एमाले महाधिवेशन : मध्यरातपछिका तीन काम

१२ मंसिरमै सकिने भनिएको एमाले महाधिवेशन दुई दिन लम्बिसक्यो । अझै मतदान प्रक्रिया पूर्णरूपमा सकिसकेको छैन । एमालेको नेतृत्वमा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको सर्वसहमति चयन हुने चाहनाले महाधिवेशन लम्बिएको हो । 

१० गते नारायणी किनारामा उद्घाटन सत्र सकेपछि एमालेका प्रतिनिधि र नेता कार्यकर्ता सौराहामा छन् । ओली सौराहा आएबेलादेखि नै होटल पार्क सफारीमा डेरा जमाएर बसेका छन् । पार्क सफारीबाट नै ओलीले महाधिवेशनको दृश्यावलोकन गरिरहेका छन् । 

नेतृत्व चयनमा सहमतिको खाका ओलीले होटलबाटै कोर्न खोजे पनि सफल भने हुन सकेनन् । अध्यक्षका प्रतिस्पर्धी डा. भीम रावललाई फकाउन उनले चितवन आएपछि निकै प्रयास गरे पनि सफल हुन नसकेका हुन् । चितवन आएपछि रावल–ओलीबीच एक्लाएक्लै भेट हुन सकेको छैन । 

रात्रीकालीन सौराहा

सौराहाको हात्तीचोक नजिकै रहेको होटल सेभेन स्टारमा ठूलो भिड छ । देशभरबाट आएका प्रतिनिधिहरू सोही होटलमा ओली र महाधिवेशनबाट नेतृत्व छान्न कुरिरहेका देखिन्छन् । तर पार्क सफारीबाट ओलीको पाइला नचल्दासम्म ती प्रतिनिधिहरूको कुर्सीमै झुमेर बस्नुबाहेक काम छैन । तर ओली रात नपरेपछि पार्क सफारीबाट महाधिवेशनस्थल जाँदैनन् । 

उनी बन्दसत्रको पहिलो दिन अर्थात् ११ मंसिरमा दिउँसो १ बजेपछि मात्र महाधिवेशनस्थल पुगे । त्यसपछि ओलीले होटल सेभेन स्टारको रुम नम्बर ३०१ मा बसेर दिनभर नेताहरूसँग छलफल गरे । साँझ पर्न लागेपछि मात्र उनले बन्दसत्र हलभित्र पुगेर उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए । 



रिपोर्टिङका लागि पुगेका पत्रकार, महाधिवेशन प्रतिनिधि, नेता/कार्यकर्ता सबै दिनभर फुर्सदिला जस्तै हुन्छन् । जब रात पर्दै जान्छ अनि मात्र सौराहाको माहोल तात्छ । 

कुन रातमा के भयो?  



नवौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी

महाधिवेशनको उद्घाटन सत्र सकेर राति सौराहा फर्किएका नेताहरू केन्द्रीय कमिटी बैठक बस्ने तयारी थियो । नवौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठक साँझ ८ बजेका लागि बोलाइएको थियो । तर, तोकिएको समयमा बैठक बस्न सकेन । जंगल क्राउन होटलमा मध्यराति मात्र भएको बैठकले एमालेको विधान संशोधन प्रस्ताव पारित गर्यो । 

सो बैठकले नै एमालेको पदाधिकारी संख्या थप गर्ने निर्णय गर्यो । बैठकले गत १५ देखि १७ असोजसम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले खारेज गरेको पोलिटब्युरोलाई ब्यूँतायो । दुई उपाध्यक्ष र दुई उपमहासचिव थप्ने निर्णय पनि भयो । केन्द्रीय कमिटीको संख्या ३०१ बनाइयो । 

सो बैठकले स्थायी कमिटी ४५ सदस्यीय, केन्द्रीय अनुसन्धान आयोग २२ सदस्यीय, केन्द्रीय लेखा आयोग २२ सदस्यीय र केन्द्रीय निर्वाचन आयोग २२ सदस्यीय बनाउने निर्णय गर्‍यो । 

सहमति भएको सन्देश दिनेगरी पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले सर्वसम्मत नेतृत्व चयन हुने बताए । जसमा रावलले विमति जनाए । 

पाहुना दिक्क हुने भाषण

भोलिपल्ट दिउँसो १ बजेबाट होटल सेभेन स्टार पुगेका ओली दिनभर रुम नम्बर ३०१ मा बसिरहे । त्यहाँ उनले नेताहरूसँग धेरै छलफलको प्रयास गरे । ओलीलाई बन्दसत्रमा जानुअघि नै आफू सर्वसम्मत अध्यक्ष बन्ने पक्का गरेर जान मन थियो । तर, उनले उपाध्यक्ष रावललाई फकाउन सकेनन् ।

बन्दसत्र सुरु भएको दिन मध्यरातसम्मै ओलीले भाषण गरिरहे । विदेशी पाहुना पनि उनको भाषण लामो भएपछि बीचमै उठेर हिँडे । ओलीले भाषण सकेर औपचारिक रूपमा बन्दसत्र सुरु गर्दै ओलीले भोलिपल्ट अर्थात् १२ मंसिरमा हलभित्र आउन प्रतिनिधिहरूलाई निर्देशन दिए । 

मध्यरातपछि नै नेतृत्व सूची

आइतबार दिनभर ओली पार्क सफारीमै बसे । बिहानै हलमा प्रतिनिधिलाई बोलाएका उनी पूरै दिन होटलमा बसेका हुन् । त्यहाँ सर्वसम्मतिकाे धेरै प्रयास भयो । ओली निकट नेताहरू विभिन्न पदको लविङमा लागे । दुईपटक विष्णु पौडेलले प्रिन्ट गरेको लिस्टमा आफ्नोबाहेक वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षसहितका पद खाली राखेर उनी सूची बोकेर राति १० बजेपछि मात्र होटलतिर लागे । 

ओली पुगेको लामाे समयपछि सुरु भएको बन्दसत्रमा उनले धमाधम केन्द्रीय सदस्यको नाम  पढेर सुनाउन थाले । पौडेलले प्रिन्ट गरेर दिएको सूचीमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षसहितको पद खाली थियो । मञ्चमै पुगेर ओलीले नाम लेख्दै/पढ्दै गरे । र, होटलबाट निस्किए । उनले उपाध्यक्ष रावललाई मात्र नभएर आफ्नै समूहका नेताहरूको व्यवस्थापन गर्न सकेका थिएनन् । सँगसँगै पूर्वमाओवादीदेखि एमालेमा असन्तुष्ट १० भाइलाई समेत व्यवस्थापन ​ गर्नुपर्ने चुनौती ओलीमा थियो । 
त्यही चुनौती उनले मञ्चमै गएर पत्र पल्टाउदै गरे । 

ओलीले नाम पढेर सुनाइरहँदा असन्तुष्टहरू फ्लोरबाट चिच्याइरहेका थिए । 

रात सकिनै लाग्दा मतदान

निर्वाचन आयोगका अनुसार सोमबार साँझ ९ बजे नै मतदान कार्यक्रम सुरु गरिसक्ने बताइएको थियो । ओली दिनभर पार्क सफारीमै थिए । आफू होटलमा बसेर कार्यकर्तालाई मञ्चमा बिचल्ली बनाएको भन्दै कार्यकर्ताहरूको चर्को आलोचना ओलीप्रति सोमबार देखिन्थ्यो । 

दिनभर ओलीको चर्को पर्खाइमा रहेका नेता कार्यकर्ताहरूले भनेको समयमा मतदान गर्न पाएनन् । अबेरसम्म पनि मतदान प्रक्रिया सुरु नभएपछि प्रतिनिधिहरू आफू बसेको होटलमा विस्तारै फर्किएका थिए । 

मध्यरातपछि बिहान ४ बजे मात्र ओली होटलबाट महाधिवेशनस्थल पुगेर मतदान सुरु गरे ।  

  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार ११:१२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया