कोरोनापछि लामो समय फिल्म उद्योगमा सन्नाटा छायो । चलचित्र विकास बोर्डले नेपाली फिल्म निर्माताहरूलाई आफ्ना चलचित्र प्रदर्शन गर्न विभिन्न स्किमहरु घोषणा गर्यो । तर कुनै पनि निर्माता आफ्ना चलचित्र हलमा लगाउन तयार भएनन् । उनीहरुले ठूलो लगानीमा निर्माण भएका चलचित्र प्रदर्शन गरेर जोखिम उठाउँन चाहेनन् ।
दसैं, तिहारमा हल खाली भए । तिहारको छेको पारेर बलिउड चलचित्र ‘सूर्यवंशी’हलमा लाग्यो । दर्शक हलमा ओहिरिए । सबैले फिल्मको तारिफ गरे । माहोल बनाउन बलिउड चलचित्र कुरेर बसे निर्माताहरु । ‘सूर्यबंशी’पछि नेपाली निर्माताहरुले पनि धमाधम आफ्ना चलचित्र प्रदर्शनको मिति घोषणा गरे ।
यहि क्रममा निर्माता अर्जुन कुमारले पुस १७ मा आफ्नो चलचित्र ‘चपली हाइट ३’ प्रदर्शन गर्ने घोषणा गरे । यहि मितिमा साउथ फिल्म ‘पुष्पा’ पनि रिलिज हुने भयो । हिजो माहोल बनाएको भनेर बलिउड फिल्मको प्रशंसा गरिरहेका नेपाली निर्माता आक्रोशित भए । आफूले लिएको प्रदर्शन मितिमा बलिउड सिनेमा पनि लाग्ने भएपछि अर्जुनकुमार निक्कै आक्रोशित देखिएका छन् । उनले आक्रोशित हुँदै फेसबुकबाटै नेपाली फिल्मलाई नहेप्न चेतावनी दिएका छन् ।
अर्जुन कुमारले सबै नेपाली फिल्म निर्माता एक भएर भारतीय फिल्मका विरुद्धमा लाग्नु पर्ने समेत बताएका छन् । नेपाली फिल्म उद्योगलाई चलायमान बनाउन आफ्नो फिल्म प्रदर्शन गर्ने तयारीमा रहेका बेला विदेशी फिल्म ल्याएर आफू विरुद्ध चलखेल गरेको आरोप उनले लगाएका छन् ।
उद्योग चलायमान नहुँदासम्म दर्शक नआउलान् भन्ने पिर । उद्योग थोरै चलायमान भएपछि विदेशी फिल्मको पिर । कोरोनाकालपछि नेपाली निर्माताका पिरैपिर सार्वजनिक भैरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।