चियाको मूल्य निर्धारण नहुँदा समस्या

इलाम- इलाममा चिया खेती सुरु भएको २ सय वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरूपता नभएको र अर्गानिक चियाको माग बढे पनि त्यसका लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको छ । 

सरकारले चियाको बजारीकरणको राम्रो व्यवस्था नगरिदिँदा चिया निकासी हुन नसकेको चिया उद्यमीको गुनासो छ । राम्रो उत्पादन भएको मौसममा भाउ नआउने र मूल्य निर्धारणमा समेत एकरूपता नहुनाले बढी समस्या भएको ग्रिन हिल अर्थोडक्स चिया प्रशोधन उद्योग साखेजुङका टंक दाहाल बताउँछन् । 

‘बजार हेरेर मात्र हाम्रो उत्पादनको मूल्य निर्धारण गरिन्छ । त्यसो भएपछि कसरी चियाको उचित मूल्य पाइन्छ,’ दाहालले भने, ‘यति मात्र होइन, उद्योग सञ्चालन गरेको समयमा बत्ती पनि हुँदैन । 

सरकारले चियाको हरियो पत्तीको मूल्य तोकिदिन सकेको छैन । त्यही कारण मूल्यमा एकरुपता नभएकाले चिया उद्योगैपिच्छे फरकफरक मूल्यमा चिया बिक्री हुने गरेको छ । भारतले छोटो समयमा नै हरियो पत्तीको मूल्यमा परिवर्तन गरिदिनाले आफ्नो उत्पादन कतिमा बिक्री हुन्छ भन्ने पनि अन्योल देखिएको छ । सरकारसमक्ष पटकपटक आग्रह गर्दासमेत चियाको मूल्य निर्धारण हुन नसक्दा कम मूल्यमा बेच्नुपर्ने गरेको सहकारी संस्थाका विष्णुप्रसाद दुलालले बताए । 

यस्तै, पछिल्लो समय श्रमिकलाई ऐनअनुसार चिया उद्योगले ज्याला नदिएका कारण समस्या आउन थालेको छ । केही समयअघि मात्र सरकारले श्रम ऐन संशोधन गरेर श्रमिकको पारिश्रमिकसमेत बढाएको छ । तर उद्योगले दिने पारिश्रमिकको भने कुनै संघसंस्थाले अनुगमन नगर्दा धेरैजसो श्रमिक ज्यालाबाट ठगिने गरेका छन् । 

विकल्प नभएपछि काममा जानुपर्ने तर कामभन्दा पनि मानिस हेरेर ज्याला दिने कारण अधिकांश श्रमिकले उचित पारिश्रमिकसमेत नपाउने गरेको उज्यालो कृषि सहकारी संस्थाका विष्णुप्रसाद दुलालको भनाइ छ । 

इलाममा करिब चार करोड पाँच लाख किलो चिया उत्पादन हुने गरेको छ । नेपालका ७७ जिल्लामध्ये १४ जिल्लामा व्यावसायिक चियाखेती हुने गरेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७५ साेमबार १२:२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया