एमाले महाधिवशेन : उम्मेदवारी नदिएको पदमा पनि भीम रावलको नाम
बुटवल महाधिवेशन काण्ड दोहोरिने खतरा

नेकपा एमालेका अध्यक्षका उम्मेदवार भीमबहादुर रावलले आफूले उम्मेदवारी नदिएको पदमा आफ्नो नाम राखिएको भन्दै आपत्ति जनाएका छन् । 

दशौं राष्ट्रिय महाधिवशेनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावमा मतदान गर्न पुगेका रावलले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेदवारमा पनि देखेपछि आपत्ति जनाएका हुन् । 

पार्टीको केन्द्रीय निर्वाचन आयोगले पनि पदाधिकारीमा उठ्ने व्यक्तिले केन्द्रीय सदस्यमा उठ्ने/नउठ्ने अधिकार स्वयं व्यक्तिलाई नै दिएको भन्दै रावलले आफूले दाबी नै नगरेको पदमा उम्मेदवारी राखेकोमा असहमति जनाए । 

‘पहिला पदाधिकारीमा उठ्ने नाम सदस्यमा राख्ने भनेकाले मैले के छ भनेर सोधेको थिए । मलाई पदाधिकारी र सदस्य दुवै राख्न चाहे भने दुवै हुन्छ । होइन भने पदाधिकारी मात्र हुन्छ भनेको थियो । मैले पदाधिकारीमा लड्ने सदस्यमा नलड्ने भनेको थिए । तर अघि मतदान गर्न जाँदा सदस्यमा मेरो नाम देखेँ । अध्यक्षमा लड्ने व्यक्ति म सदस्यमा लड्ने भन्ने कुरै आउँदैन,’ उनले  भने । 

यो प्रकरण रावलले बुटवलको आठौं महाधिवेशनमा फेस गरिसकेका छन् । उनले सम्झिए, ‘बुटवल महाधिवेशनमा सदस्यताको लागि मैले उम्मेदवारी दिएको थिइन, उम्मेदवारी दिएको उपाध्यक्षमा हारे, अनि मलाई सदस्य पद जितेको भनेर सपथ लिन भनियो । मैले उम्मेदवारी हालेकै छैन मैले कसरी सपथ लिने भने । त्यसलाई विवादको विषय बनाएर भीम रावलले सपथ लिएन भनेर समस्या खडा भयो । पछि मैले बाध्य भएर सपथ लिनुपर्ने अवस्था आएको थियो ।’ 

बुटवल महाधिवेशनको अवस्था नआओस् भनेर आफूले पहिले नै निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरे पनि आफ्नो नाम केन्द्रीय सदस्यमा समेत उम्मेदवारका रूपमा राखेर बेइमानी गरिएको उनको भनाइ छ । 



‘अहिले पनि मतगणनाको परिणाम नआउँदै मैले सदस्य पदमा उम्मेदवारी दिएको पनि छैन । निर्वाचन आयोगका पदाधिकारीलाई सोध्दा पनि तपाईले जे उल्लेख गर्नुहुन्छ त्यो मात्रै हुन्छ हुनाले अध्यक्ष पद मात्रै उल्लेख गरेको स्पष्ट पार्छु,’ उनले भने, ‘तर विद्युतीय मतदानमा मेरो नाम सदस्यमा पनि राखेकोमा मलाई मतदान गरे भने त सदस्य पनि हुनसक्ने भए । त्यसकारण मेरो सदस्य उम्मेदवारी छैन, होइन ।’ 

उनले नदिएको ठाउँमा उम्मेदवार भनेर नाम राखिदिँदा प्रतिनिधि पनि झुक्किने र जितेर पनि विवाद सिर्जना गर्‍यो भनेर नकारात्मक टिप्पणी हुनसक्ने भन्दै सचेत गराए ।



 ‘अब मलाई त्यहाँ त्यतिकै सदस्य भइस् भनेर मानौ मलाई जिताइदिए भने पनि त्यो पदमा मैले सपथ लिन सक्दिनँ । मैले अहिले नै प्रष्ट पारेको छु । पछि मान्छेहरूले सपथ लिएन भीम रावलले यसो गर्‍यो भनेर नभनून् । नकारात्मक रूपमा नलैजाउन,’ उनले भने ।  

  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार ८:३९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया