ओली पक्षले ‘भोट नहाल्ने नामावली’ बाँडेपछि रावल भन्छन्– यो धाँधलीको अर्को रूप हो

नेकपा (एमाले) को १० औँ महाधिवेशनमा अध्यक्षसहितका पदमा सहमति जुट्न नसकेपछि मंगलबार बिहानबाट मतदान जारी छ । 

महाधिवेशन प्रतिनिधि मतदानका लागि लामवद्ध रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले अर्का प्रतिस्पर्धी भीम रावल पक्षलाई मत नदिन भन्दै पर्चा बाँडिरहेका छन् ।

एमाले संस्थापन पक्षको यो कदम निर्वाचन आचारसंहिता विपरीत हो । एमाले अध्यक्षका उम्मेदवार रहेका रावलले पर्चा बाँड्नु निर्वाचन आचारसंहिता विपरीत रहेको प्रतिक्रिया दिएका छन् ।

‘त्यस्तो नगर्ने भनेर छलफल गरेर नै निर्वाचन आयोगले आफैँ आचारसंहिता केन्द्रीय बनाएको हो,’ उनले भने, ‘निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बालगायत पदाधिकारी सबैलाई यो कदम चाँडो रोक्नुस् भनिसकेको छु ।’

संस्थापन पक्षले बाँडिरहेको पर्चा नरोके धाँधली मानिने उनले बताए । ‘यदि त्यस्तो नगर्ने हो भने कतिपय ठाउँमा जसरी प्रतिनिधि छनोटमा धाँधली गरियो, यो पनि धाँधलीको एउटा रूप हो । यस्तो धाँधली यति ठूलो पार्टीमा हुनु, आफैं आचारसंहिता बनाउने, आफैं कार्यान्वयन नगर्नु भनेको लोकतन्त्रप्रतिको निष्ठा, लोकतन्त्र बलियो बनाउने कुरामा समस्या उत्पन्न हुन्छ,’ उनले भने ।

त्यस्तै, ट्विटरमार्फत पनि रावलले ओली पक्षले पर्चा बाँडको विषयमा आपत्ति जनाएका छन् । 



‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचारसंहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु । उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु,’ उनले भनेका छन् । 




  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार ८:२८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया