अर्ब ८५ करोडको लागतमा सो भवन विसं २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । विनाशकारी भूकम्पले क्षति पुर्याएको न्याम्सअन्तर्गतको नर्सिङ कलेजको पुरानो भवनको संरचना भत्काएर सोही स्थानमा शल्यक्रिया भवन निर्माण गर्न लागिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विस २०७४ फागुन २५ गते सो भवनको शिलान्यास गर्दै निर्धारित समयभित्र भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए । त्यतिबेला प्रधानमन्त्रीले भनेका थिए, ‘सबै रोगका उपचार स्वदेशभित्रका अस्पतालबाट सर्वसुलभ हुन्छ । यस कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको छ । स्वास्थ्य क्षेत्रका चिकित्सक, जनशक्ति, औषधि तथा भौतिक पूर्वाधार तयार गर्न रकमको अभाव हुने छैन ।’
विसं १९४७ मा १५ श्ययाबाट सेवा दिन सुरु गरेको वीर अस्पतालको हालको क्षमता चार सय ५० श्ययाको रहेको छ । न्याम्समा चिकित्साविज्ञानका नर्सिङ, एमबिबिएस, एमडीलगायत विभिन्न तहमा उच्च शिक्षा पठानपाठन तथा तालिमका कार्यक्रम समेत सञ्चालन हुँदै आएका छन् ।
नाम्सको कुलपति पद खाली भएको पाँच महिना बितिसकेको छ । एक कर्मचारीका अनुसार अहिले कुलपति नहुँदा दैनिक कार्यसञ्चालनमा समेत अप्ठ्याराे परिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. सुशीलनाथ प्याकुरेल विभिन्न प्रतिष्ठानमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि मन्त्रीसमक्ष सिफारिस भइसकेकाले छिटै पदपूर्ति हुने बताए ।
वीर अस्पतालले सो स्थानमा एक हजारदेखि एक हजार पाँच सय शथ्यासम्मको अस्पताल, नर्सिङ, औषधि पसल, चिकित्सा शिक्षाका लागि कलेज, आवासगृहलगायतका पूर्वाधार तयार गर्दै छ । सरकारी स्तरमा पहिलोपटक हेलिप्याडको सुविधा समेत रहने निर्देशक प्राडा बस्नेतले जानकारी दिए । आगामी पाँच वर्षभित्रमा भौतिक संरचनाका काम सम्पन्न गर्ने गरी भवन निर्माण भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।