राजनीतिक दलको महाधिवेशन र कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट

७ चैत २०७६ मा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरे । उनले चैत ११ गतेदेखि कोरोना महामारीका कारण देखाउँदै देशभर लकडाउन जारी गर्ने घोषणा गर्दै थिए । यति मात्र नभएर उनले कोरोना महामारी के हो ? यसबाट बच्न के–के गर्नुपर्छ भन्ने सम्मको टिप्ससमेत दिइरहेका थिए । यति मात्र नभएर दुई वा दुई जनाभन्दा बढी मानिस एक ठाउँमा भेला नहुनसमेत आग्रह गरिरहेका थिए । जबकि त्यो बेला नेपालमा दुईजना मात्र कोरोना संक्रमित थिए । संसार नै त्रसित बनिरहेका बेला ओलीको राष्ट्रको नाममा सम्बोधनपछि सबै क्षेत्र धमाधम बन्द हुन थाल्यो । मानिसहरूमा एकाएक त्रास पैदा हुन थाल्यो । 

समयको गति अघि बढ्दै गयो । २६ असार २०७७ मा ओलीले राष्ट्रकै नाममा अर्को सम्बोधन गरे । कोरोनाबाट बच्न सामाजिक दूरी कायम गरौँ भन्दै राष्ट्रका नाममा सम्बोधन गरिरहँदा उनका कार्यकर्ता भने सडकमा ‘केपी बा आई लभ यू’ भन्दै नाराबाजी गरिरहेका थिए । ओलीले गरेको राष्ट्रको नाममा सम्बोधन टेलिभिजनमार्फत हेरिरहेका कतिपय भने, ‘हामीलाई सामाजिक दूरी कायम गर भन्ने आफ्ना कार्यकर्तालाई भने सडकमा नारा लगाउन जा भन्ने ?’ भन्दै ओलीको आलोचना गरिरहेका थिए । त्यो बेलासम्म नेपालमा ५० हजारभन्दा बढी कोरोना संक्रमित भइसकेका थिए । 

कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी भने प्रधानमन्त्रीसँगै अन्य राजनीतिक दलप्रति आक्रोशित बनिरहेका थिए । उनीहरूलाई पनि निकै सकस थियो, एकातिर विनासुरक्षा सावधानी संक्रमितको उपचार गर्नुपर्ने अर्कोतिर बिरामीको धमाधम मृत्यु भइरहेको थियो । राजनीतिक दल भने आफ्नो शक्ति प्रदर्शन गर्दै सडकमा उत्रिरहेका थिए । 

असार साउनमा नेकपाभित्रकै ओली समूह र प्रचण्ड–नेपाल समूहबीच शक्ति संघर्ष चलिरहेको थियो । जसका कारण ओली न पार्टीलाई राम्रोसँग अगाडि बढाउन सकिरहेका थिए न त महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सकिरहेका थिए । यो शक्ति संघर्ष चलिरहेको थियो । असार साउनतिर थोरै–थोरै भीड जम्मा गरेर नाराबाजी तथा शक्ति प्रदर्शन गरिरहेका थिए । 

तर, २०७७ को पुस माघबाट भने सडकमा कसले कति लाख मान्छे उतार्न सक्ने भन्दै होडबाजी नै चल्यो । विशेषगरी काठमाडौं उपत्यकालाई केन्द्र मानेर तत्कालीन नेकपाभित्रकै दुई समूह शक्ति प्रदर्शनमा उग्र बनेर लाग्यो । कहिले भृकुटीमण्डपमा त कहिले दरबारमार्गमा ओली र प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शनको जुहारी नै चल्यो । प्रदर्शनमा आएका मान्छेहरू देखेर हेर्नेहरू भन्थे, ‘यतिका बहादुर नेपाली सडकमा आएपछि त कोरोना चेपिएरै आफैँ मर्छ होला ।’

१४ पुस २०७७ मा भृकुटीमण्डपमा प्रचण्ड–नेपाल समूहले आमसभा आयोजना गरेको थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै त्यसको विरुद्धमा आयोजना गरिएको आमसभामा काठमाडौंबाट मात्र नभएर उपत्यकाबाहिरबाट पनि कार्यकर्ता ल्याइएको थियो । जबकि त्यही बेला स्वास्थ्य मन्त्रालयले विज्ञप्ति नै जारी गरेर भीडभाड हुने कार्य नगर्न सबैलाई सचेत गराइरहेको थियो । प्रहरीले गोली चलाउँदा पछि नहट्ने नेपाली स्वास्थ्य मन्त्रालयको विज्ञप्तिसँग कसरी डराउँथे !



आफ्नो निर्णयको बचाउ गर्दै ओलीले पनि मान्छे त जम्मा गर्नैपर्यो । उनले पनि दरबारमार्गनजिकै नारायणहिटी दरबार संग्राहलयकै अगाडि आमसभा गरे । जसका लागि उनले प्रदेश १,२, कर्णाली प्रदेशसँगै देशभरबाट कार्यकर्ता बटुले । जबकि त्यसअघि नै आफैँ प्रधानमन्त्री रहेका ओलीले कोभिड–१९ को महामारी घोषणा गरेका थिए । जबकि महामारी घोषणाको अन्त्य नभएसम्म त्यसका विरुद्ध कुनै पनि कार्य गर्न पाइँदैन । तर, ओली नै आफैँ सक्रिय भएपछि अरूले त गर्ने नै भए । 

यसरी शक्ति प्रदर्शन, कार्यकर्ता प्रदर्शनजस्ता राजनीतिक गतिविधिका कारण कोरोना महामारीको जोखिम बढ्दै गयो । स्वास्थ्य मन्त्रालयले पटक–पटक आग्रह गर्दै गर्दा पनि त्यसको बेवास्ता गरियो । तर, ११ वैशाख २०७८ बाट दोस्रोपटक लकडाउन गर्न पर्यो । 



सबैले सावधानी अपनाएको भए देशलाई फेरि लकडाउनमा नलैजाने सरकारको तयारी थियो । तर, नेकपाभित्रको दुई समूहको शक्ति प्रदर्शन, नेपाली कांग्रेसको पनि प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनजस्ता कारणले कोरोनालाई थप प्रश्रय मिल्यो । 

यो त भयो विगतको इतिहास । अब कुरा गरौँ, हालै देखिएको कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ । दक्षिण अफ्रिकामा फेला परेसँगै विभिन्न देशहरूले सावधानी अपनाउँदै विदेशीलाई निषेधसम्मका कार्य गर्न थालेका छन् । यो भेरियन्ट भारतमा समेत भेटिसकिएको छ । अहिलेसम्मको कोरोना महामारीको अवस्था हेर्ने हो भने, भारतमा फेला परेको एक महिनापछि नेपालमा पनि देखापर्ने गरेको छ । जसले गर्दा सावधानी अपनाउन सकिएन भने अबको एक महिनापछि नेपालमा पनि त्यसको जोखिम हुन सक्छ । 

चितवनमा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन, यही मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौं हुन लागेको नेपाली कांग्रेसको १४औँ महाधिवेशन, माओवादी केन्द्रको भइरहेको अधिवेशनहरू, मंसिर १५ देखि १७ सम्म हुन गइरहेको राप्रपाको एकता महाधिवेशनजस्ता राजनीतिक दलका महत्वपूर्ण कार्य अघि बढिरहेका छन् । राजनीतिक दलका यस्ता गतिविधिले भने कोरोना महामारीको जोखिमलाई चुनौतीपूर्ण बनाइरहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी भने राजनीतिक दलका गतिविधिकै कारण महामारीको जोखिम बढिरहेको बताउँछन् । कोरोना महामारी नियन्त्रण सरकार एक्लैले नसक्ने मन्त्रालयको ठहर छ । मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले नयाँ भेरियन्टको जोखिम संसारभर नै उत्तिकै रहने बताए । 

‘अहिलेसम्म त नयाँ भेरियन्ट नेपालमा भेटिएको छैन । समयमै सचेत हुन सकेनौँ भने अर्को भयावह अवस्था आउन सक्छ,’ डा. अधिकारीले भने, ‘यसका लागि एउटा स्वास्थ्य मन्त्रालय र स्वास्थ्यकर्मीले मात्र बुझेर हुँदैन । तीन करोड नेपाली नै उत्तिकै जिम्मेवार हुनुपर्छ ।’ 

कोरोना महामारीका कारण कोही संक्रमित हुनु वा कसैको मृत्यु हुनुको पछाडि सबैको उत्तिकै जिम्मेवारी रहेको उनको भनाइ छ । राजनीतिक दलहरूलाई भीडभाड हुन गतिविधि नगर्न पटक–पटक आग्रह गर्दै आएको उनको भनाइ छ । तर, आफूलाई समस्या नपर्दासम्म कसैले पनि नसुन्ने समस्या रहेको भन्दै उनले भने, ‘आफ्नो मान्छे मर्यो, आफू संक्रमित भयो भने मात्र पीडा हुन्छ । अरू कोही मर्यो भने त केही हुँदैन भन्ने सोच हामीहरूको छ ।’

जनस्वास्थ्यविद्हरूले नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न सीमा नाका बन्द गर्नुपर्ने र अन्तर्राष्ट्रिय हवाई मार्गसमेत बन्द गर्नुपर्ने बताइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही आधारमा प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापक केन्द्रको बैठकमा लगेको थियो । आज बसेको बैठकमा यो विषयमा छलफल मात्र भएको थियो । 

‘निर्णय गर्ने अधिकार हामीलाई छैन । बैठकमा नयाँ भेरियन्टको जोखिमबारे छलफल भयो । थप निर्णय गर्नका लागि मन्त्रिपरिषद् बैठकलाई अनुरोध गर्नुपर्छ ।’ केन्द्रकी प्रवक्ता सह–सचिव सुनिता नेपालले भनिन् । 

  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार २१:४२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया