एमाले महाधिवेशन : रातभरिमा प्रक्रिया सक्ने, सोमबार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान

एमालेको जारी महाधिवेशन अन्ततः सर्वसम्मत रुपमा टुंगिन सकेन । 

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि तयार पारेको सूचीमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले असहमति जनाएपछि निर्वाचन हुने भएको छ । 

उपाध्यक्ष रावलले अध्यक्षमा दाबी गरिरहेका छन् भने भुसालले उपाध्यक्षमा दाबी गरेका छन् । 

निर्वाचन हुने भएपछि अहिले महाधिवेशनस्थलमा निर्वाचनको कार्यतालिका प्रकाशन भएको छ । भोलि बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुने बताइएको छ ।

निर्वाचन आयुक्त सानुराज पोखरेलले महाधिवेशन अब निर्वाचन प्रक्रियामा गएको जानकारी दिएका छन् । उनले भने, ‘यो मतदाता नामावली प्रकाशन हो । अब उम्मेदवार जुन पदमा हुन्छन् त्यही पदमा निर्वाचन हुन्छ ।’

सहमतिमै नेतृत्व चयन गर्नुपर्ने अडानमा रहेका अध्यक्ष केपी शर्मा ओली र उनीपक्षीय नेताहरूले यसअघि उम्मेदवारी फिर्ता लिनका लागि रावल र भुसाललाई दबाब दिएका थिए ।  



ओलीले तयार पारेको सूचीमा महासचिवमा शंकर पोखरेलको नाम छ । ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्षमा प्रस्ताव गरिएको छ । महासचिवका प्रमुख दाबेदार विष्णु पौडेललाई पोखरेलपछिको उपाध्यक्षमा प्रस्ताव गरिएको छ । 

भीम रावल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्षमा प्रस्ताव गरिएको छ । उपमहासचिवमा घनश्याम भुसाल, प्रदीप ज्ञवालीलाई अघि सारिएको छ । 



अध्यक्षमा उम्मेदवारी​ घोषणा गरेका भीम रावल र उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका घनश्याम भुसालले चुनाव हुनुपर्ने अडान राखेपछि निर्वाचन हुने भएको हो । 

    

 

  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार २३:४९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया