प्रदेश सभापतिका उम्मेदवारको टुंगो लगाउन पौडेल पक्षले दियो यी नेताहरूलाई जिम्मेवारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबार प्रदेश अधिवेशन सुरु हुँदैछ । प्रदेश सभापतिका लागि विभिन्न नेताले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । 

अहिलेसम्म बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सभापतिका आकांक्षीहरूले उम्मेदवारी घोषणा गरेका छन् । प्रदेश १, प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कसैले पनि पनि उम्मेदवारी घोषणा गरेका छैनन् ।

संस्थापन शेरबहादुर देउवा समूह र इतर पक्ष दुवै अहिले कसलाई सभापति, महामन्त्री बनाउने भन्ने आन्तरिक गृहकार्यमा जुटेका छन् । संस्थापन इतर (पौडेल–कोइराला) समूहले प्रदेश समितिका उम्मेदवार टुंग्याउन सम्बन्धित प्रदेशका केन्द्रीय नेताहरूलाई जिम्मा दिएको छ ।

महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बसेको बैठकले सातवटै प्रदेशमा प्रदेश अधिवेशनका उम्मेदवार तोक्न केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको हो । बैठकले प्रदेश अधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवारी दिने निर्णयसमेत गरेको छ । 

जसअनुसार प्रदेश १ मा बलबहादुर केसी, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, सरिता प्रसाईं र गुरुराज घिमिरे, प्रदेश २ मा सीतादेवी यादव, रामकृष्ण यादव र किरण यादव, बागमतीमा प्रकाशमान सिंह, डा. रामशरण महत र अर्जुननरसिंह केसी, गण्डकीमा रामचन्द्र पौडेल, डा. शशांक कोइराला, दिलबहादुर घर्ती, कमला पन्त र जीवन परियार, लुम्बिनीमा दीपक गिरी र चन्द्र भण्डारी, कर्णालीमा हृदयराम थानी र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडू र बद्री पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

जिम्मेवारी पाएका नेताहरूले सम्बन्धित प्रदेशका प्रत्यासी र नेताहरूसँग छलफल र परामर्श गरेर आवश्यक निर्णय लिनेछ ।



बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, दीपक गिरी, गगन थापालगायत सहभागी थिए । 



  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १३:४०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया