सत्तारूढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)जस्तै राष्ट्रवादी भएको बताएका छन् ।
बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै अध्यक्ष दाहालले आफ्नो राष्ट्रवाद र राप्रपाको राष्ट्रवाद उस्तै भएको टिप्पणी गरेका हुन् ।
उनले राप्रपा र आफ्नो पार्टीको मत भने नमिल्ने स्पष्ट पारे । तर पनि राप्रपाले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न सघाएर भिन्न परिस्थितिमा भिन्न खालको देशभक्ति देखाएको अध्यक्ष दाहालको तर्क थियो ।
अध्यक्ष दाहालले राप्रपाले इतिहासतिर फर्केर राष्ट्रवादको कुरा उठाउने गरेको उल्लेख गर्दै आफूहरूले नेपाली जनतालाई राष्ट्रवादको मुख्य आधार बनाएर अघि बढेको दावी समेत गरे ।
उनले भने, ‘हाम्रो मत त मिल्दैन । म गणतन्त्रवादी, धर्म निरपेक्षतावादी । तर म पनि तपाईंहरूजस्तै राष्ट्रवादी । राष्ट्रवादको व्याख्या गर्दा दुईटा आधारभूत कुरा छन् । एउटा राष्ट्रवाद भन्ने बित्तिकै हिजोको इतिहासमा भएका सकारात्मक र गौरवपूर्ण कुराहरूलाई आधार बनाएर अहिले पनि इतिहासतिरै फर्कने राष्ट्रवाद । अर्काे नेपालको सम्पूर्ण जनतालाई राष्ट्रवादको आधार मान्दै जनतातिरै फर्कन खोज्ने राष्ट्रवाद । मैले यो देशका सबै मजदुर, किसान, सबै उत्पीडित मधेसी, आदिवासी, जनजाति, दलित, महिला, थारुलगायत सबैको पहिचान र अधिकारको लडाइँ लडेकै हो ।’
‘म राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्ताहरूलाई यस अर्थमा पनि धन्यवाद दिन चाहन्छु-तपाईंहरू आफ्नो राजनीतिक विचार र मतमा भिन्न हुँदाहुँदै पनि देशमा राजनीतिक अस्थिरता र अराजकता पैदा नहोस् भन्नका निम्ति, देशले गति लिइराखोस् भन्नका निम्ति संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन तपाईंहरूले गरेको योगदानलाई मैले भिन्न परिस्थितिमा गरेको देशभक्ति ठान्दछु’, उनले थपे ।
अध्यक्ष दाहालले राजनीतिक विचारधारा फरक भएर पनि राप्रपाका नेता, कार्यकर्ताहरूले मुलुकमा राजनीतिक अस्थिरता हुन नदिनका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा साथ दिएको विश्वास समेत व्यक्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।