एमालेका पुराना हस्तीसँग माओवादी नेताको प्रतिस्पर्धा सहज छ ?

पूर्व माओवादी पृष्ठभूमिका नेता रामबहादुर थापालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी १०औं महाधिवेशनमा उपाध्यक्षका लागि नाम प्रस्ताव गरेका छन् । तर, उनले एमालेका भेट्रान नेताहरुमध्ये १ जनालाई हराएपछि मात्र उपाध्यक्षमा उनको पद सुनिश्चित हुन्छ । 

५ पुसपछि प्रचण्डको साथ छाडेका थापा अहिले ओलीसँग एकदमै नजिकको सम्बन्ध बनाइरहेका छन् । पूर्व माओवादी खेमाबाट आएकामध्येलाई व्यवस्थापन गर्दै ओलीले थापालाई उपाध्यक्षमा प्रस्ताव गरेका हुन् । 

यदी घनश्याम भुसालले उम्मेदवारी नदिएको भए यतिबेला थापा सर्वसम्मत उपाध्यक्ष भइसकेका हुन्थे । तर, उनको परिबन्द इ भोटिङबाट निर्वाचनमा सहभागी भएर परिणाम कुर्नपर्नेसम्मको बनेको छ । 

एमालेका नेताहरुका अनुसार पुराना तथा प्रभावशाली नेताहरुमध्ये १ जनालाई पाखा लगाएपछि थापाको जीत सुनिश्चित हुन्छ । पूर्वमाओवादी कोटाबाट ओलीको सिफारिसमा उपाध्यक्ष बन्न लागेका थापालाई यसअघि पनि एकपटक एमालेकै नेताहरुको अन्तर्घातका कारण हार व्यहोर्नुपरेको थियो । 

एमालेभित्रकै अन्तर्विरोधको शिकार बनेका डा. खिमलाल देवकोटासँग राष्ट्रियसभामा पराजित भएका थिए । घनश्यामले आफ्नो पक्षमा माहोल बनाएर प्रतिनिधिको भोट तान्न सकेको खण्डमा थापालाई असहज परिस्थिति निर्माण हुनसक्ने विश्लेषण एकजना एमाले नेता गर्छन् । 

एमाले पृष्ठभूमिकामात्रै नेताहरु उम्मेदवार बनेका पदमा निर्विरोध भइसकेका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भइसके । तर, पूर्वमाओवादी नेताहरु उठेको उपाध्यक्ष र सचिवमा भने नेताहरुको बागी उम्मेदवारी परेको छ ।
जसलाई एमाले नेताहरुले एमाले भर्सेस ‘माओवादी’ को अर्थ लगाउनसक्ने आशंका गरेका छन् ।



सचिवमा पनि उस्तै 

एमालेल ७ जना सचिवका लागि ९ जनाको प्रतिस्पर्धा छ । जसमध्ये पूर्वमाओवादीबाट सचिवमा उम्मेदवार टोपबहादुर रायमाझी र लेखराज भट्ट छन् । 



एमाले पृष्ठभूमिका योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पदमा अर्याल छन् । 

सचिवमा टंक कार्की र भीम आचार्यले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । कोरोना संक्रमण भएर सौराहाकै आइसोलेसनमा रहेका आचार्य प्रदेश १ का पूर्वमुख्यमन्त्री मात्र नभई एमालेका पुराना हस्ती नेता हुन् ।

उता,कार्की पनि एमालेका पुराना नेता मानिन्छन् । भर्खरै माओवादी छाडेर आएका यी नेताहरुलाई एमालेका भेट्रान नेतासँगको प्रतिस्पर्धा सकसपूर्ण बन्नसक्छ ।  

  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १६:५४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया