कैलालीमा दुई चरणमा मतदाता नामावली संकलन हुँदै

कैलालीमा मतदाता नामावली सुरु हुने भएको छ । यही मंसिर १७ गतेदेखि सुरु हुने मतदाता नामावली संकलन कार्य आउने पुस १८ गतेसम्म सञ्चालन हुने भएकाे हो ।

मंसिर १७ गतेदेखि पुस २ गतेसम्म पहिलो चरण र पुस ४ गतेदेखि १८ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन कार्य सुरु गर्न लागिएको प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए । 

कैलालीका १३ स्थानीय तहमध्ये १० वटामा यति बेला अभियान थालिने भएकाे हो । पहिलो चरणमा ५ वटा स्थानीय तह र दोस्रो चरणमा ५ वटा गरी १० वटा स्थानीय तहमा मतदाता नामावली संकलन गरिनेछ । 

तीनवटा स्थानीय तहमा इलाका प्रशासन कार्यालयबाट निरन्त्तर मतदाता नामावली भइरहेको निर्वाचन अधिकारी भट्टले जानकारी दिए ।

१७ गतेदेखि प्रदेश निर्वाचन कार्यालयबाट अन्य जिल्लाको मतदाता नामावलीमा नाम दर्ता गर्न चाहनेलाई पनि कार्यालयबाटै नामावली दर्ता गरिने उनले बताए । 

पहिलो चरणमा कैलारी गाउँपालिका, गोदावरी नगरपालिका, बर्दगोरिया गाउँपालिका, चुरे गाउँपालिका र जोशीपुर गाउँपालिकामा मतदाता नामावली हुने भएको छ । त्यस्तै दोस्रो चरणमा लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, गौरीगंगा नगरपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिकामा हुनेछ । 



धनगढी उपमहानगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय कैलाली र प्रदेश निर्वाचन कार्यालयबाट मतदाता नामावली भइरहेको प्रदेश निर्वाचन अधिकारी भट्टले बताए ।

घोडाघोडी नगरपालिकाको इलाका प्रशासन कार्यालय सुखड र टिकापुर नगरपालिकाको इलाका प्रशासन कार्यालय टीकापुरबाट मतदाता नामावली संकलन भइरहेको भट्टकाे भनाइ छ ।



कैलालीमा अहिलेसम्म २ लाख ४२ हजार ६१२ पुरुष, २ लाख ५५ हजार ४७७ महिला र १० जना अन्य गरी ४ लाख १९ हजार ९९ मतदाता रहेका छन् । 

सोमबार धनगढीमा भएको अन्तरक्रिया कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सबै नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न आवश्यक रहेको बताए । 

अधिकारी थापाले राजनीतिकर्मीहरूले आफ्ना क्षेत्रका नागरिकहरूलाई मतदाता नामावली दर्ता गराउन सहयोग गर्न समेत आग्रह गरे । 

‘लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाउन मतदाताहरूको भूमिका महत्त्वपूर्ण हुन्छ’, उनले भने, ‘किसानले खाद्यान्न उत्पादनका लागि खेतीमा मेहनत गरेजस्तै राजनीतिकर्मीले उमेर पुगेकाहरूलाई मतदाताको पहुँचमा पुर्‍याउन आवश्यक छ ।’ 

कार्यक्रममा जुनसुकै व्यक्तिले पनि आफ्नो मतदाता नामावली सम्बन्धित क्षेत्रमा सार्न इच्छुक भए अहिले नै चासो लिन थापाले सबैलाई अनुरोध गरे ।

  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १४:२८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया