महाधिवेशनमा नेतृत्व छान्ने सकस : ओलीले जिते कि हारे ?

सर्वसम्मत अध्यक्ष बनेर चितवनबाट फर्कने केपी शर्मा ओलीको चाहनामा ब्रेक लगाएका भीम रावल यतिबेला एमालेवृत्तमा सबैभन्दा बढी चर्चाको पात्र हुन् । सौराहामा भइरहेको एमाले महाधिवेशनको बन्दसत्रमा रावलले अध्यक्ष ओलीलाई दिएको चुनौतीकै कारण यतिबेला माहोल निर्वाचन केन्द्रित बनेको छ । 

रावलको कारण सहमति हुन नसकेको भनिएपनि अन्तिमसम्म पनि ओलीलाई आफ्नै समूहका नेता व्यवस्थापनमा खुब सकस पर्‍याे ।

आइतबार (हिजो) बिहानैदेखि सौराहास्थित पार्क सफारी रिसोर्टमा बसेर नेताहरूसँगको निरन्तर छलफलले कुनै मूर्त रूप लिन नसकेपछि ओली बन्दसत्रहलतिर निराश भएर फर्किएका थिए । 

विरोधीलाई समेत स्पष्ट रूपमा सहमतिको अध्यक्ष बनेको सन्देश दिन खोजेका ओली आफैं महाधिवेशनको निर्वाचन प्रक्रियाबाट भागिरहेका छन् । उपाध्यक्ष रावलको निरन्तरको अडानपछि ओलीले मध्यरातमा केन्द्रीय सदस्य, पदाधिकारी र विभिन्न आयोगका सदस्यहरूको नाम पढेर सुनाए ।

तर, ती नाम सार्वजनिक भएसँगै ओलीसँग रुष्ट हुनेहरूको संख्या बढ्दै गएको छ । आफ्नै समूहभित्रका नेताहरूलाई समेत ब्याक गराउँदै ओलीले एमालेभित्रका १० भाइ, पूर्वमाओवादी र असन्तुष्टहरूको व्यवस्थापन गर्न समय खर्चिए । भलै ओलीले अहिले निर्वाचन जित्न सक्लान्, तर सर्वसम्मतिका लागि बन्दसत्रको हलबाट नाम पढेर सुनाएपछि भने धेरैको असन्तुष्टि बिस्तार बाहिरिन थालेका छन् । 

ओलीलाई आफूनिकट नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल लगायतले मन दुखाएका छन् । एउटै होटलमा बास बसेका नेम्वाङलाई फकाउन ओलीले हिजो दिनभर प्रयास गरे । महासचिवका दुई दाबेदारमध्ये पौडेल र शंकर पोखरेललाई मनाउन ओलीलाई धेरै अप्ठ्याराे परेन । यसअघि उपमहासचिव बनेका पौडेललाई उपाध्यक्षमा उकाले भने पोखरेललाई वरिष्ठ अध्यक्ष बनाए। 



तर, नेम्वाङलाई फकाउन ओलीलाई उति सजिलो भएन । राष्ट्रपति बनाउने प्रस्तावसम्म गर्न भ्याए, ओलीले । पछिल्लो पटक संसद विघटनदेखि १० बुँदे कार्यान्वयनसम्ममा नेम्वाङले देखाएको दोधारे प्रवृत्तिले ओली खुसी थिएनन् । उनको इच्छा वरिष्ठ उपाध्यक्ष बन्ने रहेको बताउँदै गर्दा नेम्वाङले ओलीबाहेकलाई नेता नमान्नेदेखि राष्ट्रपतिको प्रस्ताव अस्वीकारसम्म गरे । 

ओलीलाई आफ्नै समूहमा घाटा



एकातिर पूर्वमाओवादी नेताहरूकाे व्यवस्थापन गर्नुपर्ने दबाब थियो ओलीलाई । अर्कोतिर, माधव नेपालको साथ छाडेर आएका १० भाइको उचित जिम्मेवारी तोक्नपर्ने थियो । रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएपनि माहौल ओलीकै पक्षमा छ । भलै उनले यो निर्वाचन प्रणालीबाट अध्यक्ष बन्न पाउलान् । तर, आफ्नै किचन क्याबिनेटभित्रका केही खास पात्रहरूको भने ओलीले मन दुखाएका छन् । 

नेकपाकालीन बेलामा नै महासचिव भइसकेका पौडेल एमालेको महासचिव बन्ने दौडमा थिए  । उनीसँगै शंकर पोखरेलको पनि दाबी थियो । अन्तिममा बाजी मारे, पोखरेलले । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेल ओलीका विश्वासपात्रमध्येका एक मानिन्छन् । पौडेललाई पनि ओलीको विश्वासपात्रकाे रूपमा चिनिन्छ ।
 
बालुवाटार जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री ओलीले उनलाई साथ दिएका थिए । र, पाैडेलले नेकपा कालीन अध्यक्ष प्रचण्ड र ओलीबीच मध्यस्थता गरेका थिए । साेही कारण पाैडेल आफूलाई ओलीकाे विश्वास रहेकाे ठान्थे ।

पार्क सफारी होटलमा पनि उनको दौडधुप दिनभर थियो । तर, महासचिवमा पोखरेललाई नै छान्ने निर्णय भएपछि पौडेल उपाध्यक्षमै चित्त बुझाएका छन् । नेकपा कालीनदेखि ओलीलाई नजिकबाट साथ दिएका पोखरेल महासचिव बने । 

त्यतिमात्र होइन, गोकुल बास्कोटा, महेश बस्नेत, लगायतका नेताहरूको मनपनि ओलीले दुखाएका छन् । आफ्नै कोर टिमबाट यतिबेला ओली कमजोर भएको एमालेका नेताहरूले बताएका छन् ।
 
निर्वाचनबाटै अध्यक्षमा बाजी मारेपनि ओली आफ्नै टिमबाट भने कमजोर भएको नेताहरूको विश्लेषण छ । ‘उनीसँग विष्णु पौडेल, सुवास नेम्वाङ लगायतले मन दुखाएका छन् । उनले अध्यक्षमा जित्लान् तर ओभरल टिमभित्र भने यो उनको हार हो’, एमालेका एक नेताले भने ।

  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १५:४३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया