कैलालीको पूर्वपश्चिम राजमार्गमा पटक-पटक सवारी दुर्घटना

मंसिर ९ गते पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा टीकापुरकी ४० वर्षीया गोमा थापाको ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भयो । कैलालीको लम्कीचुहा नगरपालिका-१, लम्की चौराहमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको हाे।

लम्कीकै भूपेन्द्र बडुवाल हत्या प्रकरण किनारा नलाग्दै ट्रकको ठक्करबाट थापाकाे मृत्यु भएपछि लम्की पुनः तनावग्रस्त बन्याे । प्रहरीले हालसम्म बडुवाल हत्याको चुरो पत्ता लगाउन सकेको छैन । यस घटनाले पनि लम्की क्षेत्र २ दिनसम्म तनावग्रस्त बनेको थियो । 

मंसिरमा थापाको मृत्यु भए पनि उनको पहिचान खुलेको थिएन । पहिचान नखुल्दै स्थानीय युवाहरूको समूहले ट्रकमा आगजनी गरिहाले । युवाहरूलाई दुर्घटनापछि कानुनीपाटो भन्दा पनि उनीहरूको टार्गेट ट्रकमा आगजनी नै थियो । मृतक थापाको परिवारलाई भने केही पनि थाहा थिएन । 

पछिल्लो समय युवाहरू आक्राेशित भई कानुनीपाटाे भन्दा पनि आगजनीतर्फ बढी केन्द्रित हुने गरेका छन् । कैलालीकी अनु हमाल सामाजिक सञ्जालमा लेख्छिन्- ‘पीडित परिवारलाई थाहा नै नदिएर ट्रकमा आगजनी गर्नु गलत हो । पीडित अर्कै छन् । आगो लगाउने अर्कै । यसमा प्रहरी प्रशासनको सही भूमिका देखिएन् ।’ 

हमालले सोझा नागरिकहरूलाई ठग्ने काम भएको बताइन् । उनले ट्रक जलाउनेहरूलाई कारबाहीकाे दायरामा ल्याउनु पर्ने माग गरेकी छन् । 

‘ट्रक जलाउने अराजक व्यक्तिहरूलाई कानुनको दायरामा ल्याई सजाय दिनपर्ने थियो । त्यो देखिएन । पीडित पक्षका अराजक गतिविधि गर्ने मनसाय थिएन । कसले कुन उद्देश्यका साथ ट्रकमा आगो लगाए केही थाहा छैन्’, हमालले लेखेकी छन् ।



उनले प्रहरी प्रशासनले पनि सोझा परिवारको आवाजलाई सुन्न नसकेकाे आराेप लगाइन् । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलाली क्षेत्रमा यस प्रकृतिका घटना हुने क्रम बढ्दो छ । गत वर्षमात्र कैलालीको लम्की क्षेत्रमा यस प्रकृतिका ३ वटा घटना भएका थिए । तीनवटै घटनाले लम्की क्षेत्र तनावग्रस्त भएकाे थियाे ।



शनिबार मात्र फेरि पूर्वपश्चिम राजमार्ग कैलालीको सुखडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक वसन्तराज शर्माको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भयो । मृतकका आफन्तले टायर बालेर बिहान ८ बजेबाट सडक अवरुद्ध गरी क्षतिपूर्ति पाउनुपर्ने माग गरेको छ । 

ट्रक चालकको पहिचान नभएको र उनी फरार रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । प्रहरीका अनुसार उनको खोजी कार्य भइरहेको छ । 

जिल्लाको घोडाघोडी नगरपालिका-५ डोकेबजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु.प.प्र.०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । स्थानीयहरू निरन्तर टायर बालेर सडक अवरुद्ध गरिरहेका छन् ।

स्थानीय के भन्छन् ?

राजमार्गमा पटक-पटक हुने दुर्घटनामा प्रहरी प्रशासनको लापरवाही हुने गरेको स्थानीयहरूको आरोप छ । दशकौं अगाडि निर्माण गरिएको सडकको स्तरोन्नति नहुँदा दुर्घटना बढिरहेको लम्कीका व्यवसायी मनिस न्यौपानेले बताए । 

उनले भने, ‘राजमार्ग स्तरोन्नतिदेखि ट्राफिक नियम पालन गर्नलाई जनचेतनामुलक कार्यक्रम गर्ने गरेका छन् । साघुँरो सडकमा तीव्र गतिमा सवारी हाँक्न राेक लगाए धेरै हदसम्म दुर्घटना न्यूनीकरण हुन्छन् ।’ 

सडक दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको महत्त्वपूर्ण भमिका रहने उनकाे भनाइ छ । 

समाजमा उच्छृङ्खल गतिविधिहरू मन पराउने समूह पनि हुने हुँदा अराजक क्रियाकलाप हुने गरेको बताए । ‘समाजमा सबै व्यक्ति एकै खालको हुँदैनन्’, उनले भने ‘अपरिपक्व व्यक्तिहरू अराजक गतिविधिमा संलग्न भएको देखिन्छ ।’ 
 
लम्की क्षेत्रका स्थानीय विद्यार्थी नेता ललित जाेशी भन्छन्, ‘राजमार्गमा केही नियम बनाइएकाे हुन्छ ।‘भएका नियम नै पालन नगरिदिँदा समस्या हुने गरेको छ ।’ 

घटना भएपछि दुई पक्षीय वार्ता हुन्छ तर त्यो वार्तामा भएका निर्णयहरू कार्यान्वयन नहुँदा समस्या हुने गरेको उनले भनाइ छ । 

‘पछिल्लो समय प्रहरी प्रशासनप्रति स्थानीयहरूमा डर नै हराएको छ’, उनले भने, ‘किनभने प्रहरीले निर्णय गर्छ तर कार्यान्वयनमा ल्याउँदैन ।’

प्रहरीले सबैलाई समान व्यवहार नगर्ने जाेशीकाे आराेप छ ।

उनी भन्छन्, ‘प्रहरीले पनि सबैलाई समान कानुन लागू गर्दैनन् । मान्छे हेरर व्यवहार गरिदिँदा परिणाम उल्टो भइरहेकाे छ ।’ 

स्थानीयले प्रहरीलाई साथ दिँदै आएको उनले दावी गरे । 

के भन्छ प्रहरी ?

‘सडक साँघुरो छ । सवारी चाप दिनप्रतिदिन बढ्दो छ’, कैलालीका प्रहरी नायव उपरीक्षक वेद जोशी भन्छन्, ‘कतिपय अवस्थामा ट्राफिक नियम पालना नगरिदिँदा दुर्घटना भएको देखिन्छ ।’

स्थानीय पनि संयमित नभइदिँदा पनि कहिलेकाही समस्या भएको देखिएको उनले बताए । 

उनले भने, ‘दुर्घटना भइसकेपछि कानुन हातमा लिने अधिकार कसैलाई हुँदैन । समन्वयात्मक ढंगल अगाडि बढेमा समस्याको निराकरण हुन्छ ।’

स्थानीय सरकार पनि दुर्घटना हुने क्षेत्रमा गम्भीर बन्नु आवश्यक रहेकाे उनकाे भनाइ छ।

सडक दुर्घटना प्रहरीको एक्लो प्रयासले मात्र सम्भव नभएको हुँदा यसमा सबैको भूमिका आवश्यक रहेको उनले बताए । 

‘प्रहरीको एक्लो प्रयासमा दुर्घटना न्यूनीकरण कुनै पनि हालतमा हुँदैन’, उनले फरकधारसँग कुरा गर्दै भने, ‘स्थानीयको भूमिका पनि महत्त्वपूर्ण हुन्छ ।’

काम गर्ने सिलसिलामा प्रहरीमा कमीकमजोरी भए सच्याई दिन उनले आग्रह गरे ।

  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १३:२०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया