सप्ताहव्यापी रुपमा मनाइने विश्व प्रसिद्ध रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी तीव्र गतिमा चलिरहेको अवस्थामा नगरक्षेत्र भने दुर्गन्धित बनेको छ ।
त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरुप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाहपञ्चमी महोत्वस मनाउने गरिन्छ ।
त्रेतायुगमा मर्यादा पुरुषोतम श्रीराम र आर्दश नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्यक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ ।
यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत १७ गते जनकपुरधाम नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम आयोजना गरिनेछ ।
जानकी मन्दिरले मूल समारोह समिति गठन गरी विवाहपञ्चमीको तयारी तीव्र पार्दा गरिरहँदा नगरक्षेत्र भने दुर्गन्धित बनेको छ । नगरभरि जताततै फोहोरका डंगुर थुप्रिएपछि सहर नै कुरुप देखिएको हो ।
जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले भने, ‘हामी यतिबेला विश्वप्रसिद्ध विवाहपञ्चमी महामहोत्सवको तयारी तीव्र पारेका छौँ । एकातर्फ हाम्रो तयारी सुरु भएको छ भने अर्कोतर्फ नगरभित्र जताततै फोहोरका थुप्रो देख्दा मन नै खिन्न बनेको छ ।’
उनले फोहोरको थुप्रोले विवाहपञ्चमीमा नकारात्मक सन्देश जाने भएकाले उपमहानगरलाई यसतर्फ गम्भीरतापूर्वक ध्यान दिन आग्रहसमेत गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाले नगरको फोहोर व्यवस्थापनमा कुनै ध्यान केन्द्रित नगरेको भन्दै वडाध्यक्षहरुले गत कात्तिक १४ गते नगरप्रमुख लालकिशोर साहलाई कालोमोसो दल्ने चेतावनी दिँदै उनको घरअगाडि फोहोरसमेत फालेका थिए ।
उपमहानगरमा अव्यवस्थित तरिकाले थुपारिएका फोहोर नउठ्दा नगर दुर्गन्धित भएको र यसतर्फ नगरप्रमुख साहले कुनै चासो नदेखाउँदा आफूहरु बाध्य भएर उनको घर अगाडि फोहोर थुपारेको वडा नम्बर–३ का वडाध्यक्ष दीपेन्द्र साहले बताए ।
वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापनलाई मेयर साहले बेवास्ता गरे आफूहरुले चाँडै उनलाई कालोमासो दल्ने चेतावनी दिए ।
वडा नम्बर–१ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर–३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहलगायतले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयअगाडि धर्ना समेत दिएका थिए ।
नगरप्रमुख लालकिशोर साहले फोहोर व्यवस्थापनका लागि चासो नदेखाएको, आफूहरुलाई ट्याक्टरसमेत उपलब्ध नगराएको र जनताप्रति कुनै वास्ता नै नगरी भ्रष्टाचारमा मात्र केन्द्रित बनेको आरोप लगाउँदै वडाध्यक्षहरुले सोमबार काठमाडौं पुगेरसमेत विरोध प्रदर्शन गरेका छन् ।
फोहोर उठाउन माग गर्दै उनीहरुले ६ मंसिरमा पनि मेयर साहको कार्यकक्षमा ताला लगाएका थिए ।
यता, स्थानीय प्रशासन र अभियन्ताहरुले विवाहपञ्चमीलाई लक्षित गरी सरसफाइ अभियान सुरु गर्ने योजना बनाएका छन् । उनीहरुले चाँडै आफूहरु मिलेर नगरक्षेत्र सफा गर्ने बताएका छन् । विवाहपञ्चमीलाई लक्षित गरी फोहोर उठाइने बताइएको छ ।
यस वर्ष विवाहपञ्चमीमा भारतको सिमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौँ श्रद्धालु सहभागी हुने अनुमान छ । रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागि भई पूजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्ति हुने जनविश्वास रहेको छ ।
मिथिला परम्पराअनुसार सात दिनसम्म विभिन्न विधि सम्पन्न गरी वैवाहिक कार्यक्रमको आयोजना हुने सातै दिनलाई रोचक र भव्य बनाउने तयारी भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।