आगलागीबाट साढे सात महिनामा एक अर्बभन्दा बढीको नोक्सानी, मुख्य कारण मानवीय त्रुटि

प्रकोपजन्य घटनाले यो वर्ष एक अर्बभन्दा बढीको आर्थिक क्षति गरेको छ । २०७८ साल सुरु भएयता देशका बिभिन्न स्थानमा भएका आगलागीका घटनाले एक अर्बभन्दा बढीको आर्थिक क्षति गरेको हो । 

‘यो वर्ष आगलागीले ठूलो क्षति गरेको छ । २०७८ वैशाख १ गते देखि मंसिर १२ गतेसम्मको अवधि (७ महिना १२ दिन)मा आगलागीका घटनाबाट देशभर १ अर्ब ८७ लाख ३२ हजार १७४ रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले जानकारी दिए । 

सो अवधिमा विपद्का घटना पहिरो, बाढी, अविरल वर्षा, चट्याङ, आगलागी, लेक लाग्नु, डढेलो, हावाहुरी र जनावर आक्रमणबाट कूल १ अर्ब ३१ करोड ४४ लाख ३९ हजार १२४ रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो । उक्त क्षतिको ७६.७४ प्रतिशत हिस्सा आगलागीले मात्र ओगटेको छ । 

गृह मन्त्रालयका अनुसार गत वर्ष अर्थात् २०७७ मा देशभर भएका २ हजार ५८७ वटा आगलागीका घटनाले १ अर्ब ८२ करोड १८ लाख २३ हजार १८६ रुपैयाँको क्षति गरेको थियो ।

२०७७ सालमा भएका आगलागीका घटनामा परी ९७ जनाको मृत्यु र ३६९ जना घाइते भएका थिए ।  

प्राधिकरणको तथ्यांकअनुसार यो वर्षको सुरुवाती ७ महिना १२ दिनको अवधिमा देशभर कूल १ हजार १०४ वटा आगलागी​का घटना रेकर्ड भएका छन् । ती घटनामा परी ३१ जनाको मृत्यु र १७९ जना घाइते भएका छन् । 



गत कात्तिकको अन्तिम साता मुगुको सदरमुकाम गमगढीमा आगलागी हुँदा २१ घर जलेर नस्ट भएका थिए । आगलागीका कारण करोडौं रुपैयाँको क्षति भएको थियो । दियो बाल्ने क्रममा उक्त आगलागी भएको थियो । 

‘धेरै आगलागीका घटना मानविय त्रुटिका कारण भएको देखिन्छ । आगलागीका सम्बन्धमा तल्लो तहसम्म सचेतना कार्यक्रम सञ्चालन गर्न जरुरी छ,’ प्रमुख कार्यकारी पोखरेलले भने ।
 
साढे दश वर्षमा २० अर्बभन्दा बढी आर्थिक क्षति 



आगलागीका घटनाबाट पछिल्लो साढे १० वर्षको अवधिमा नेपालले २० अर्बभन्दा बढीको आर्थिक क्षति बेहोरेको छ । 

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क अनुसार २०६८ वैशाख १ गतेदेखि २०७८ मंसिर ११ गतेसम्म (१० वर्ष ७ महिना १२ दिन)को अवधिमा नेपालमा आगलागीका घटनाले २० अर्ब ७९ करोड ९० लाख १५ हजार ९२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।
 
यो वर्ष बित्न अझै करिव साढे ५ महिना बाँकी छ तर आगलागीका घटनाले एक अर्ब रुपैयाँभन्दा बढीको क्षति गरिसकेको छ । 

पछिल्लो साढे १० वर्षको अवधिमा आगलागीका घटनाले सबैभन्दा कम क्षति २०६८ सालमा ८२ करोड ४३ लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको गरेको थियो । उक्त वर्ष भएका ९०५ वटा आगलागीका घटनामा परी ७१ जनाको मृत्यु र ११४ जना घाइते भएका थिए ।

