पुसको पहिलो साता काठमाडौंमा ढाका कपडाको प्रर्दशनी तथा ढाका कपडा उद्योगी व्यवसायीको भेला हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्यान्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा पुस २, ३ र ४ गते काठमाडौं बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा ढाका कपडाको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको भेला हुने भएको हो ।
प्रदर्शनीमा ४० वटा स्टल रहने बताइएको छ । त्यसमध्ये २५ वटा स्टलमा ढाकाका वस्तु र १५ वटा स्टलमा रेशाजन्य अल्लोका उत्पादन राखिने नेपाल ह्यान्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघका संयोजक रमेश श्रेष्ठले जानकारी दिए ।
सो अवसरमा ढाका उद्यमी व्यवसायीको छाता संस्थाको रुपमा रहेको ह्यान्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको पुनर्गठन समेत गरिने संयोजक श्रेष्ठले बताए । उनका अनुसार प्रदर्शनीमा राष्ट्रिय अल्लो उद्यमी संघ नेपालको पनि सहयोग रहेको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामकुमार गिरीले पछिल्लो समय ढाकाको महत्व बढ्दै गएको र ढाकाको उत्पादनमा विविधीकरण हुन थालेको बताए । ढाकाले महिला दिदी–बहिनीलाई रोजगारमा संलग्न गराउनका साथै पिछडिएका जनजातिको आर्थिक स्तरमा उन्नति गर्न समेत मद्दत पुर्याएको उनले बताए ।
अध्यक्ष गिरीले ढाकालाई फेसन उद्योगसँग जोड्नु आवश्यक रहेको समेत उल्लेख गरे । ढाकाले ग्रामीण भेगमा रोजगारी सिर्जना गर्न र ग्रामीण भेगमा सन्तुलित विकास गर्न भूमिका खेलेको पनि उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।