२०६९ सालमा भएका १ हजार २५१ वटा आगलागी​का घटनाले १ अर्ब ३६ करोड ५१ लाख ७६ हजार ९३९ रुपैयाँ बराबरको क्षति गरेको थियो । ति घटनामा परी ६३ जनाको मृत्यु र १३६ जना घाइते भएका थिए ।

२०७० सालमा आगलागीले देशभर १ अर्ब ६६ करोड २८ लाख १६ हजार ९०० रुपैयाँ आर्थिक क्षति पु¥याएको थियो । उक्त वर्ष भएका ८७० वटा आगलागीका घटनामा परी ५९ जनाले ज्यान गुमाएका थिए ।

२०७१ सालमा आगलागीका घटनाले १ अर्ब ६८ करोड १७ लाख ४६ हजार २३० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको केन्द्रको तथ्यांकले देखाउँछ । सो वर्ष देशभर भएका ८३९ वटा आगलागीका घटनामा परी ६९ जनाको मृत्यु भएको थियो भने ६५ जना घाइते भएका थिए ।

आगलागीले सबैभन्दा कम क्षति गरेको वर्षमा २०७२ पनि पर्छ । २०७२ सालमा देशभर रेकर्ड भएका ७५९ वटा आगलागीका घटनाले ९२ करोड २२ लाख १२ हजार रुपैयाँको आर्थिक क्षति गरेको थियो । ती घटनामा परी ७३ जनाको मृत्यु र १०८ जना घाइते भएका थिए ।
 
आगलागीका घटनाले २०७३ सालमा २ अर्ब ५ करोड ६५ हजार ६०५ रुपैयाँबराबरको क्षति गरेको थियो ।  उक्त वर्ष देशभर भएका १ हजार ६८६ वटा आगलागीका घटनाले ५३ जनाको मृत्यु र २५६ जना घाइते भएका थिए ।

२०७४ सालमा आगलागीका घटनाबाट नेपालले २ अर्ब ६० करोड ६२ लाख ७३ हजार ८६० रुपैयाँ बराबरको आर्थिक क्षति बेहोरेको थियो । सो वर्ष भएका १ हजार ७५९ वटा आगलागीका घटनामा ८५ जनाले ज्यान गुमाएका थिए भने २७१ जना घाइते भएका थिए ।

आगलागीका घटनाबाट २०७५ सालमा ४ अर्ब ५ करोड ६३ लाख ८५ हजार ८३४ रुपैयाँ बराबरको आर्थिक क्षति नेपालले व्यहोरेको थियो । उक्त वर्ष आगलागीका २ हजार ७७२ वटा घटना भएका थिए । ती घटनामा ८९ जनाको मृत्यु र ३४३ जना घाइते भएका थिए ।
 
२०७६ सालमा आगलागीका घटनाले नेपालमा २ अर्ब ७९ करोड ९४ लाख १७ हजार ६२० रुपैयाँको आर्थिक क्षति गरेको केन्द्रको तथ्यांकले देखाउँछ । उक्त वर्ष देशभर रेकर्ड भएको २ हजार ४८८ वटा आगलागीका घटनामा परी ५० जनाको मृत्यु र २९४ घाइते भएका थिए ।

२०७७ सालमा आगलागीका घटनाले १ अर्ब ८२ करोड १८ लाख २३ हजार १८६ रुपैयाँबराबरको आर्थिक क्षति गरेको थियो । वर्षभरि भएका २ हजार ५८६ वटा आगलागीका घटनामा परी ९७ जनाले ज्यान गुमाएका थिए भने ३६९ जना घाइते भएका थिए ।

‘हामीकहाँ आगलागी सम्बन्धमा बुझाइमा कमजोरी छ । सचेतना अपनाउन ढिला भइसकेको छ । सामान्य सतर्कता नअपनाउँदा ठूला आगलागीका घटना भएका छन्, जसले ठूलो क्षति गरेको छ । आगलागी कसरी हुन्छ भन्ने जानकारी तल्लो तहसम्म बुझ्न र बुझाउन जरुरी छ,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले फरकधारसँग भने । 

  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार २१:२५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया